पोखरा प्रिमियर लिगको ट्रफी सार्वजनिक, उद्घाटन खेल सर्‍यो

 मंसिर २७, २०७६ शुक्रबार १८:३:५४ | सुमन गुरुङ
unn.prixa.net

कास्की - दोश्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको पीपीएलको ट्रफी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्नुभएको हो ।

ट्रफी सार्वजनिकपछि बोल्दै गुरुङले यस्ता व्यावसायिक खेलले खेलाडीको विकासमा धेरै सहयोग पुग्ने बताउनुभयो । खेल र खेलाडी देशको गहना भएको बताउदै उहाँले व्यावसायिक खेलले खेलाडीले नाम र दाम दुवै कमाउन सक्ने बताउनुभयो । यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा ठूलो टेवा पुग्ने बताउँदै उहाँले प्रतियोगिता सम्पन्न गर्न आफ्नो तर्फबाट पनि साथ सहयोग रहने बताउनुभयो ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका म्यानेजर छुम्बी लामाले ट्रफीमा पोखरालाई प्रतिनिधित्व गर्ने हिमाल, ताल मन्दिरलाई समटेर बनाएको बताउनुभयो । ‘ट्रफी बनाउनै ६ महिना बढी लाग्यो, पहिलेको भन्दा केही फरक अवश्य छ’, उहाँले भन्नुभयो ।

झरीका कारण सर्‍यो उद्घाटन

पोखरामा शुक्रबारदेखि परको झरीका कारण पोखरा प्रिमियर लिगको उद्घाटन खेल सरेको छ । योभन्दा अगाडि शनिबार हुने भनिएको उद्घाटन अब आइतबार हुने म्यानेजर लामाले जानकारी दिनुभयो ।

खेल तालिकामा भने फेरबदल नहुने उहाँको भनाइ छ । उद्घाटनको खेल मात्र आइतबार हुने उहाँले बताउनुभयो । ‘उद्घाटन खेल बाहेक सबै खेल उही समयमा हुने छ’, उहाँले भन्नुभयो, ‘बीचमा एक दिन ग्याप थियो, अब त्यो ग्याप नगरी खेल खेलाइनेछ ।’

यस संस्करणको पीपीएलको विजेता टोलीले २७ लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगितामा दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउने भएको छ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ् द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टीभीएस मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख रुपैयाँ र इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैयाँका साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ् द म्याच हुने खेलाडीलाई १० हजार दिइने लामाले बताउनुभयो । यो पुरस्कार नेपाली फ्रेन्चाइज क्रिकेटको इतिहासमा धेरै रहेको उहाँले दाबी गर्नुभयो  ।

उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाण्डौ गोल्डेन्ससँग खेल्ने छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया