‘मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न सक्दैन’

 पुस ४, २०७६ शुक्रबार १५:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारलेसमेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताउनुभयो ।

उहाँले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय सडकका कारणले भन्दा पनि मानवीय र यान्त्रिक गडबढीका कारण दुर्घटना हुने गरेको बताउनुभयो । त्यसको नियन्त्रण गर्ने काम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवश्यक रहेको उहाँले बताउनुभयो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताउनुभयो ।

त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जीर्ण भएकोले पनि दुर्घटना बढेको बताउनुभयो । त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखी भन्दा पनि नाफामुखी भई सवारीसाधन चलाउँदा पनि दुर्घटना बढेको उहाँले बताउनुभयो । 

नेपालमा सडक दुर्घटना हरेक वर्ष बढ्दै गएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गतेसम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ ।

यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानवीय र यान्त्रिक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया