‘पोट्रेट अफ मनी’ र ‘जुनुको जुत्ता’ किम्फका उत्कृष्ट वृत्तचित्र !

‘पियानो टु जन्सकर’ले जित्यो २ लाख पुरस्कार !

 मंसिर २९, २०७६ आइतबार २०:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दुई जना नेपाली युवाले बनाएको छोटा तर मर्मस्पर्शी वृत्तचित्र १७ औँ काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फमा उत्कृष्ट बनेका छन् ।

पानारोमा विधातर्फ केदार श्रेष्ठले निर्माण गरेको ‘जुनुको जुत्ता’ फिक्सनतर्फ उत्कृष्ट चलचित्र बनेको हो । रंगकर्मी श्रेष्ठले ५ वर्षीया छोरीको जुत्ताका विषयमा निर्माण गरेको यो चलचित्रले फिक्सनतर्फ उत्कृष्ट बन्दै एक लाख रुपैयाँँ पुरस्कार जितेको हो । १२ मिनेट अवधिको यो चलचित्र आइतबार प्रदर्शन भएको थियो ।

यस्तै पानारोमा विधामै ‘पोट्रेट अफ मनी’ले उत्कृष्ट वृत्तचित्रको पुरस्कार पायो । प्रणव नारायण मानन्धरले निर्देशन गरेको यो वृत्तचित्र जम्मा ८ मिनेटको छ । गएको बिहीबार प्रदर्शन भएको यो वृत्तचित्रमा रक्सी पिउने युवाको कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

‘पियानो टु जन्सकर’ जित्यो २ लाख रुपैयाँ पुरस्कार !

किम्फका वृत्तचित्रबीचको प्रतियोगितामा ‘पियानो टु जन्सकर’ वृत्तचित्र पहिलो बनेको छ । बेलायती निर्देशक माइकल सुलिमाले निर्देशन गरेको पियानो टु जन्सकरले १७ औँ किम्फ प्रतियोगितामा पहिलो हुँदै २ लाख रुपैयाँ पुरस्कार जितेको हो । 

यस्तै बेलायती निर्देशक कलानी गाकोनले निर्देशन गरेको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो र स्पेनका मार्गा गुटरेजले निर्देशन गरेको ‘कुर्देस’ तेस्रो भएको छ । दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

यस्तै ३ मिनेटको निकै छोटा वृत्तचित्र प्रतियोगिताको पुरस्कार ‘द युनिटी’ अर्थात एकता वृत्तचित्रले पाएको छ । ३ मिनेटको वृत्तचित्र प्रतियोगितामा अरु ९ वटालाई पछि पार्दै एकताले निकै छोटो अवधिको वृत्तचित्र प्रतियोगिताको पुरस्कार जितेको हो । यस्तै अमा खाण्डो वृत्तचित्रले बेस्ट अडियन्स पुरस्कार जितेको छ ।

उत्कृष्ट वृत्तचित्रलाई पुरस्कार वितरण गर्दै १७ औँ काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फ आइतबार सकिएको छ । गएको बुधबारदेखि सुरु भएको किम्फमा १३ देशका ७९ वटा वृत्तचित्र प्रदर्शन गरिएका थिए । 

सन् २००० देखि सुरु भएको किम्फले युवालाई छोटा चलचित्र अर्थात वृत्तचित्र निर्माणमा प्रोत्साहन गर्दै आएको छ । यसका साथै अन्तर्राष्ट्रिय वृत्तचित्र निर्माता तथा निर्देशकलाई समेत सहभागी गराएर नेपालमै बर्सेनि छोटा चलचित्रको निर्माण र प्रदर्शनलाई बढावा दिन किम्फको मुख्य भूमिका छ । 

यस वर्षको किम्फमा युवाहरुको सहभागिता उत्साहजनक रहेको किम्फका प्रमुख बसन्त थापाले बताउनुभयो । तर सरकारबाट पर्याप्त सहयोग नपाउँदा सोचेअनुसारको व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया