बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने

 साउन ४, २०७५ शुक्रबार १२:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला राजमार्ग अन्तर्गत गलेश्वर–घाँसा सडकखण्ड रातको समयमा बन्द हुने भएको छ । विहीबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो । 

वर्षाका कारण बेनी–जोमसोम सडकको विभिन्न स्थानमा सडक माथिबाट पहिरो खस्ने, सडक भासिँदा हुने सम्भावित दुर्घटनाबाट मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गरी अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीलाई रातको समयमा दुईतर्फी रुपमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार यही साउन ५ गतेदेखि लागू हुनेगरी आउँदो ३१ गतेसम्म रातीको समयमा सडक बन्द गरिनेछ । बेनीदेखि गलेश्वर हुँदै जोमसोमतर्फ जाने सवारीलाई साँझ साढे ५ बजेदेखि बिहान ५ बजेसम्म र जोमसोमबाट घाँसा भएर बेनी आउने सवारीलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो । 
    
अहिले बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न ठाउँमा सडक विस्तारको काम भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया