मनलाग्दी बिदा बस्नेको तलब कट्टा, हाजिर नहुनेको जागिर चट

 साउन ४, २०७५ शुक्रबार १३:५६:३८ | राजु लामिछाने

रुकुम पश्चिम – जिल्लाको आठबीसकोट नगरपालिकाले आफूखुशी बिदामा बस्ने कर्मचारीहरुको करिब १० लाख तलब कट्टी गरेको छ । नगरपालिकाले ४५ वटा विद्यालयमा कार्यरत १ सय ८६ जना शिक्षक र कर्मचारीको तलब कट्टा गरेको जनाएको छ । 

नगर शिक्षा ऐन २०७४ को दफा २५ मा व्यवस्था भएअनुसार नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा विद्यालयमा अनुपस्थित शिक्षक र कर्मचारीको तलब कट्टा गरेको हो । 

नगरपालिकाभरका ५६ वटा सामुदायिक विद्यालयमा अनुगमन गर्दा बिदा भन्दै आफूखुशी हाजिर नगर्ने ४५ बिद्यालयका १ सय ८६ शिक्षक, कर्मचारीको तलबबाट करिब १० लाख रकम काटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।

विद्यालयमा अनुपस्थित भएको दिनको तलब कटौती गर्दा एक वर्षमा नगरपालिकालाई ९ लाख ८३ हजार ६ सय ७५ रुपैयाँ राजश्व प्राप्त भएको छ । त्यो रकम विद्यालयहरुले नगरपालिकाको खातामा जम्मा गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो । ‘हामीले सबै ४५ वटै विद्यालयलाई दण्ड, सजायबापतको रकम नगरपालिकाको खातामा जम्मा गर्न परिपत्र गरेका छौँ, त्यहीअनुसार विद्यालयहरुले रकम नगरपालिकाको खातामा जम्मा गरिरहेका छन् ।’ उहाँले भन्नुभयो, ‘यदि कुनै विद्यालयले नगरपालिकाको निर्देशन विपरीत दण्डित शिक्षक, कर्मचारीलाई तलब दिएको पाइएमा प्रअको तलबबाट असुल गर्ने छौँ र नगरपालिकाबाट दिइने अनुदानबाट विद्यालयलाई बञ्चित गरिने छ ।’  

एउटै शिक्षक तथा कर्मचारी दुई महिना भन्दा लामो समयसम्म पनि विद्यालयलाई कुनै जानकारी नगराई बिदा बसेको पाइएकोले जरिवानास्वरुप तलब काटिएको उहाँले जनाउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी बालकल्याण मावि राडिज्युलाका शिक्षक कर्मचारीको तलब काटिएको छ । त्यस विद्यालयका ११ जना शिक्षक २ सय ११ दिन विद्यालयमा अनुपस्थित भएकोले १ लाख ८८ हजार ८ सय ७२ रुपैयाँ तलब कट्टा भएको छ । त्यस्तै सबैभन्दा बढी शिक्षक, कर्मचारी अनुपस्थित हुने विद्यालयमा भने सूर्योदय मावि रहेको नगरपालिकाले तयार पारेको तलब कट्टा हुने विद्यालय तथा शिक्षक, कर्मचारीको विवरणमा उल्लेख छ । त्यस विद्यालयका १० जना शिक्षक, कर्मचारी २ सय ३९ दिनसम्म विद्यालयमा उपस्थित नभएको भेटिएको छ । 

शिक्षकको जागिर चट

लामो समयसम्म पनि विद्यालयमा हाजिर नहुने एक जना शिक्षकलाई भने नगरपालिकाले जागिरबाट हटाएको छ । वैशाखदेखि जेठ तेस्रो सातासम्म गरिएको अनुगमनका क्रममा विद्यालयमा हाजिर नहुने जनता मावि झिन्चौरका शिक्षक मनबहादुर मल्ललाई बर्खास्त गरिएको हो । नगर शिक्षा ऐनको दफा १९ को उपदफा (३) अनुसार पदीय दायित्व पूरा नगरेर बिना सूचना लगातार १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित भएकोले मल्ललाई शिक्षक पदबाट बर्खास्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाई छ ।

नगरपालिकाको प्रमुख प्राथमिकतामा शिक्षा भएकाले आफ्नो कार्यकालमा देखिने गरी शिक्षाको गुणस्तर वृद्धि गर्ने गरी लागिपरेको नगर प्रमुख गोर्खबहादुर केसीले उल्लेख गर्नुभयो । ‘हामीले शिक्षाको गुणस्तर देखिने गरी वृद्धि गर्ने भनेका छौँ, शिक्षक, कर्मचारीको सहयोग बिना त्यो सम्भव छैन’, उहाँले भन्नुभयो, ‘हामी कर्मकाण्डी शिक्षक, कर्मचारीलाई छोड्दैनौँ, उनीहरुलाई पेशाप्रति जवाफदेही बनाइछाड्छौँ, नमान्नेलाई यो पेसाबाट बिदाई गर्छौँ ।’ शिक्षकहरुको लापरवाहीका कारण शैक्षिक गुणस्तर खस्कँदै जान थालेपछि विद्यालयमा निगरानी थालेको नगरपालिकाले अब अन्य सरकारी निकायमा पनि निगरानी थाल्ने भएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया