केन्द्रीय समिति बैठकअघि कांग्रेस संस्थापन पक्ष असन्तुष्ट पक्षलाई मनाउँदै

 मंसिर २९, २०७६ आइतबार १२:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – केन्द्रीय समितिको बैठकअघि नेपाली कांग्रेसको संस्थापन पक्षले असन्तुष्ट पक्षसँग सहमतिको प्रयास गरेको छ । 

आइतबार बिहान काग्रेस उपसभापति विमलेन्द्र निधिले महामन्त्री शशांक कोइरालासँग छलफल गर्नुभएको छ । 

कोइराला निवास महाराजगञ्जमा भएका छलफलमा कुनै सहमति नभए पनि आजको बैठक सुरु हुनुअघि पार्टी कार्यालयमा उपसभापति निधिले नेता प्रकाशमान सिंहसँग पनि छलफल गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

केन्द्रीय समितिको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा यसअघिको बैठकमा पेस भएका एजेण्डामा छलफल गर्ने तयारी रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो । 

गएको बिहीबारको बैठकमा पनि पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेस गर्ने भनिए पनि पेस नभएको भन्दै रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षले बैठक बहिष्कार गरेको थियो । 

पौडेल पक्षको बहिष्कारकाबीच सभापति शेरबहादुर देउवाले छलफलका लागि नौ वटा एजेण्डा प्रस्तुत गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया