इन्टरनेट महंगो हुँदाका ५ फाइदा  !

 साउन ५, २०७५ शनिबार ८:८:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

दिनरात फेसबुक, ट्विटर, इन्स्टाग्राम र अनेक सञ्जालमा झुण्डिने बानी परेकालाई खुच्चिङ ! खुरुखुरु कामधन्दा गर्न छाडेर खाली कम्प्युटर र मोबाइलमा इन्टरनेट चलाउनेलाई ठेगान लगाउन ईन्टरनेटमा लगाएको भ्याट र भ्याटको दायरा बढाउने सरकारलाई सलाम  !

अब इन्टरनेट महंगो भयो । जो पायो त्यसैले, जुनबेला चाह्यो त्यहीबेला इन्टरनेट चलाउन सक्दैन । खर्चले धान्न नसकिने भयो भनेर कतिले त बन्दै गर्लान् । कतिले पैसा अड्कलेर चलाउनै परेको बेलामा मात्रै इन्टरनेट खोल्लान् ।

इन्टरनेट धेरै चलाउन नपाउने भएपछि मान्छेले बल्ल काम पाउने भए । दिनरात आँखा झिमिक्क नगरी कम्प्युटर र मोबाइलमा झुण्डिनेहरुले काम पाएपछि बेरोजगारीको अन्त्य हुने भयो । सबै रोजगार भएपछि देशमा समृद्धि आउने भयो । इन्टरनेट किन्न बिदेसिने रकम बचत हुने भयो । 

भक्तपुरको बाढीमा गाडी गुडेका फोटो राखेर ल आयो पानीजहाज भनेर धेरैले फेसबुकमा फोटो राखे । सांसद महेश बस्नेतलाई कम्ता रिस उठेन । धन्न उहाँले संसदमा मात्रै रिस पोख्नुभयो । उहाँको कुरा सुनेर सरकारले फेसबुकमा पानीजहाज भन्ने सबैलाई थुनेको भए के हुन्थ्यो ?

 नेपालीको बानी सुधारेर नेपालमा आर्थिक समृद्धि ल्याउने महान उदेश्यले सरकारले इन्टरनेट महंगो बनाएको हो । यस्तो कुरा नबुझेर सबैले सरकारलाई गाली मात्र गरेका छन् । तपाईं पनि सरकारलाई गाली गर्दै हुनुहुन्छ भने चिन्ता गर्न छोडेर इन्टरनेट महंगो हुँदाका ५ फाइदा गम्भीर भएर बुझ्नु होस् । इन्टरनेट महंगो हुँदा देशलाई निम्नलिखित ५ वटा फाइदा हुनेछन् :

१.साइबर क्राइमबाट बचिन्छ

इन्टरनेट सस्तो भएर जसले जुनबेला पनि चलाउने भएकाले साइबर क्राइम बढेको छ । इन्टरनेट सस्तो भएकाले मान्छेले फेसबुकमा सस्ता कुरा लेख्छन्, सस्ता फोटा खिच्छन् र सस्ता पोष्ट गर्छन् । नेपालमा सबैभन्दा सस्तो कुरा सरकारलाई गाली गर्ने हो, किनभने सरकारका मन्त्रीले नेपालमा सबैभन्दा सस्ता भाषण गर्छन् । 

सरकारले गर्ने सस्ता भाषणलाई गाली गरेर फेसबुकमा जथाभावी टिप्पणी गर्नेहरु धेरै छन् । सरकारले अघि सारेका पानीजहाज, रेलको फोटो राखेर उडाउने र पुर्न नसकेका खाल्डा देखाएर सरकारलाई उडाउने काम इन्टरनेटबाट भैरहेको छ । 

भक्तपुरको बाढीमा गाडी गुडेका फोटो राखेर ल आयो पानीजहाज भनेर धेरैले फेसबुकमा फोटो राखे । सांसद महेश बस्नेतलाई कम्ता रिस उठेन । धन्न उहाँले संसदमा मात्रै रिस पोख्नुभयो । उहाँको कुरा सुनेर सरकारले फेसबुकमा पानीजहाज भन्ने सबैलाई थुनेको भए के हुन्थ्यो ? धन्न अहिलेसम्म सरकार चुप लागेको छ । यसरी फेसबुकमा सरकारलाई गाली गर्नेहरु कुनै दिन साइबर क्राइमको फन्दामा पर्न के बेर ? मान्छेहरु फन्दामा नपरुन् भनेर सरकार अहिलेदेखि नै सजग भएको हो । 

फेसबुकमा उडाउने कुरा मात्र हो र ? नेताहरुका फोटो जोडेर, बिगारेर जे पायो त्यही लेख्नेहरु पनि धेरै छन् । यस्तालाई पक्राउ र कारबाही गरेर मात्र साध्य लाग्दैन । यस्तो सस्तो कुरा लेख्ने र फोटो राख्ने कामको नै नियन्त्रण गर्न आवश्यक भैसकेकोले सरकारले जरामै बञ्चरो चलाएको छ । 

इन्टरनेट मंहगो भएपछि फेसबुक चलाउने कम हुन्छन् । फेसबुक चलाउने नै कम भएपछि सरकारलाई गाली गर्ने र नेताहरुको नाममा जे पायो त्यही लेख्ने प्रवृत्ति कम हुन्छ । साइबर क्राइम घट्छ र साइबर क्राइम नियन्त्रण गर्न खटिएका प्रहरीले दिनैपिच्छे मन्त्रीलाई सलाम ठोक्ने मौका पाउँछन् । 

२. जागिर जाने डर हुँदैन

हिजोआज सबै कार्यालयका कर्मचारीलाई फेसबुक चलाउने बानी भैसकेको छ । बिहान कार्यालय पुगेर कम्प्युटरमा फेसबुक हेरेपछि मात्र कमचारीको दैनिकी सुरु हुन्छ ।

धेरै कार्यालयमा त काम गर्ने अवधिभर फेसबुक चलाउन नपाइने नियम पनि छ । तर हाकिमको आँखा छलेर कर्मचारीले आफ्नो मोबाइलमा फेसबुक हेरेकै हुन्छन् । काम चोरेर र लुकीलुकी फेसबुक हेरेर दिन कटाएको हाकिमले थाहा पाए भने जागिर चट हुन सक्छ ।

अब इन्टरनेट महंगो हुने भएपछि यसरी काम चोरेर लुकीलुकी फेसबुक हेर्ने प्रवृत्ति पनि रोकिन्छ । कार्यालयमा फेसबुक हेर्ने प्रवृत्ति रोकिएपछि फेसबुककै कारण जागिर चट हुन पाउँदैन । धेरै कर्मचारीको जागिर जोगिन्छ । सबैलाई रोजगारी दिने र रोजगारीबाट हात धुनुपर्ने अवस्थाको अन्त्य गर्नकै लागि सरकारले इन्टरनेट महंगो बनाएको हो ।

३. श्रीमान–श्रीमतीको झगडा रोकिन्छ, सम्बन्ध विच्छेदको अन्त्य हुन्छ

इन्टरनेटका कारण घरघरमा झगडा बढेको छ । श्रीमान आफ्नो मोबाइलमा मस्त, श्रीमती आफ्नो मोबाइलमा व्यस्त । श्रीमानको गर्लफ्रेन्ड, श्रीमतीको ब्वाइफ्रेन्ड । सँगै बस्दा पनि श्रीमान यता फर्केर च्याट गर्छ, श्रीमती उता फर्केर च्याट गर्छे । 

‘हाई, हेलो, वा...उ, क्या क्युट, भोलि भेट्ने ल..’.दुवैले यस्ता कुरा गर्न थालेपछि कतिका घरमा मारमुङ्ग्री भैसकेको छ । श्रीमान–श्रीमतीबीच बोलचाल बन्द छ । फेसबुककै कारण कतिपय जोडीको सम्बन्ध विच्छेद भएको छ । यो सबै इन्टरनेट सस्तो भएका कारणले भएका घटना हुन् । 

अब इन्टरनेट महंगो भएपछि श्रीमान श्रीमतीले जथाभावी फेसबुक चलाउँदैनन् । पिठ्युँ फर्काएर अर्कोसँग फेसबुकमा कुरा गर्दैनन् । सम्बन्ध सुमधुर हुन्छ । परिवारमा खुशीयाली छाउँछ । दम्पतीहरु समयमै सुत्छन् । मायाप्रीति बढाउँछन् । समयमै बालबच्चा पैदा गर्छन् र हुर्काउँछन् । परिवारमा खुशी बढ्छ ।

खुशी सुखसित प्रत्यक्ष जोडिएको कुरा हो । खुसी र समृद्धि एक अर्काका परिपूरक हुन् । त्यसैले इन्टरनेट महंगो बनाउँदा पारिवारिक सुख बढ्छ र नेपालमा चाँडै समृद्धि बढ्छ ।  । 

४. कच्चा प्रेम बस्ने सम्भावना हुँदैन

हिजोआज फेसबुके प्रेम गाउँगाउँमा समेत मौलाएको छ । मान्छे देखेको हुँदैन, फेसबुकमा भएको राम्रो फोटो हेरेर उन्ले उस्लाई र उस्ले उन्लाई मन पराउँछ ।

च्याटमा एकअर्काका रमाइला कुरा सुनेर दुबैको मनमा प्रेम रस बग्न थाल्छ । प्रेमरस टाउकाबाट क्रमशः तल झर्दै गएपछि टाउकाले सोच्ने काम बन्द गर्छ । त्यसपछि कताको घर, कताको थर, सँगै जिन्दगी कटाउँदा के कति हुन्छ भर भन्ने केही सोच्दै नसोची फेसबुकबाटै माया बस्छ । बिहेसम्मको कुरा छिनोफानो हुन्छ ।

भेट हुने बेला उसलाई देखेर उनी छक्क, उनलाई देखेर उ छक्क । कहाँको फोटो, कहाँको मान्छे ! छेउटुप्पा कतै मिलेको हुन्न । हुनै लागेको बिहे भाँडिन्छ । 

मन पराएर बिहे नै भैहाल्यो भने पनि फेसबुके प्रेम फोटोमा वर्षिएको लाइक जस्तो दमदार हुँदैन । फेसबुकबाटै प्रेम भएर घरबार बिग्रिएका र अलपत्र परेका उदाहरण धेरै छन् । युवायुवतीलाई यसरी प्रेममा परेर अलपत्र हुनबाट जोगाउन र भविष्यमा हुनसक्ने पारिवारिक विखन्डन रोक्न सरकारले इन्टरनेट महंगो बनाएको हो ।

५. केटाकेटीको बानी सपार्छ

इन्टरनेटले ससाना केटाकेटीको पनि बानी बिगारेको छ । राम्ररी दूध चुस्न पनि नजानेको बच्चा इन्टरनेटमा गेम नहेरी भात खान मान्दैन । आमाले गेम देखाउँदै भात खुवाउँछिन्, बच्चा अघाएपछि त्यही मोबाइलमा फेसबुक चलाएर दंग पर्छिन् ।

स्कुले केटाकेटी इन्टरनेट चलाउन नपाउँदासम्म होमवर्क गर्दैनन् । बेलुका स्कुलबाट आएपछि पनि इन्टरनेट, बिहान स्कूल जान अबेर हुँदा पनि इन्टरनेट । बाबुआमा आफैं इन्टरनेटले बिग्रन लागिसके, छोराछोरी कसरी तह लगाउन सकून् ?

बाबुआमाले नसकेपछि कि छिमेकीले बच्चा तह लगाउन पर्यो, कि सरकारले । छिमेकीलाई पनि उही इन्टरनेटले बिगारेको छ । त्यसैले इन्टरनेट महंगो बनाएपछि बावुआमा, छोराछोरी र छिमेकी सबै एकसाथ सप्रिन्छन् भनेर सरकार यस शुभकार्यमा अघि सरेको हो । 

इन्टरनेट महंगो भएपछि घरघरमा अहिलेजस्तो गेम खेल्ने कम हुन्छन् । अनि विद्यार्थीको बानी पनि सप्रिन्छ । लेखपढमा ध्यान दिन्छन् । बाबुआमाले भनेको मान्छन् । यस्ता केटाकेटी असल हुन्छन् । यस्तै असल केटाकेटीले भोलि देश बनाउँछन् । अनि देशमा समृद्धि आउँछ, सबै सुखी र खुशी हुन्छन् ।

मैले सर्सती गम्दा तत्काल देखेका फाइदा हुन् यी पाँचवटा । तर सरकारले यस्का अरु धेरै फाईदा देखेको होला भन्ने म अल्पज्ञानीको बुझाई छ । इन्टरनेट महंगो हुँदाको फाइदा म जस्तो अल्पज्ञानीका दिमागमा त यति धेरै चढे भने तपाई बुझ्दै नबुझी सरकारलाई किन गाली गरेर समय खेर फाल्नुहुन्छ ?

इन्टरनेटमा खेर फाल्ने समय अब देश र नागरिकको भलो चाहने, नागरिकको दुःख हटाउन समृध्दिको बाटोमा दौडिन थालेको सरकारको जयगानमा खर्च गर्नुहोस् र अब भन्नुहोस् जय होस् सरकारको । जय होस् इन्टरनेटमा मूल्यबृध्दिको ! 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

2 Comments

  • RAJESH BK

    July 23, 2018, 3:16 a.m.

    अन्तिमको ५ बाहेक बाँकी ४ सबै सरासर झुठो छ , अबको जमानामा नेट सबैको पहुँचमा हुनुपर्छ / बिद्द्यार्थीको लागि त नेट भनेको संसार बुझ्ने विश्वबिद्द्यालय हो/ दुरुपयोग गर्नेहरु त फेसबुक चलाए पनि , जे गरे पनि गरिरहन्छन /सस्तो नेट हुनुले के के फाइदा हुन्छ , फाइदा लिन चाहने हरुका लागि त्यो बारेमा लेख्नुस , बरु अनि बल्ल तपाईंको मेहनत फाइदाजनक हुनसक्छ /

  •  0 Reply
  • Aayush Yadav

    July 21, 2018, 8:22 a.m.

    हाम्रो देश नेपालमा पेट्रोलको दाम बढेर ५०० रुपियाँ लिटर हुँदा त मान्छेहरुले गाडी चढ्न छोडेनन , अनि १३ % कर बढेर इन्टरनेटको प्रयोग कम होला र ? त्यसमाथि झन इन्टरनेको लत लागेको बेला /

  •  0 Reply

तपाईको प्रतिक्रिया