टमाटर निर्यात ठप्पः किसानले गरे टमाटर सडकमा घोप्ट्याएर सांकेतिक विरोध

 साउन ३, २०७५ बिहिबार २०:५७:४३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – करीब एक महिना अघिदेखि टमाटरको निर्यात ठप्प भएपछि पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकाका किसानले आफुले उत्पादन गरेको पाकेको टमाटर सडकमा घोप्ट्याएर सांकेतिक बिरोध गरेका छन् ।

व्यापारीले नउठाइदिएपछि पाकेको टमाटर बारीमै कुहिन थालेकाले सयाै‌ं किसानले बिहीबार हिलिहाङ गाउँपालिका–१, भालुभोकमा पाकेको टमाटर सडकमा घोप्ट्याएर सांकेतिक विरोध जनाएका हुन । 

यहाँ उत्पादित टमाटर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात हुने गरेको थियो ।

तर भारत निकासी हुने कृषि उपजको सूचीमा नपरेको भन्दै भारतले निर्यात रोकेपछि कृषकको लगानी र परिश्रम बालुवामा पानी जस्तै अवस्थामा पुगेको छ ।

टमाटर निकासीमा रोक लागेसँगै व्यापारीले उठाइदिने आशमा किसानले सडक किनारामा निकालेको टमाटरले सडकलाई दुर्गन्धित बनाइरहेको छ ।

समस्या समाधानका लागि पहल गर्न माग गर्दै किसानहरुको समूह प्रदेश–१ को सरकार समक्ष पुगे पनि समस्या सुल्झिएको छैन ।

किसानहरुले तत्काल टमाटर निकासी नभए मेची राजमार्गमा यातायात नै ठप्प पार्ने सम्मको आन्दोलन गर्ने जनाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले याङवरक र हिलिहाङ गाउँपालिकालाई टमाटरको पकेट क्षेत्र घोषणा गरी टमाटर खेतीका लागि किसानलाई प्रोत्साहन समेत दिंदै आएको थियो । 

कार्यालयको रेकर्डमा पाँचथरबाट वार्षिक करीब साँढे तीन करोडको टमाटर निर्यात हुने गरेको छ । त्यसमध्ये अधिकांश टमाटर याङवरक र हिलिहाङमा उत्पादन हुने कार्यालयले जनाएको छ ।

किसानहरुले चुनावको बेला अनेकौं प्रलोभन देखाउँदै भोट मागे पनि अहिले किसानको समस्यामा जनप्रतिनिधिहरु गम्भीर नभएको आरोप समेत लगाएका छन् । 

लगानी र परिश्रम डुबेको तर आफ्नो कुरा सुनिदिने कोही नभएको हिलिहाङ गाउँपालिका–१, का बहादुर अधिकारीले दुखेसो पोख्नुभयो ।

बारीमा कुहिएर सकिंदै गएको आफ्नो कमाइलाई टुलुटुलु हरेर बस्न बाहेक कुनै विकल्प नभएको किसान आइतरानी योङहाङको गुनासो छ ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ रिमालले किसानको समस्यालाई आफूले नजिकबाट महसुस गरिरहेको र समाधानको लागि पहल पनि गरिरहेको बताउँनुभयो । 

किसानको गुनासो आएपछि निकासीका लागि सम्बन्धित ठाउँमा आफूले पत्र लेखेको तर अहिलेसम्म त्यसको जवाफ नआएको अध्यक्ष घिमिरेको भनाई छ ।

यस क्षेत्रका सबै किसानले मकै र धान फल्ने खेत र बारीमा समेत टमाटर लगाएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया