हेटौंडा कपडा उद्योगको बिजोग : नेताले सकेनन्, सेना अघि सर्‍याे

 साउन ४, २०७५ शुक्रवार ९:१:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – औद्योगिक क्षेत्रको बीच भागमा छ, हेटौंडा कपडा उद्योग । उद्योगको मूलगेटमा सुरक्षा गार्ड छन् । अघिल्तिर लेउ लागेर पुरानो भएको उद्योगको भवन छ । 

आसपासका सडकमा औद्योगिक क्षेत्रमा तयारी सामान लिएर जाने र कच्चा पदार्थ लिएर आउने गाडीको ताँती छ । तर उद्योगभित्र पस्दा कुनै जंगलमा पुगे जस्तै लाग्छ । 

ठूला साना रुख, बनमाराका झारैझारका बीचमा साना ठूला भवन छन् । वरपर रुख र झाडी छ । चीन सरकारको सहयोगमा निर्माण भएर २०५६ फागुनदेखि पूर्ण रुपमा बन्द भएको हेटौंडा कपडा उद्योगको अहिलेको हालत हो यो । 

कपडा उद्योगमा मेसिन भएको ठूला भवन ४ वटा र अरु अफिसियल, स्टोर भवन गरी १० वटा छन् । ती भवनभित्र जाँदा सबै भवन चुहिएर भित्रका सबैजसो सामान अहिले काम नलाग्ने भएको छ । फलाममा खिया लागेका छन् । पुरानो अफिसियल भवनका सबै कोठा चुहिएर भित्र बस्न समेत मिल्ने देखिँदैन । 

बन्द उद्योग कुर्नुपर्दा रातको समयमा त डर नै लाग्ने गरेको सुरक्षागार्ड विष्णु बास्तोलाले भन्नुभयो । ‘पहिले देश विदेशमा घरेलु कपडा बिक्री गरेर चर्चा कमाएको यो कपडा उद्योग यस्तो हालतमा कुर्नुपर्दा धेरै चिन्ता लागेर आउँछ । रेडियो, टीभी र पत्रिकाबाट उद्योग चलाउने भनिएको सुनिन्छ । तर उद्योग भने चलेको छैन’ उहाँले दुखेसो पोख्नुभयो ।

१९ वर्ष अघिसम्म औद्योगिक क्षेत्रको सबैभन्दा बढी चहलपहल हुने कपडा उद्योग अहिले खण्डहर भएको देख्दा सबै यसैगरी चिन्तित हुन्छन् ।

सबैभन्दा बढी औद्योगिक क्षेत्रको जग्गा ओगटेको यस उद्योग सञ्चालन गर्ने भनेर यसअघि धेरै कुरा भए । तर हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई यसबारे आधिकारिक जानकारी नै छैन । लिमिटेडका प्रमुख नेपाल भुषण बैद्य भन्नुहुन्छ, ‘हामीले मिडियामाफर्त सरकारले चलाउने भनेर जानकारी पायौं, तर आधिकारिक रुपमा थाहा छैन ।’ अहिलेकै अवस्थामा उद्योग चल्नै नसक्ने र धेरै खालका मर्मतपछि मात्र चलाउन सकिने उहाँको भनाइ छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा उद्योग निर्माण सुरु भएको थियो । २०४८ को आर्थिक उदारीकरणपछि उद्योगलाई निजीकरण गर्ने भनिए पनि प्राथमिकतामा पर्न सकेन । 

बन्द हेटौंडा कपडा उद्योग एकसय ८८ रोपनीमा फैलिएको छ । तीनलाख ५५ हजार स्क्वायर फिटका भवन छन् । उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो ।  

उद्योग सञ्चालन हुँदा १५ सयभन्दा धेरैले रोजगारी पाएका थिए । स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो । हाल उद्योगमा कुरुवा मात्र छन् । 

कपडा उद्योग सञ्चालनबारे फेरि चर्चा 

दुई छिमेकी देश चीन र भारतबाट सस्तो दरमा कपडा भित्रिएपछि २०५६ फागुनदेखि उद्योग पूर्ण रुपमा बन्द भयो । त्यसपछि सरकार परिवर्तन भएसँगै उद्योग सञ्चालनको चर्चा हुने गरेको छ । यसपटक पनि यस्तै चर्चा छ, तर त्यसअनुसार काम अघि बढेको छैन ।

कपडा उद्योग चलाउँछु भन्नेहरुले उद्योग कस्तो हालतमा छ भनेर हेर्न नआएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख नेपाल भुषण बैद्य बताउनुहुन्छ । अहिले बन्द कपडा उद्योग नेपाली सेनाले चलाउने चर्चा छ । आठ महिनाअघि नेपाली सेनाका प्राविधिकले कपडा उद्योगको निरीक्षण गरेर गएका थिए ।

कपडा उद्योग सरकार मात्रले चलाउन नसक्ने उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल बताउनुहुन्छ । उद्योग संघलाई जिम्मा दिएमा आफूहरुले भने चलाउन सक्ने वातावरण तयार पार्ने बताउँदै अर्याल भन्नुहुन्छ, ‘अब सरकारले सहकारीको अवधारणमा वा निजीकरण गरेर मात्र यो उद्योग सञ्चालन गर्न सक्छ ।’ 

कुरा धेरै, काम सिन्को पनि भाँचिएन

देशकै गौरवका रुपमा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको लागि नेता र मन्त्रीहरुले भाषण मात्रै होइन, रकम पनि खन्याएका छन् । तर त्यो पैसा कहाँ पुग्यो भनेर अहिले भेटिने ठाउँ पनि छैन । बाबुराम भटराई अर्थमन्त्री हुँदाको समयमा पाँच करोड रुपैयाँ खर्च गरेर कपडा उद्योग सञ्चालन गर्ने भनियो । मेसिनहरु मर्मत गरेर चलाउने हालतमा पनि ल्याइयो । तर सञ्चालन भने हुनै सकेन ।

उद्योगका सबै भवनमा रहेका मेसिनहरु मर्मत गरेर सबैतिर हराभरा सुन्दर बनाइएपनि चलाउन भने नसकिएको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल बताउनुहुन्छ । त्यतिबेला भवनहरु सामान्य मर्मत मात्र गरे हुन्थ्यो, तर अहिले भने भवन नै चुहिने अवस्थामा छ ।

कपडा उद्योगलाई केन्द्रीत गरेर तत्कालीन नेकपा माओवादीले आफ्नो केन्द्रीय महाधिवेशन कपडा उद्योगकै प्राङगणमा गरेको थियो । तर महाधिवेशन सकिएपछि नेतृत्वले बिर्सियो ।

गएको जेठ २१ गते तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना सञ्चालन गर्ने बताउनुभएको थियो ।  अहिले भैरहेको मेसिन भन्दा पनि नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने उहाँको भनाई थियो । ‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उहाँले भन्नुभयोे ‘यसमा प्राइभेट सेक्टर (निजी क्षेत्र) पनि ल्याइन्छ ।’

कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने उहाँको भनाई थियो ।  ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन, दूध खाने मात्र हुन्छ’ उहाँले त्यतिबेला भन्नुभएको थियो ।

उहाँ मात्र होइन, संघीय सरकारका मन्त्री, सांसद, नेता धेरैले कपडा उद्योग चलाउने भनेर पटक पटक भन्दै आउका छन् । तर कपडा उद्योग चलाउने ठोस आधार भने तयार भैनसकेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ । सरकारी क्षेत्र मात्रले कपडा उद्योग सञ्चालन गर्ने अवस्थामा नरहेको मेयर महतको भनाई छ ।

नेपाली सेनाले चलाउने चर्चा 

हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनाले पाउने करिब निश्चित भएको छ । तीन दशकदेखि बन्द उद्योग चलाउन सरकारले सेनालाई प्राथमिकता दिने भएको हो । सुरक्षा निकायको लगानीसहित संयुक्त व्यवस्थापनमा उद्योग चलाउने निर्णय भएको उद्योग मन्त्रालयका सहसचिव शत्रुघन पुडासैनीले बताउनुभयो । उद्योग सञ्चालनको नेतृत्व नेपाली सेनाले गर्नेछ ।

उद्योग सञ्चालनका लागि सात सदस्यीय कार्यदल गठन हुनेछ । त्यसमा नेपाली सेनाले मेकानिकल, मार्केटिङ र टेक्सटाइल सम्बन्धी ज्ञान भएका तीनजना अधिकृतस्तरका कर्मचारी पठाउनेछ । उद्योग मन्त्रालयले प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल इञ्जिनियर गरी दुईजना कार्यदलमा पठाउनेछ । 

अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा मन्त्रालयबाट मनोनित एक जना मेकानिकल रहनेछन् । कार्यदलले उद्योगको विश्लेषण गरी १५ दिनभित्र सेना र उद्योग मन्त्रालयमा प्रतिवेदन दिने निर्णय भएको छ ।

१५ दिनभित्रमा कार्यशर्तअनुसार मूल्यांकन गरी अवधारणापत्र बनाएर पेस गरिने छ । त्यसै अवधारणा पत्रका आधारमा अध्ययन गरी उद्योगको मोडालिटी तयार पारेर सञ्चालनमा ल्याइने तयारी छ । कपडा उद्योगको कुनै दायित्व बा“की नरहेकाले यसलाई सञ्चालनमा ल्याउन सहज देखिएको उद्योग सचिव यामकुमारी खतिवडाले बताउनुभयो ।
 

अन्तिम अपडेट: भदौ १७, २०७५

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

1 Comments

  • राम

    July 20, 2018, 11:31 a.m.

    यस उद्योगले त्यसबखत (पञ्चायतकालभर) अहिलेका धेरै नेतापत्नीलाई रोजगार दिएको बिर्सिएहोलान् अब त ।

तपाईको प्रतिक्रिया