डा. केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन परराष्ट्रमन्त्रीकाे अाग्रह

 साउन ४, २०७५ शुक्रबार १८:६:३१ | उज्यालो सहकर्मी

काठमाडाैं - सरकारले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ । 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वरिष्ठ चिकित्सक केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आह्वान गर्नु भएको हो ।

उहाँले सरकार केसीको जायज माग सम्बोधन गर्न लचकताका साथ प्रस्तुत हुने प्रस्ताव पनि अघि सार्नुभयो । 

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीलाई काठमाडौं ल्याउँदा पनि सरकारको आलोचना गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

मन्त्री ज्ञवालीले केसीलाई केही राजनीतिक दलहरुले आफ्नो स्वार्थ सिद्धिका लागि प्रयोग गरिरहेको दावी गर्दै सचेत रहन पनि आग्रह गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले वरिष्ठ चिकित्सक केसीको मागलाई सम्बोधन गर्न वार्ता टोली नै गठन गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले आयोगमार्फत् चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधान गरेर जाने गरी आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई सहयोग गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि आग्रह गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय संरचनाका कारण नेपालमा हुने डुबान समस्या छिट्टै समाधान हुने दावी समेत गर्नुभयो ।

भारतीय अधिकारीहरुले दुवै देशमा हुने डुबान समस्या समाधानका लागि अध्ययनको कामलाई अघि बढाएको र केही समयभित्रै नेपालमा हुने डुबान समस्या समाधान हुने बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले नारायणी नदीमा रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययनको काम सुरु गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले आगामी सेप्टेम्बरभित्र भारतसँग गरिएका सहमति कार्यान्वयन हुने गरी कामलाई अघि बढाइएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया