‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन भव्य हुने

 पुस १३, २०७६ आइतबार १८:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आउँदो बुधबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १  अर्थात पुस १६ गते बुधबार भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ । 

भ्रमण वर्ष सचिवालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्नुहुनेछ । त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

यस्तै सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाइ सक्नुभएको छ । 

उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी प्रतिष्ठित सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ । 
उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रमका प्रस्तुत गरिनेछ । मन्त्री भट्टराईले यसअघि नै काठमाण्डौ उपत्यकाका स्थानीय जनप्रतिनिधिसँग छलफल गरेर आ–आफ्नो नगरका परिचय झल्किने झाँकी प्रदर्शन गर्न अनुरोध गर्नुभएको छ । 

भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार उद्घाटन समारोहमा करिब २ करोड खर्च हुने अनुमान गरिएको छ । भ्रमण वर्षको उद्घाटन समारोह हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको उद्घाटनजस्तै भव्य हुने संयोजक वैद्यको विश्वास छ । त्यसका लागि आवश्यक बजेट छुट्याइएको उहाँले जानकारी दिनुभएको छ । सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

भ्रमण वर्ष एक वर्षका लागि मात्रै होइन : पर्यटनमन्त्री भट्टराई

पर्यटनमन्त्री योगेश भट्टराईले ‘भ्रमण वर्ष २०२०’ को अभियान एक वर्षका लागि मात्रै नभएको बताउनु भएको छ । भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । 

‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर २०२० अन्तिम होइन, यो भ्रमण वर्षको शुरुआत हो’ उहाँले भन्नुभएको छ, ‘हामी एक दशकलाई पर्यटन दशकका रूपमा मनाउने अभियानमा छौँ । यस अवधिमा पर्यटकीय पूर्वाधारको कामलाई प्राथमिकता दिन्छौँ ।’   

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ । 

प्रदेश १ मा भ्रमण वर्षको उद्घाटन शहीद पार्कमा 

प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भ्रमण वर्ष कार्यक्रमको भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक योजना अघि बढाइएको प्रदेश १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

उद्घाटन समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति प्रस्तुति गरिनेछ । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धन समिति गठन र पूर्वाधारका काम पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । पर्यटन पूर्वाधारमा १ अर्ब ५१ करोड विनियोजन गरिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुसियतले जानकारी दिनुभयो । 

प्रदेश २ को तयारी 

पर्यटन वर्ष २०२० को तयारीका लागि प्रदेश २ को आठवटै जिल्लाहरुमा समन्वय समितिहरु गठन भएका छन् । समतिले आवश्यक तयारी गरिरहेको नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक मनिष झाले जानकारी दिनुभयो ।

प्रदेश २ ले पनि जनवरी १ मा विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ । 

प्रदेश ३ ले सीमा नाकामा पर्यटकलाई स्वागत गर्ने

प्रदेश ३ सरकारले भ्रमण वर्षको दिन चिनियाँ र भारतीय पर्यटकलाई सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ । 
रसुवा नाका, तातोपानी नाका, चितवन विमानस्थलमा आउने पर्यटकहरुलाई स्वागत कार्यक्रम गरिने प्रदेश ३ का मन्त्री अरुण नेपालले जानकारी दिनुभएको छ । प्रदेश सरकारले चितवनमा चलिरहेको हात्ती महोत्सवबाट नै भ्रमण वर्षको सुरुवात गर्ने योजना बनाएको छ ।

गण्डकी प्रदेशमा पनि भव्य उद्घाटनको तयारी 

गण्डकी प्रदेशले भ्रमण वर्षको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ । 

भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी छ ।

प्रदेश ५ मा ‘लुम्बिनी भ्रमण वर्ष’

प्रदेश ५ सरकारले पवित्र धार्मिक स्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरेको छ । 
लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर भ्रमण वर्षका कार्यक्रम सञ्चालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेश ५ ले पनि जनवरी १ मा विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ ।  

एक लाख पर्यटक भित्र्याउने कर्णाली प्रदेशको लक्ष्य

कर्णली प्रदेशले सन् २०२० मा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको योजना अघि बढाएको छ । 

कर्णली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाका अनुसार भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । प्रदेश सरकारले रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रे विहारलगायतका क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा तोकेको छ ।  

कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष शुभारम्भका दिन जनवरी १ मा कर्णालीका १० वटै जिल्लाका साँस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी गरेको छ । 

सुदूरपश्चिम प्रदेशको तयारी

सुदूरपश्चिम प्रदेशले भ्रमण वर्षको उद्घाटन जनवरी १ मा धनगढीमा रहेकोे संघीय प्रहरी इकाई मैदानमा गर्नेछ । 
उद्घाटन समारोहमा सुदूरपश्चिमको कला र संस्कृति झल्किन गीत तथा झाँकी प्रस्तुत गरिने सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले जानकारी दिनुभयो ।  

सीमान नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने सुदूरपश्चिम प्रदेशले योजना बनाएको छ । 

नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने तयारी छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया