वर्षमा दुईवटा नयाँ वर्ष : अझै पुगेन दिवस र उत्सव !

 पुस १२, २०७६ शनिबार ७:५४:२६ | मिलन तिमिल्सिना
unn.prixa.net

अरु देशले वर्षमा एक पटक मात्र नयाँ वर्ष मनाउँछन् । एउटा नयाँ वर्ष मनाएपछि त्यसैगरी अर्को नयाँ वर्ष मनाउन कम्तिमा एक वर्ष कुर्नुपर्छ । तर हाम्रो देश संसारकै विचित्रको । सगरमाथा, बुद्ध र हिमालको देश भनेजस्तै नयाँ वर्ष, दिवस र उत्सव धेरै भएको देश भन्दा पनि फरक नपर्ला । 

ठूला खालको नयाँ वर्ष नै दुई पटक मनाइन्छ । एउटा वैशाख १ मा, अर्को जनवरी १ मा । वैशाख १ को नयाँ वर्ष मनाएको झझल्को नमेटिंदै यतिबेला हामी जनवरी १ को नयाँ वर्ष मनाउने तयारीमा छौं ।

त्यति मात्र कहाँ हो र, यसपालि त अंग्रेजी नयाँ वर्षसँगै भ्रमण वर्ष मनाईंदैछ । वैशाखमा नयाँ वर्ष, साउनमा आर्थिक वर्ष, जनवरीमा फेरि नयाँ वर्ष र भ्रमण वर्ष । हप्तैपिच्छे महोत्सव र उत्सव । दिनहुँजसो दिवस, अभियान र रमझम ।

वैशाखदेखि सम्झन थाल्नुहोस् त । वैशाखमा नयाँ वर्षको रौनक सकिन नभ्याउँदै विद्यार्थी भर्ना अभियान सुरु हुन्छ । प्रधानमन्त्रीदेखि वडासदस्यसम्मले बालबालिका पढाउने जिम्मा लिन्छु भन्दै तामझाम गर्छन् । केही दिनसम्म लाग्छ, भएजति सबै केटाकेटी स्कुल जान थाले, नेपालमा नपढ्ने मान्छे कोही छैनन् ।

वैशाखमा केटाकेटीलाई मात्र होइन, श्रमिक र आमाहरुलाई पनि भ्याईनभ्याई हुन्छ । अरु दिन आमालाई सम्झन नभ्याउने छोराछोरी यहीबेला मातातीर्थ पुग्छन् । आमालाई मीठो मसिनो खुवाउने बल गर्छन् । वर्षमा एक दिन भए पनि छोराछोरीले सम्झे भनेर आमा खुशी हुन्छिन् ।

लौ हेर्नुस् त हामी उत्सव, पर्व र दिवसका कति धनी ! हरेक दिनजसो उत्सव र पर्व ।

अनि मे १ मा मनाइने मजदूर दिवसका कारण श्रमिकहरु पनि दंग पर्छन् । व्यवहारमा जे भए पनि एकदिन आफ्नो अधिकारबारे बोल्न र सुन्न पाएकोमा मख्ख पर्छन् । अनि अरुबेला लोकतन्त्रको कुरा बिर्से पनि वैशाखमा लोकतन्त्र दिवस पनि मनाएझैं गरिन्छ । 

जेठ लागेपछि लोकभन्दा अलि ठूलोजस्तो लाग्ने गणतन्त्र दिवस पर्छ । टुँडिखेलको तामझाम हेरेर हामी गणतन्त्र भनेको यो पो रहेछ भनेर मख्ख पछौं । जेठमै बुद्ध जयन्ती, उभौली पर्व, छुवाछुत उन्मूलन दिवस भनेर तामझाम गर्छौं । अरु दिन छोइछिट्टो गर्नेहरुले पनि छुवाछुत उन्मूलनको भाषण गर्छन् । असारमा दही चिउरा खाने, नाग टाँस्ने र गुरुलाई सम्मान गर्ने उत्सव पर्छ । 

साउनमा जनैडोरो उनेर गाईजात्रा, रोपाईंजात्रा र कृष्णजात्रा मनाउन नभ्याउँदै तपाईंहामीलाई अरु नानाभाँतीका जात्रा, उत्सव र दिवसले घेर्न थाल्छ । भदौमा हेर्नुस् त, अरु दिन अरुकै मुख र मुहार हेरे पनि कुशे औंसीमा बाबुको मुख हेरी टोपल्छौं । दर खान, तीज मान्न र ऋषि पुज्न नभ्याउँदै सुदूरपश्चिमका महिलाले गौरापर्व मनाउँछन् । यहीबेला नेवार समुदाय ईन्द्रजात्रामा व्यस्त हुन्छन् । 

यसपछि सोह्रश्राद्ध सुरु हुन्छ । आमाले तीज मनाएपछि बाबुले निजामति सेवा दिवस मनाउँछ । यही सेरोफेरोमा छोरोले शिक्षा दिवस मनाउँछ । धेरैलाई दशा र टेन्सन भएर को भो दशैँ तिहार मनाउने बेला पनि यही मेसोमा पर्छ । अनि नेपाल सम्वत, छठ, इद, ल्होसार, माघी.....कति हो कति । सबैको बेलिबिस्तार त हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन् ।

कण्डम दिवस र एड्स दिवसले मात्रै पुगेन अब भिरिंगी दिवस, लुतो दिवस, कोठी दिवसको पनि खाँचो भैसक्यो ।

लौ हेर्नुस् त हामी उत्सव, पर्व र दिवसका कति धनी ! हरेक दिनजसो उत्सव र पर्व । दिनमा झण्डै दर्जनजति दिवस परोस् न । अनि पो मजा हुन्छ । मुटु दिवस, क्षयरोग दिवस, मधुमेह दिवस, क्यान्सर दिवस मात्रै होइन हेर्नुस् त झाडापखालाका हामी कति धनी । अब झाडापखाला दिवस मनाउनुपर्यो । 

रुघाखोकी दिवस, ज्वरो दिवस, डण्डीफोर र पोतो दिवस, ग्यास्टिक दिवस, कपाल झर्ने दिवस थप्नुपर्यो । युवा दिवस, महिला दिवस, बाल दिवस र ज्येष्ठ नागरिक दिवस मात्रै होइन उरन्ठेउलो दिवस, कुर्कुरे बैंस दिवस, अधबैंसे दिवस र थला बस्ने तथा वचन बस्ने दिवस पनि मनाउनुपर्यो । 

बन्द दिवस, हडताल दिवस, चक्काजाम दिवस, नाराजुलुस दिवस, मुक्कामुक्की र घुस्साघुस्सी दिवस हाम्रो संस्कृतिजस्तै बनेका यी कुरा खै ? मन्त्रिपरिषद विस्तार दिवस, शपथ दिवस, मन्त्रालय भागबण्डा दिवस, गाली दिवस कहाँ गयो ? 

कण्डम दिवस र एड्स दिवसले मात्रै पुगेन अब भिरिंगी दिवस, लुतो दिवस, कोठी दिवसको पनि खाँचो भैसक्यो । शहिद दिवस मात्रैले कहाँ पुग्यो हाम्रो देशको परिस्थिति अनुसार हत्या दिवस,  अपहरण दिवस, किरिया दिवस, कुटपीट दिवस, टुहुरा र अनाथ दिवस किन नथप्ने ?

भ्रमण वर्षमा सोचेभन्दा धेरै पर्यटक आए भने विनाभ्रमण दिवस पनि मनाउनुपर्ने होला । आउँदै आएनन् भने चुपचाप वर्ष हुने होला ।

भ्रष्टाचार उन्मूलन होइन, भ्रष्टाचार बढावा दिवस, कमिशन दिवस, घूस दिवस, चोरी र ठगी दिवस, कालोबजारी दिवस, महंगी दिवस, दलाली दिवस, हाई दिवस, निन्द्रा दिवस, अल्छी दिवस, बल्छी दिवस कहिले मनाउने ? 

भ्रमण वर्षमा सोचेभन्दा धेरै पर्यटक आए भने विनाभ्रमण दिवस पनि मनाउनुपर्ने होला । आउँदै आएनन् भने चुपचाप वर्ष हुने होला । अब प्रेम दिवसले मात्रै पुग्दैन । सम्बन्धविच्छेद र बिछोड दिवस, घृणा दिवस, डेटिङ दिवस, कुत्कुती दिवस, भुत्भुती दिवस पनि चाहिने बेला भयो । 

धान दिवसले मात्रै भएन नि । पतेरा दिवस, मूला दिवस, रायो दिवस, हलो दिवस, हलो भाँचिएको दिवस, गोरु दाउने दिवस, भकारो दिवस, मोल बोक्ने दिवस, गाई ब्याएको दिवस, बेउती खाएको दिवस, खसी बाख्रा दिवस, डोको बुनेकोे दिवस, गोठालो जाने दिवस खै ? 

डण्डीबियो दिवस, गुच्चा दिवस, चिप्लेटी दिवस, चाकाचुली दिवस, भुत्लाभुत्ली दिवस, तास दिवस, लुंडो दिवस, क्यारेमबोर्ड दिवस, हाँसो दिवस, रुञ्चेहाँसो दिवस ............हाम्रो बानी र हाम्रो देशको परिस्थिति अनुसारका दिवस त अझै कति बाँकी छन् कति । 

अन्तिम अपडेट: चैत ९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया