‘बिहे गरेर ल्याएको भोलिपल्ट श्रीमतीको हत्या, ब्ल्याङ्केटले बेरेर सेप्टिक ट्यांकीमा शव लुकाए’

 मंसिर २८, २०७६ शनिबार १९:३५:२१ | सिताराम अधिकारी

धादिङ – गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए ।

मंसिर १० गते दिउँसो अनिसालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा देखेनन् । उनीहरुले सोधे, ‘खै त बुहारी ?’ 

अर्जुनले जवाफ दिए, ‘माइती गएकी छे ।’

तर धेरै दिनसम्म पनि माइत गएकी भनेर ढाँटेपछि छिमेकीले शंका गर्न थाले । त्यसमाथि केही गन्हाएको पनि थाहा पाएपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’

अर्जुन र उनका केही आफन्तले गोरु मरेको हो भनेर छिमेकीलाई बताए । तर वरिपरि कसैको गाईगोरु पनि नमरेको र अनिसा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या भएको छिमेकीले आशंका गरे ।

अर्जुनले बिहे गरेर ल्याएको भोेलिपल्ट राति अनिसाको घाँटी थिचेर हत्या गरेका रहेछन् । त्यसपछि उनले घटनालाई लुकाउन अनिसाको शव सेप्टिक ट्यांकीमा फालेर बेपत्ता बनाए ।

छिमेकीले घटनाबारे केही जानकारी पाएपछि प्रहरीलाई खबर गरे । गाउँलेले नै थाहा पाएपछि घटना बाहिर आएको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष देवहादुर पुलामीले बताउनुभयो ।

गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिसाका श्रीमान अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले जानाकारी दिनुभयो ।

शौचालयको सेप्टिक ट्यांकीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेर अनिसाको लास हालिएको अवस्थामा भेटिएको थियो । सेप्टिक ट्यांकीको ढकनी ठूलो भएकोले एक जनाले मात्र खोल्न सक्ने अवस्थामा नरहेकोले उनिहरु मिलेर हत्या गरेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

शौचालयमा दिसापिसाब नगरेका कारण अभियुक्तले दिनदिनै धेरै पानी हालेर राख्ने गरेको गाउँलेले बताएका छन् । अहिले अनिसाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया