बिहीबारको खण्डग्रास सूर्यग्रहणबारे जान्नैपर्ने केही कुरा

 पुस ९, २०७६ बुधबार १४:९:१७ | बलराम उपाध्याय खकुरेल

बिहीबार पौष महिनाको औँशीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ । नेपालमा बिहान ८ः४२ बजेदेखि ग्रहण सुरु हुनेछ । ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ र ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय मध्यान्ह ११ः३१ बजे मात्र हुनेछ । 

सूर्यग्रहण २ घण्टा ४९ मिनेट लाग्नेछ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । ग्रहणको सूतक आज राति ८ः४२ बजेदेखि नै सुरु हुने भएकाले बुधबार बेलुका ८ः४२ देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ । 

बिहीबारको सूर्यग्रहण विक्रम संवत् अनुसार पनि २०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । 
खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देख्न सकिन्छ । 

ग्रहणलाई खुला आँखाले भने हेर्नु हुँदैन । दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिन्छ । ग्रहण दुई प्रकारको हुन्छ । १. खण्डग्रास  २. खग्रास 

सूर्य वा चन्द्रमाको पूरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पूरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ । 

खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ । बिहीबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्यग्रहण हो । चन्द्रग्रहण सधैँ पूर्णिमा तिथिमा मात्र लाग्दछ भने सूर्यग्रहण सधैँ औँशी तिथिमा मात्र लाग्दछ । 

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । जस्तै: कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, दाँत माझ्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु, रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । 

गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वैज्ञानिक अनुसन्धानअनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा कीटाणुहरुको सङ्ख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ ।

ग्रहणको समय अगाडि नै पाकेका सामग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ भन्ने पूर्वीय ग्रन्थहरुको मान्यता छ । पूर्वीय धर्मग्रन्थहरु मत्स्य पुराण, नारद पुराण, भागवत, वेद आदिमा ग्रहणको निकै चर्चा गरिएको पाइन्छ । 

यसरी हाम्रो ज्योतिषीय मान्यता र आधुनिक वैज्ञानिक मान्यतामा भाषागत फरक भए पनि निचोड भने एकै किसिमको आएको देखिन्छ । यो समयमा कुनै पनि विशेष काम नगर्नु भन्ने नै दुवै सिद्धान्तको निचोड हो । दुवै विषयका ज्ञाताहरुको लागि ग्रहण विशेष अनुसन्धानको समय पनि हो । 

बिहीबारको सूर्यग्रहणको फल :    

मेष: मान नाश । वृष: कष्ट । मिथुन: स्त्रीपीडा । कर्कट: सौख्यम् । सिंह: चिन्ता । कन्या: व्यथा । तुला: श्री प्राप्ति । वृश्चिक: क्षति । धनु: घात । मकर: व्यय । कुम्भ: लाभ । मीन: सुख ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया