२२ वर्षमा नभएका काम सरकारले २ वर्षमै गर्‍याे : मन्त्री बास्कोटा

 मंसिर २९, २०७६ आइतबार ११:३२:५३ | रासस
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताउनु भएको छ ।   

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताउनु भयो ।   

मन्त्री बास्कोटाले भन्नुभयो, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उहाँले पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । 

पर्यटनको विषेशताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्नेमा मन्त्री बास्कोटाले जोड दिनुभयो । 

हरेक क्षेत्रमा स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटकलाई प्रदर्शन गर्ने व्यवस्थापन गर्नुपर्छ । उहाँले भन्नुभयो, ‘हामी हिमाल र ऐतिहासिक धरोहरले विश्वमा परिचित त छौँ तर हामी हाम्रा सम्पूर्ण पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्नेतर्फ लाग्नेछौँ ।’ 

मन्त्री बास्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ ट्रेलको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको बताउनु भयो ।   

मन्त्री बास्कोटाले नमोबुद्ध नगरपालिकाको दुई र पाँचखाल नगरपालिकाको तीन वटा वडामा रहेको १२ हजार रोपनी जमिनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३ सय ९५ किलोमिटर पक्की हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सुनकोशी नदीबाट ५ सय ३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पुर्‍याउँछौँ ।’ वर्तमान सरकारको पहिलो आधार वर्ष, दोस्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने उहाँले बताउनु भयो ।  

मन्त्री बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरेको दाबी गर्नुभयो । ‘अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ’, उहाँले भन्नुभयो । 

आउँदो दुई वर्षमा वृद्धभत्ता रु पाँच हजार पुर्‍याइने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तर्राष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको अवस्था सिर्जना भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री बास्कोटाले म्याराथनमा प्रथम शिवबहादुर रायमाझी, द्वितीय हिमाल कार्की र तृतीय कस राईलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

एक्काइस किलोमिटर लामो दुरीको म्याथनमा २७ जना सहभागी थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया