पोखरा प्रिमियर लिग : उपाधिका लागि विराटनगरलाई चितवनले दियाे २०३ रनकाे लक्ष्य

 पुस १२, २०७६ शनिबार १३:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ ।

चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको हो । पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा ठूलो लक्ष्य दिन सफल भयो ।

पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भए । ११ बल फेस गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरे ।

पारसपछि क्रिजमा आएका बाबर हायात भने धेरैवेर क्रिजमा टिक्न सकेनन् । बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल साहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितिवनको स्कोर १४० मा पुर्‍याएका थिए ।

यसबीचमा तेस्रो विकेटको रुपमा साह आउट हुँदा उनले अर्धशतक बनाएका थिए । ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाएका थिए । १४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भए ।

१९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगे । आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरे । त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए ।

करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोड्दा सन्नीले ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाए । विराटनगरका लागि पुनित मेहरा र मोहम्मद जइद आलमले दुई दुई विकेट लिँदा किशोर महतोले एक विकेट हात पारे ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया