ठेकेदारबीच कुरा नमिल्दा झडप, मध्यभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित

 साउन ४, २०७५ शुक्रबार २०:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित भएको छ ।

शुक्रबार फर्म दर्ता हुनै लाग्दा ठेक्का स्थगित भएको हो । साथै व्यवसायीहरुबीच झडप भएपछि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो । 

‘३ प्याकेजमा ४ करोडको टेन्डर थियो, व्यवसायीहरुबीच सामान्य झडप भएको हो’, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो । आयोजनाले केही समयको लागि ठेक्का स्थगित गरेको जनाएको छ । प्रजिअ तामाङका अनुसार ठेक्काको लागि २२ वटा फर्म बिक्री भएको थियो । शुक्रबार दिउँसो १२ बजेसम्म समय तोकिएको थियो । आयोजना प्रमुख डा. सुनिल लामाले शान्ति सुरक्षाको कारण देखाउँदै ठेक्का स्थगित गरेको सूचना निकाल्नुभएको छ । 

बाह्रबिसे नगरपालिकाका मेयर तथा प्रभावित बासिन्दा निमफुञ्जो शेर्पाले प्रजिअ तामाङको ठाडो आदेशमा ठेक्का स्थगित भएको आरोप लगाउनुभएको छ । आयोजना सुरुवात गर्ने बेलामा कार्यविधिमा उल्लेख  त्यहाँको ठेक्का, शेयर प्रभावितलाई दिने भनिएको तर अहिले आएर बाहिरी मान्छेहरुलाई ठेक्का दिन खोजेकोले छलफलको क्रममा फर्मवालाहरुबीच प्रतिशतको कुरा नमिल्दा सामान्य झडप भएको शेर्पाले जानकारी दिनुभयो ।

स्वास्थ्यचौकी, आयोजना स्थलमा पर्खाल लगाउने ठेक्काका लागि भोटेकोसीले असार ६ गते सूचना निकालेको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया