मध्य बर्खामै खडेरी, मकैका बोट सुक्न थाले

 साउन ४, २०७५ शुक्रबार ७:२:३७ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम, – असार वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि तेह्रथुमका अधिकांश खेत बाँझै छन् । पानी नपर्दा किसानले लगाएको मकै बालीसमेत नष्ट हुन थालेको छ ।मकैको बोट नै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तेह्रथुमका सुख्खाग्रस्त दर्जनभन्दा बढी गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेपछि किसानलाई वर्षभरी के खाने ? भन्ने चिन्ताले सताउन थालेको छ ।

बारीमा फल लाग्ने बेला भएको मकैको बोटै सुक्न थालेपछि गाउँमा भोकमरीको सम्भावना निम्तिने सम्भावना बढेको छथर गाउँपालिका–४ फाक्चामाराका विष्णु सुवेदीले बताउनुभयो । छथर गाउँपालिकाको फाक्चामारा, पञ्चकन्या, हमरजुङ, सुदाप र ओख्रेका विभिन्न गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेका छन् ।

फेदाप गाउँपालिकाको सिम्ले र जलजलेमा पनि मकै खडेरीले सुकाएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापाले बताउनुभयो । ‘वैशाख र जेठमा केही पानी परे पनि त्यसयता पानी परेको छैन,’ उपाध्यक्ष थापाले भन्नुभयो, ‘त्यसैले गाउँमा खेतमा रोपाइँ हैन, बारीमा लगाएको मक समेत सुकेर जाने अवस्था आएको छ ।’ 

आठराई गाउँपालिकाको थोक्लुङ, चुहानडाँडा, सक्रान्ति, छातेढुंगालगायत गाउँमा पनि खडेरीले मकै सुक्न थालेको छ । असार वितिसक्दा समेत पानी परेको छैन । किसानले लगाएको मकै बाली मात्र हैन, गहत, कोदोलगायत बालीमा समेत खडेरीले प्रभाव पारेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया