कृष्णनगर सीमा नाकाबाट दालको तस्करी मौलाउँदै

 साउन ४, २०७५ शुक्रबार २१:५:३१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – पछिल्लो समय कृष्णनगर सीमा नाकाबाट दालको अवैध ओसारपोसारको कारोबार मौलाउन थालेको छ । 

सरकारले नेपालबाट भारततर्फ मुसुरो बाहेक अन्य दालहरु निर्यात गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । तर सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुसँगको मिलोमतोमा प्रतिबन्धित दालको अवैध निर्यात बढेको छ । 

कृष्णनगर बजारबाट सीमा नाका पार गर्दै दैनिक रुपमा भारतीय बजार बढनीमा ठूलो परिमाणमा दाल भारत तर्फ चोरी तस्करी भैरहेको छ । दाल कारोबारमा संलग्न रहेका व्यापारीहरुले नेपाल तर्फबाट २५ देखि ४० किलो सम्मको बोरामा रहेको दाललाई भंसार नगरी कृष्णनगर भंसार कार्यालयसँगै पश्चिम तर्फको सीमा क्षेत्रबाट भारत पठाइरहेका छन् । यसरी दालको अवैध ओसारपोसार गर्न व्यापारीहरुले पुरुषहरुका साथै महिलाहरुलाई पनि ढुवानीकर्ताको रुपमा प्रयोग गरिरहेका छन् । 

नेपालमै अपुग रहेको दाल भारततर्फ निकासी गर्नु गैरकानुनी रहेको प्रमुख अधिकृत पूण्यप्रसाद खड्काले बताउनुभयो । ‘नेपालबाट भारत तर्फ निकासी गर्न मिल्ने मुसुरो दाल मात्र हो’, प्रमुख भंसार अधिकृत खड्काले भन्नु भयो, ‘नेपालमै दालको अभाव भएका कारण सरकारले दाल निकासीमा पूर्ण प्रतिवन्ध लगाएको छ तर मसुरो दाल भने प्रति किलो १ रुपैयाका दरले भंसार गर्न सकिने कानुनी व्यवस्था छ ।’

समाचार संकलनका क्रममा उभिएका सञ्चारकर्मीहरुले दाल ओसारपोसारमा संलग्न रहेका व्यापारीहरुसँग सामान्य नागरिकको ढंगबाट कुरा गर्दा आफूहरुको सेटिङ सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीसंग भएको बताए । 

राज्यले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको भए पनि सशस्त्र  प्रहरीकै मिलोमतोमा कृष्णनगर सीमा क्षेत्रमा चोरीतस्करी मौलाएको छ ।  
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया