'सूर्यग्रहणकाे आकर्षणकाे रुपमा प्रचार गरिएकाे 'रिङ्ग अफ् फायर' हेर्न नेपालले सन् २०६४ सम्म कुर्नुपर्छ'

 पुस १०, २०७६ बिहिबार ७:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबारकाे सूर्यग्रहणको नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्राेनाेमिकल सोसाइटीले जनाएको छ ।

सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले 'रिङ्ग अफ् फायर' नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो ।

नेपालको पूर्वी भागबाट सन् १९६५ नोभेम्बर २३ तारिखमा बिहान देखिएको 'रिङ्ग अफ् फायर' नेपालले अब सन् २०६४ फेब्रुअरी १७ तारिखमा मात्र देख्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

वैज्ञानिक मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै हानी नहुने विज्ञप्तिमा उल्लेख छ । बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण १० बजेर १ मिनेटमा मध्य र ११ बजेर ३१ मिनेटमा सकिनेछ ।

ग्रहणको समयमा नेपालबाट १० बजेतिर सूर्यको झण्डै ४० प्रतिशतसम्म भाग ढाकिएको देख्न सकिने सोसाइटीले जनाएको छ ।

नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण हेर्न बिहान साढे ६ देखि पौने १२ बजेसम्म काठमाण्डौको बत्तिसपुतलीमा रहेको सोसाइटीको कार्यालयमा जान सकिने सोसाइटीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया