नेपाल साहित्य महाेत्सव : लेक रहे पो रहला लेकसाइड !

 मंसिर २८, २०७६ शनिबार १०:५९:६ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखराको फेवा किनारमा शुक्रबारदेखि आईएमई नेपाल सहित्य महोत्सव सुरु भएको छ । फेवा किनारमा भएको कार्यक्रममा तालको चर्चामा के कमी आउथ्यो र ? शुक्रबार बिहानै देखि परेको झरीको बाबजुद सुरु भएको महोत्सवमा पहिलो सेसन नै लेक र लेकसाइडलाई समेटेर सुरु भएको थियो ।

आयोजकले ताललाई पृष्ठभूमिमा राखेर चर्चा गर्नेगरी तयारी गरेका थिए तर प्रतिकूल मौसमका कारण फेवाताललाई ‘फ्रन्टलाइन’ मै राखेर सुरु भयो पहिलो सेसन ‘लेक रहे पो रहला लेकसाइड’ ।

यस सेसनका वक्ताहरु हुनुहुन्थ्यो फेवातालसम्बन्धी थेसिस गर्नुभएका प्रा.डा. देवेन्द्रबहादुर लामिछाने, फेवाताल अतिक्रमण छानबिन समितिका तत्कालीन संयोजक विश्वप्रकाश लामिछाने, पूर्वाधार विज्ञ किशोर थापा र व्यवसायी गणेशबहादुर भट्टराई । उहाँहरुलाई पत्रकार दिपेन्द्र श्रेष्ठले सहजीकरण गरिरहनुभएको थियो ।

महोत्सवको यो सेसनको छलफलमा वक्ताहरुले प्राकृतिक र मानवीय अतिक्रमणका कारण तालको आयतन घटेको ठहर गरेका छन् । छलफलमा शिक्षाविद देबेन्द्रबहादुर लामिछानेले अतिक्रमणको श्रृखला नरोकिए अबको २ सय ८७ बर्षमा फेवाताल पुरिने बताउनुभयो । अहिले तालको क्षेत्रफल दलदल भूभागलाई समेत हेर्दा ४.४३ वर्ग किलोमिटर र २३.२३ मिटर गहिराइ रहेको लामिछानेले बताउनुभयो ।

जाइका लगायतको अध्ययनले १०० वर्षमै यहाँ फेवातल थियो भन्ने आवस्था आउन सक्ने देखाएको फेवाताल अतिक्रमण छानबिन समिति संयोजक विश्वप्रकाश लामिछानले बताउनुभयो ।

आफू फेवाताल अतिक्रमण छानबिन समिति संयोजक भएर काम गर्दा झण्डै ९ सय ५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस गरेको सम्झदै १० वर्गकिलोमिटर रहेको फेवाताल ४.२० वर्ग किलोमिटरमा खुम्चिएको प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो । यो कार्यान्वयनमा सरकारले राम्रोसँग काम नगरेको उहाँले बताउनुभयो ।

सर्वोच्चले झण्डै ८ वर्ष लगाएर फैसला सुनाउँदा आफ्नो नाममा दर्ता गरेको जग्गा फिर्ता गर्न भनेको छ । प्रतिवेदनमा १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएकाे छ ।

यही सेसनमा पीडितहरुले सरकारले जग्गामात्र अतिक्रमण गर्ने तर पीडितहरुको क्षतिपूर्तिको बारेमा राज्य मौन रहेको आरोप समेत लगाएका थिए ।

पूर्वाधार विज्ञ किशोर थापाले तालसम्म बगेर आइपुग्ने गेगर (साना साना ढुंगाका टुक्राहरु) रोकथामका निम्ति विभिन्न ठाउँमा चेक ड्याम बनाउनुपर्नेमा जोड दिनुभयो । सर्वोच्च अदालतले दिएको आदेश पालना र मानवीय गतिविधि पनि सच्याउने जस्ता विषय लेक रहे पो रहला लेकसाइड सेसनमा उठेका थिए । 

अन्तिम अपडेट: चैत ६, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया