थपिएको म्यादभित्र पनि नसकिने भयो दिपायल विमानस्थलको काम

 साउन ५, २०७५ शनिबार ६:४६:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल विमानस्थलको कालोपत्रेको काम तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । 

सँगै काम सुरु गरिएको अछामको साफेबगर विमानस्थलको निर्माण कार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दा समेत दिपायल विमानस्थलको निर्माण कार्य भने अझै अधुरो रहेको छ । 

२०५८ सालबाट बन्द भएको यो विमानस्थल पुनः सचालनका लागि काम सुरु भएको थियो तर दोश्रो पटक थप भएको समयमा पनि कालोपत्रेको कार्य भने नसकिने देखिएको छ । १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि साउन महिनासम्मका लागि म्याद थप हँुदा समेत दिपायल विमानस्थलको कालोपत्रेको कार्य पूरा हुन नसकेको हो । 

२०७३ साल कार्तिकमा काम सुरु गर्नु पर्ने भए पनि ढिलोगरी फागुनबाट मात्रै काम सुरु गरिएको थियो । अहिलेसम्म विमानस्थल कालोपत्रेको ६० प्रतिशत काम भएको दावी गरिएको छ तर अहिलेसम्म कालोपत्रे भने सुरु भएको छैन् । विमानस्थल निर्माण कार्यालयका इञ्जिनियर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले विभिन्न बहाना देखाउँदै काममा लापरबाही गरिरहेको बताउनुभयो । 

करिब चार सय ९० मिटर लम्बाईको धावनमार्गको कालोपत्रे गर्नका लागि झण्डै साढे ५ करोड बजेट विनियोजन गरिएको छ । डेढ दशक देखि ओझेलमा परेको विमानस्थल कालोपत्रे गर्ने योजना आएपछि डोटेली जनता खुशी भएका थिए तर निर्धारित समय सकिएर ६ महिनाको समय थप्दा पनि कालोपत्रेको कार्य सकिने छाँटकाँट नदेखिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘काम पहिले नै सकिनु पर्ने हो तर निर्माण व्यवसायीहरुले बिभिन्न बहाना बनाएर काममा ढिलाई गर्दा काम लम्बिएको हो ।’ लामो समयदेखि गौचरणमा परिणत दिपायल विमानस्थल सञ्चालनमा आए प्रदेश नम्बर ७ का पहाडी जिल्लाको आर्थिक समृद्धिसंगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

सँगै काम सुरु गरिएको अछामको साफेबगर विमानस्थलमा परिक्षण उडान हुँदा समेत दिपायल विमानस्थलको स्तरोन्नति देखि लिएर कालोपत्रेसम्म नहुँदा स्थानीयबासीहरु आक्रोशित हुन थालेको दिपायलका स्थानीय पुष्कर द्धारीयाले बताउनुभयो । ‘सँगै काम सुरु गरेको छिमेकी अछाम जिल्लामा जहाज आइसक्यो हाम्रो विमानस्थलमा काम नै सकिएको छैन’, उहाँले भन्नुभयो, ‘लापरबाही गर्ने निर्माण व्यवसायीलाई कसले कारबाही गर्ने ?’

चार सय ९० मिटर लम्बाइको धावनमार्गलाई स्तरोन्नति गरी एक किलोमिटर बनाउन पनि माग हुँदै आएको छ । जग्गा अधिग्रहणका लागि सहमति भए पनि यस अर्थिक वर्षको लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन नगर्दा यो योजना पनि अलपत्र पर्ने देखिएको छ ।

आफ्नै पहलमा विमानस्थलको काम सुरु भएको दावी गर्दै आएका प्रतिनिधिसभा सदस्य प्रेम आले मगरले विमानस्थलको स्तरोन्नतिका लागि बजेट आउने दावी गर्नु भएको स्थानियबासीहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया