के हुँदैछ सडक दुर्घटना रोक्ने कार्ययोजना ?

 पुस ४, २०७६ शुक्रबार २०:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘सिन्धुपाल्चोकको दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिसे भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ ।’ 

अघिल्लो मंगलबार सिन्धुपाल्चोकमा १५ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको खबर सुनेर प्रधानमन्त्री केपी शर्मा ओली पनि यसैगरी भावुक हुनुभयो र भोलिपल्ट सम्बन्धित निकायका प्रतिनिधिलाई बोलाएर तत्काल दुर्घटना रोक्ने कार्ययोजना बनाउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि सम्बन्धित निकायले दुर्घटना न्यूनीकरणका योजना अघि बढाउने बताएका छन् । सडक विभागका महानिर्देशक केशव शर्माले सडकमा हुने दुर्घटनाप्रति विभाग सचेत रहेको र त्यसका लागि काम गरेको दाबी गर्नुहुन्छ ।

‘हामी क्रस कटिङ पनि बनाउनेतर्फ लागिरहेका छौं, यसले दुर्घटना कम गर्न सहयोग गर्छ’ उहाँले भन्नुभयो, ‘घुम्ती नपुगेको ठाउँमा फराकिलो बनाउन भनेका छौं ।’ सडक दुर्घटना रोक्न सरोकारवाला सबै पक्षबीच समन्वय र सहकार्य हुनुपर्ने उहाँको भनाइ छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आँकडाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा देशभर भएका दुर्घटनामा ज्यान गुमाउनेकोे संख्या २ हजार ७ सय ८९ रहेको छ । यस्तै गएको ६ महिनादेखि यता अहिलेसम्म ९ सय २१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल सडक दुर्घटना बाहिर चर्चा भएजस्तो नभएको दाबी गर्नुहुन्छ । यद्यपि सडक दुर्घटना रोक्नु ट्राफिक प्रहरीको दायित्व भएकाले त्यसैअनुसार काम भइरहेको उहाँले बताउनुभयो । ‘सडक दुर्घटना न्यूनिकरण ट्राफिक एक्लैले गरेर हुने कुरा होइन । सबैले कानुनको पालना गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘हामी सरोकारवाला निकायसँग समन्वय गरेर नै अघि बढिरहेका छौं ।’ 

यात्रुबाहक बसको छतमा ‘हुट’ हाल्न नदिने निर्णय गरेपछि दुर्घटनामा कमी आएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘दुर्घटना नहोस् भनेरै हामीले लामो दूरीका, विशेषगरी रात्री बसहरुमा अनिवार्य दुई जना चालकको व्यवस्था गरेका छौँ ।’  

ट्राफिक सचेतना अभियान सुरु गरिएको, गाडीको गति नाप्ने यन्त्र सञ्चानलनमा ल्याएको र उपत्यका बाहिर राजमार्ग क्षेत्रमा ट्राफिक कार्यालय खोली सुरक्षा जाँचलाई कडाई गरिएकाले दुर्घटनामा कमी आउने उहाँको विश्वास छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने यातायात मन्त्रालयको प्राथमिकतामा यातायात नै नपरेकोले दुर्घटना बढेको गुनासो गर्नहुन्छ । 

‘अहिलेसम्म सडक दुर्घटनाको बारेमा सरकारले कुनै अन्तरक्रिया गरेको छैन’ उहाँले भन्नुभयो, ‘अहिले जुन ढंगले यातायात चलिरहेको छ । यो त जय पशुपतिनाथको तवरले चलेको छ ।’ कतिपय सडकमा पिच नहुनु, भएका सडकमा पनि मापदण्ड विपरित अवैज्ञानिक हुनुले दुर्घटना बढेको उहाँको भनाइ छ । 

तर, सडक विभागका महानिर्देशक केशव शर्मा भने सडकका कारण मात्रै दुर्घटना नभएको बताउनुहुन्छ । ‘चालक, यात्रु र स्थानीय वा पैदल यात्रुका कारण पनि दुर्घटना हुने गर्छ’ उहाँले भन्नुभयो, ‘पूर्वाधारको कारणमा त्यो सडक सुरक्षित छ कि छैन ? सडक सुहाउँदो सवारी साधन हो कि होइन त्यो पनि हेर्नुपर्छ । अर्को कुरा मौसम पनि हो ।’ 

सडकका लागि उचित बजेट गएको बताउँदै उहाँले कतिपय अवस्थामा भौगोलिक जोखिममा रहेको उल्लेख गर्नुभयो । दुर्घटना हुने सडकको पहिचान गरी स्तरोन्नति गरेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘अब सडक सुरक्षा सबैले अपनाउनुपर्छ ।’

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया