यस्ताे रह्याे पदक विजेताहरुकाे नगर परिक्रमा ‍(फाेटाे फिचर)

 मंसिर २७, २०७६ शुक्रबार १७:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भर्खरै सम्पन्न १३ औंँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ ।

पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो । नगर परिक्रमा त्रिपुरेश्वरमा रहेकाे राखेप हाताबाट सुरु भएको थियो ।

पैदल नगर परिक्रमाकाे अगाडि भागमा नेपाली सेनाको ब्यान्ड थियाे भने त्यसलगत्तै राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेफ दे मिसन पिताम्बर तिम्सिना, संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीहरु हुनुहुन्थ्याे । 

टोली न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म पैदल गएको थियो ।

भृकुटीमण्डपबाट सम्पूर्ण टोलीले भ्यानमा नगर परिक्रमा गरेका थिए । भृकुटीमण्डपबाट टोली सिंंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली हुँदै त्रिपुेश्वरकाे राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार कोटेश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।

मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य पदक जित्दै दोश्रो भएको थियो । याे सागमा नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा पनि नेपाल दोश्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ काँस्य जितेको थियो ।

 

 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया