ग्रेटा थनवर्ग : ट्रम्प र पुटिन जस्ता शीर्ष नेतासँग टक्कर लिने किशोरी !

 मंसिर २८, २०७६ शनिबार २०:१:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्र संघमा जलवायु परिवर्तनको मुद्दामा आफ्नो कुराले विश्वभरको नेताहरुको ध्यान आकर्षित गर्ने १६ वर्षीया स्वीस छात्रा ग्रेटा थनवर्गलाई टाइम म्यागेजिनले सन् २०१९ को ‘पर्सन अफ् द इयर’ (वर्षको व्यक्ति) घोषणा गरेको छ । 

ग्रेटा यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । सन् १९२७ देखि टाइम म्यागेजिनले यो पुरस्कार दिँदै आएको छ । 

यो पुरस्कार घोषणा हुनुभन्दा पहिले स्पेनको मड्रिड शहरमा चलिरहेको संयुक्त राष्ट्र संघको २५औँ जलवायु परिवर्तन समिटमा ग्रेटाले विश्वका नेताहरुको बारेमा भनेकी थिइन्, ‘ठूलो ठूलो कुरा गरेर भ्रम देखाउन छोड्नुस् र साँच्चै काम गरेर देखाउनुस् ।’

आउँदो दशकले पृथ्वीको भविष्य के हुन्छ भनेर तय गर्ने ग्रेटाले भनेकी थिइन् । 

गएको वर्ष जलवायु परिवर्तनको मुद्दालाई लिएर मानिसहरुका चेतना जगाउन ग्रेटाले स्वीडेनको संसद बाहिर विरोध प्रदर्शन गर्न प्रत्येक शुक्रबार आफ्नो स्कुल पनि छोडेकी थिइन् । 

यसलाई देखेर धेरै देशमा #FridaysForFuture को एक अभियान सुरु भएको थियो । ग्रेटा जस्तै विश्वका हजारौँ स्कुले विद्यार्थी र युवा यो अभियानमा आवाज उठाइरहेका छन् । 

यही वर्षको सुरुवातमा सन् २००३ जनवरी ३ मा जन्मिएकी ग्रेटालाई नोबल शान्ति पुरस्कारको लागि पनि मनोनित गरिएको थियो । 

ग्रेटाको प्रतिक्रिया 

‘पर्सन अफ् द इयर’ चुनिएपछि ग्रेटाले ट्वीटरमा लेखिन्, ‘आहा! यो अविश्वसनीय हो । जो मानिसहरुले जलवायु परिवर्तन र #FridaysForFuture अभियानमा मेरो साथ दिए, म यो सम्मान ती सबैसँग साझा गर्न चाहन्छु ।’

यद्यपि यो खबरलाई सबैले स्वीकारेका छैनन् । मुख्यतः प्रमुख रुढिवादी समूहमा यसको आलोचना भइरहेको छ । उनीहरुले ग्रेटालाई सञ्चारमाध्यमले चाहिनेभन्दा बढी ठाउँ दिएको बताइरहेका छन् । 

मड्रिडमा ग्रेटाको भाषणअघि ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले उनलाई एक ‘नराम्रो व्यवहार भएकी किशोरी’ भनेका थिए किनकि ग्रेटाले अमेजन जंगलमा लागेको आगोको कारण ब्राजिलका स्वदेशी प्रजातिको मृत्युलाई लिएर चिन्ता जनाएकी थिइन् ।

बोलसोनारोले पनि सञ्चारमाध्यमले ग्रेटालाई धेरै महत्व दिइरहेको बताएका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ग्रेटाको कुरामा आपत्ति जनाएका थिए र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए, ‘ऊ एउटा राम्री किशोरी तर उसँग सूचनाको अभाव छ ।’

तर टाइम म्यागेजिनका फैसलालाई सही मान्दै म्यागेजिनका प्रधान सम्पादक एडवर्ड फेलसेन्थलले भने, ‘ग्रेटा थनबर्गले वर्तमान समयमा जलवायु परिवर्तनलाई लिएर सबैभन्दा प्रबल आवाज उठाइरहेकी छिन् र यो मुद्दा अहिलेको समयमा सबैभन्दा महत्वपूर्ण छ ।’

ग्रेटाको पारिवरिक पृष्ठभूमि 

ग्रेटा थनवर्ग तीन बहिनीमध्ये सबैभन्दा जेठी हुन् । उनको जन्म स्वीडेनको स्टकहोम शहरमा भएको थियो । 

उनकी आमा मेलेना एर्नमन एक ओपेरा गायिका हुन् र उनका पिता एस. थनबर्ग एक अभिनेता हुन् । 

ग्रेटाका हजुरबुबा एस. अरहनियस एक वैज्ञानिक थिए जसले हरितगृह प्रभावबारे एक नमुना दिएका थिए र उनलाई सन् १९०३ मा केमेस्ट्रीतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । 

ग्रेटा भन्छिन्, ‘जबसम्म मैले आफ्ना आमाबुवासँग जलवायु परिवर्तनको मुद्दामा कुरा गर्न सुरु गरेको थिइँन, तबसम्म उनीहरु पनि यसबारे सामान्य मानिसहरु जस्तै अनिभिज्ञ थिए ।’

आफ्नै अनुरोधमा आमाबुवा पूर्ण शाकाहारी बन्न तयार भएको ग्रेटा बताउँछिन् । 

ग्रेटा ‘एस्परजर सिन्ड्रोम’ बाट ग्रसित छिन्, जसले मानिसको कुरा गर्ने क्षमतामा प्रभावित गर्छ । आफूले लामो समयसम्म खिन्नता, वियोग र चिन्ताको सामना गरेको ग्रेटा बताउँछिन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया