डिस्काे गएका चार फुटबलर निलम्बित, ५० हजार जरिबाना

 मंसिर २७, २०७६ शुक्रबार २०:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले चार जना फुटबलरलाई निलम्बनका साथै ५० हजार जरिबाना लगाएको छ ।

फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानुभन्दा अघिल्लो राति डिस्कोमा गएका भन्दै अनुशासन समितिले चारै जनालाई निलम्बन गरेको हो । जसका कारण उनीहरुले आउँदाे ए डिभिजन लिग खेल्न नपाउने भएका छन ।

यसका साथै समितिले चारै जनालाई ५० हजार रुपैयाँ जरिबाना लगाएको छ । क्याम्पबाट झुटो बोलेर विमल घर्ती मगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङले नाइट क्लबमा रात बिताएका थिए । प्रशिक्षक बालगोपाल महर्जनलाई भुटान जानका लागि पैसा साट्न र सामान लिन जाने भन्दै टिम बसेको होटेलबाट उनीहरु बाहिरिएका थिए । तर राति चारै जना खेलाडीले नाइट क्लबमा बिताएको खबर प्रशिक्षक योहान कालिनले थाहा पाएपछि उनीहरुलाई तत्काल टिमबाट हटाइएको थियो ।

अब अनुशासन समितिले १६ नोभेम्बर देखि गरेको अनुसन्धानपछि उनीहरुलाई थप कारबाही गरेको हो । जसमा विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाइएको छ भने अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्धमा पारेको छ । जुन १३ डिसेम्बर अर्थात आजबाट लागु हुनेछ ।

चारै जना खेलाडीलाई अनुशासन समितिले बयान लिनुका साथै उनीहरुको कागजपत्र पनि हेरेको थियो । त्यसैका आधारमा उनीहरुमाथि कारबाही गरिएकाे हो ।

उनीहरु कारबाही अवधिभर कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन पाउने छैनन् । साथै उनीहरुले शनिबारबाट सुरु हुन लागेको लिग पनि गुमाउने भएका छन ।

अञ्जन यो सिजन मनाङबाट खेल्ने तयारीमा थिए । यस्तै दिनेश र सन्तोष विभागीय टिमबाट र विमलले गत सिजनदेखि च्यासलबाट खेलेका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया