आजका मुख्य खबर : दुर्घटनाको खबरले प्रधानमन्त्रीलाई निद्रा नपरेकोदेखि नेपाली भूउपग्रहले लिएको तीन देशको तस्बिरसम्म

 मंसिर ३०, २०७६ सोमबार २०:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज सोमबार, मंसिर महिनाको अन्तिम दिन । आइतबार सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको खबरले मर्माहत भएर सुतेका नेपालीले बिहान उठ्नेबित्तिकै अर्को दुःखद खबर सुन्नुपर्यो । त्यो खबर थियो, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन ।

अकस्मात बिरामी भएर राति नै अस्पताल लगिए पनि डाक्टरले जाँच गर्न नपाउँदै उहाँको निधन भैसकेको थियो । यसअघि निधन भएका अर्का कलाकार दीपक क्षेत्री र बोर्डका अध्यक्ष भट्टराईको सोमबार सँगसँगै श्रद्धाञ्जलि र अन्त्येष्टि गरिएको छ ।

सोमबारको अर्को मुख्य खबर हो, बढ्दो गाडी दुर्घटना रोक्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पहल । सडक दुर्घटना बढ्न थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर छलफल गर्नुभयो । छलफलमा भावुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिनुभएको छ ।

दुर्घटनाका खबरले मलाइ निद्रा परेको छैन, तत्कालै कदम चाल्नुहोस् : प्रम ओली

गाडी दुर्घटनाको खबरले आमनागरिकसहित प्रधानमन्त्रीलाई समेत दुःखी बनाइरहेको बेला विज्ञान प्रविधिको एउटा खबरले भने सबैलाई उत्साही बनाएको छ । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१  पहिलो पटक ती तस्वीर लिन सफल भएको हो । 

नेपाली स्याट–१ ले लियो तीन देशको तस्बिर

सोमबारको अर्को सुखद खबर हो, विश्वविख्यात फोर्ब्स पत्रिकामा नेपालबारेको सामग्री । यो पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ ।

फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा राख्दै यहाँको बारेमा चर्चा गर्नुभएको छ । उहाँले नेपाललाई धर्तीकै उत्कृष्ट साहसिक गन्तव्य भएको उल्लेख गर्नुभएको छ । 

विश्वविख्यात फोर्ब्स पत्रिका लेख्छ : घुमन्तेहरुका लागि नेपाल उत्कृष्ट गन्तव्य

सोमबारका अरु मुख्य खबर पढ्नुहोस् :

‘शहरमा चल्ने गाडी रिजर्भ गरेर अन्यत्रै जाँदा दुर्घटनाको जोखिम धेरै हुन्छ’

‘ग्यासभन्दा बिजुली सस्तो छ, भारतमाथिको परनिर्भरता घटाऔँ’

नेकपा स्थायी कमिटी बैठकमा सदस्यहरुकाे बाेल्ने क्रम सकिएन : भाेलि पनि बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित : अब बुधबार बस्ने

जडीबुटी संकलन गर्न गएका १२ जना चार दिनपछि सकुशल घर फर्किए

काठमाण्डौ गोल्डेन्सकाे लगातार दोस्रो हार : सुपर ओभरमा बुटवलसँग पराजित

पाेखरा प्रिमियर लिग : धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हरायाे

ए डिभिजन लिगमा आर्मीकाे विजयी सुरुवात : फ्रेण्ड्स क्लब २-१ ले पराजित


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया