रक्सी पिएर कार दुर्घटना गराउने मल्लमाथि अनुसन्धान चल्दै

 पुस ४, २०७६ शुक्रबार १३:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रक्सी पिएर कार दुर्घटना गराउने काठमाण्डौ गोठाटारका पृथ्वी मल्लमाथि दोस्रो पटक म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मल्ललाई सवारी ज्यान मुद्दामा दोस्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढाईएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । मंसिर २८ गते शनिबारदेखि लागू हुनेगरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भएको भए पनि अनुसन्धान नसकिएपछि फेरि ७ दिनको म्याद थप गरीएको हो ।

काठमाण्डौ जिल्ला अदालतबाट बिहीबारदेखि लागू हुनेगरी दोस्रो पटक ७ दिनको समय थप भई छानबिन भैरहेको वृत्तका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । 

सवारी ज्यान मुद्दामा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । दोस्रो पटकको म्याद पुस १० गतेसम्ममा पनि अनुसन्धान सकिएन भने जिल्ला अदालतले फेरि समय दिनेछ । 

गएको शनिबार मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट गोरखाको बारपाक घर भई बुढानिलकण्ठ बस्ने लिला देवकोटाको ज्यान गएको थियो । देवकोटालाई ठक्कर दिएपछि कार बिजुलीको पोलमा ठोक्किएको थियो । 

अनुसन्धानबाट दोषी ठहरिए मल्ललाई ५ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । मल्लसँगै जाँडरक्सी पिएर कारमा यात्रा गरेका अरु ३ जना भने छुटिसकेका छन् । 

यसैबीच मृतक देवकोटाको परिवारले क्षतिपूर्ति र कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया