गजल गायनमा निशा देसार : त्यो प्रेमले यहाँसम्म पुर्‍यायाे

 साउन ५, २०७५ शनिवार ९:४६:२१ | दिलिप कुमार ज्याेति
unn.prixa.net

नेपाली सुगम संगीतमा बेलाबेला संगीत अनुरागी र संगीतकर्मीका रुची र चाहना अनुसार बिभित्र विधा सिर्जना भएका छन् । यीनै विधामध्ये युवापुस्ताको एउटा वर्गमाझ लोकप्रिय विधा हो ‘गजल’ । 

नेपाली साहित्यमा गजलको प्रयोग र प्रकाशन वि.सं १९४४ मा प्रकाशित नेपाली साहित्यका प्रथम गजलकार युवा कवि मोतिराम भट्टको कृति ‘संङ्गीत चन्द्रोदय’ बाट सुरु भएको पाइन्छ । 

मेहफिल होस वा रंगमञ्च, यूट्युब हुन् वा सामाजिक सञ्जालका भित्ता गजल प्रेमीहरुका लागि रदिफ, काफिया, बहर र नज्मसँग खेल्ने र यसको भावमा आफूलाई रंगाउने थलो भएका छन् ।

५० को दशकसम्म पनि नेपाली संगीतमा लुप्त नै रहेको यो विधा  ६० को दशकमा शिखरमा पुगेको थियो । देशव्यापी रुपमा गजलको लहर उर्लेको यो समय नेपाली गजल गायन र लेखनीको स्वर्णकाल भन्दा पनि अतिउक्ति नहोला । 

गजलमा निशा देसारको पाइला

तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ
दुनियाँको कामै यही हो जति जल्छन् जल्न देउ 
तिम्रो मेरो सम्बन्धको...

यो दशककै सबैभन्दा लोकप्रिय यो गजलले गायिका निशा देसारलाई एकाएक गजलको मेहफिलमा उत्रिन बाध्य पार्‍यो र गजलप्रेमीहरुको हृदयमा राज गरायो । 

२०६५ सालमा नेपालभाषाको गीततर्फ ‘इमेज अवार्ड’ हात पारेकी निशा केही आधुनिक र  लोक गीतहरुमा स्वर भरे पनि नेपालभाषीमाझ मात्र सीमित थिइन् । 

अनि युमाशले फेरि भने, ‘मेरी पत्नी हुन् उनी.....’ कुरा नसकिंदै गैरेले गुनासो गरे, ‘तपाईं र मेरो चिनजान  भएको यतिका समय भैसक्यो, अहिलेसम्म लुकाएर राख्ने यस्तो कुरा ? कस्तो मान्छे तपाईं । ल तुरुन्त भोलि निशाजीसँग भेट गराउनुस् ।’ 

२०६६ सालको रास्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा देवदत्त भट्टका शब्द र पूर्ण परियारको संगीतमा ‘छुटौँ भन्छौ छुट भैगो तिमी मेरो होइनौँ भने’ बोलको आधुनिक गीत गाएर प्रथम भएलगत्तै निशाको गायन यात्राको दायरा  केही फराकिलो भयो । 

कला, साहित्य र मनोरञ्जन विधामा कलम चलाउने पत्रकार युमाश शेर्पा (निशाका पति) को कलाकारहरुसँग राम्रो सम्बन्ध थियो । गैरे सुरेशसँगको एक भेटमा उनले सोधेका थिए ‘निशा देसारलाई चिन्नुहुन्छ ?’  

‘किन नचिन्नु, अहिले रेडियोको प्रतिष्पर्धामा फस्ट भएको रहेछ होइन’ सुरेशले भने ।

अनि युमाशले फेरि भने, ‘मेरी पत्नी हुन् उनी.....’ कुरा नसकिंदै गैरेले गुनासो गरे, ‘तपाईं र मेरो चिनजान  भएको यतिका समय भैसक्यो, अहिलेसम्म लुकाएर राख्ने यस्तो कुरा ? कस्तो मान्छे तपाईं । ल तुरुन्त भोलि निशाजीसँग भेट गराउनुस् ।’ 

गैरे त्यतिबेला गीतकार तथा गजलकार माधव ढकालको गजल संग्रह ‘चर्चा गजलको’ तयारीमा थिए । भोलिपल्टै निशा र युमाश सशस्त्र प्रहरी बलको कार्यालय हलचोकमा सुरेशलाई भेट्न पुगे । गैरेले मोबाइलमा रहेको गजल ‘तिम्रो मेरो सम्वन्धको चर्चा चल्छ चल्न देउ’  ‘मेल भ्वाइस’ (दिपक लिम्बूको स्वरमा रहेको)  सुनाउँदै निशालाई सोधे, ‘कस्तो लाग्यो ?’  

अहिलेसम्म स्लो र सफ्ट प्याट्रनका  गीतहरु मात्र गाएकी निशाले भनिन्, ‘ठिकठिकै लाग्यो ।’ ‘फिमेल भर्सन तपाईंको स्वरमा रेकर्ड गर्नुपर्छ है ?’ भनेर गैरेले भन्दा निशाले हुन्छ भनिन् । 

‘ए वान म्यूजिसियन स्टूडियोमा रेकर्डिङ मिति तय भयो । अभ्यास र तयारीबिनै स्टूडियोमै रहेको  हार्मोनियमको पर्दामा एक, दुईपटकको ‘प्राक्टिस’ पछि ‘रेकर्डिङ’ भएको थियो यो गजल । 

‘रेकर्डिङ बेलुका थियो । गजल गाएर घर त आएँ, तर के कस्तो गाएँ भन्ने कुरामै मन भुलिरहेको थियो । खाना खान पनि मन लागेन भोक, प्यास सबै बिर्सेको थिएँ, त्योदिन मैले । पछि मिक्सिङ भएर आउँदा आफैं छक्क परे ! यस्तो गाएको थिएँ र मैले भनेर ।’ निशाले भनिन् ।

कृष्णहरि बरालसँगको भेटले अर्को फड्को

६० को दशकको मध्यमा गजलको माहोल देशव्यापी थियो । बिदा र विशेष अवसरहरुमा गजल वाचन र गजल गायनको मेहफिल राम्रै जम्थे । राम्रा गजलकार र गजल मेहफिलसँग जोडिएका संगीतकर्मीहरुको माग बजारमा थियो । एफएमहरुमा गजलको ‘चार्म’ थियो । नेपाली सांगीतिक क्षेत्रमा गजल गायनका नयाँ–नयाँ स्वरुप देखा पर्दै थिए । यो भीडमा संगीतकार सुरेश गैरे  पनि थिए ।

गैरेका केही गजल बजारमा ‘हिट’ थिए । रेडियोतिर सुरेश जमिसकेका थिए । उनी जहाँ जहाँ पुग्थे ‘तिम्रो मेरो सम्वन्धको चर्चा चल्छ चल्न देउ’ गुञ्जिहाल्थ्यो । फिमेल भर्सन (निशाको पहिलो गजल) झनै ‘हिट’ भयो । 

रचनाकार डा.कृष्णहरि बराल र सुरेशको जोडी गजलमा जमेको जोडी थियो । गैरेले बरालसँग निशाको स्वरको बेलीविस्तार लगाए । बरालकै घरमा, निशा, सुरेश र बरालको जमघट भयो । निशाले आफ्नो गायकी सुनाइन् । सुरेशले ट्यूनिङ गरिसकेको ‘जमाना खराब छ’ गाउन लगाए बरालले । 

‘दुई–तीन लाइन गाएँ कस्तो मजा आयो । कस्तो छुट्टै किसिमको कम्पोजिशन के ।’ बजारमा चलेका गजलभन्दा भिन्न प्याट्रनको यो गजल अभ्यास गर्दा नै एकप्रकारको रोमाञ्चक भावको सञ्चार भएको बताउँछिन् निशा ।

‘ऐरेन्जर किरण कँडेल दाइले मेरो डमी भोकलमा रिदम र बिटको फ्रेम बनाउँदा नै एकदम राम्रो सुनिएको थियो । म आफै छक्क परेँ ! रेकर्डिङको दिन बराल सर पनि आउनुभयो । सुरेशजी हुनुहुन्थ्यो । एकदुई जना मिडियाका साथी पनि हुनुहुन्थ्यो । यत्ति मज्जा आयो कि ! यो गजल गाउँदा । बराल सर त यति खुसी हुनुभयो कि यस्तो गाउने मान्छे पनि छन् नेपालमा भन्नुभयो’ निशा सम्झनुहुन्छ । रेकर्डिङ सुनिरहेका सञ्चारकर्मीमाझ ‘हिट’ भैसकेको थियो यो गजल ।  

रेडियोमा प्रसारण हुनु अगाडि नै निशालाई यो गजलको बारेमा धेरैले सोधीखोजी गर्ने गर्थे । गजल बजारमा आयो, सबैको मन जित्यो । यो गजलले उनलाई छित्रलता प्रतिभा पुरस्कार र उत्कृष्ट गजल गायनतर्फ कालिका एफएम अवार्ड दिलायो ।

डा.कृष्णहरि बराल र सुरेशको जोडीले निशालाई गीत र गजलहरुको सोलो एल्बमको तारतम्य मिलाइदिए । संगीत उद्योगको ‘मुड’ बुझेका गैरेले बरालका एकल शब्दहरुमा आफ्नो मात्र संगीत नभई दिपक जंगम, शम्भुजित बाँस्कोटा, सुरेश अधिकारी र महेश खड्काको संगीतको पनि चाँजोपाँजो मिलाए । 

यसरी एउटा गजलबाट सुरु भएको निशाको गजल यात्रा गीत र गजलहरुको संग्रह ‘लोकार्पण’ सम्म आईपुग्यो र यस संग्रहमा रहेको ‘तिमी कुन जबानमा’, ‘सक्दिन म तिमी बिना’ जस्ता गजलले उनलाई गजल गायिकाको उपमा दिलायो ।

सबै विधामा दक्ष निशा गजलमा मात्र किन सीमित ?

संगीत अनुरागी, सञ्चारकर्मी र केही संगीतकर्मीहरुले निशालाई प्रायः गर्ने प्रश्न हो, गायनका सबै विधालाई न्याय गर्ने दक्षता हुँदाहुँदै पनि गजलमा मात्र किन सीमित ? यो प्रश्नको उत्तर निशासँग पनि छैन । गजलबाहेक कब्बाली फ्लेबरको ‘तिमी कुन जमानामा छौ’, रोमान्टिक फास्ट मूडको ‘लत लाग्यो’, ‘आफ्नैसँग रिस उठ्छ’ लगायत थुप्रै हिट नम्बर संगीत उद्योगलाई दिएकी छिन् उनले । 

गजल गायिकाको रुपमा नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुनु ठूलो उपलब्धि ठान्छिन् निशा । ‘पहिलो गजलले नै धेरै चर्चा बटुलेकाले संगीत अनुरागीहरुको मनमस्तिष्कमा गजल गायिकाको रुपमा बस्न सफल भएँ म, शायद । यस कुरामा म खुसी छु’ उनी भन्छिन् ।

निशाका गजलबाहेक अन्य विधाका गीतबारेमा संगीतकर्मीहरु के भन्छन् त ?

गैरे सुरेश

निशा हरेक विधाका गायनलाई न्याय गर्नसक्ने फुल प्याकेज हुन् । म्यूजिक सर्कल र पर्सनल्ली पनि डिसिप्लिन्ड छिन् उनी । शास्त्रबद्घ छ उनको गायन । संगीतको संस्कार राम्रोसँग विकसित भैनसकेको हाम्रो समाज, संगीत मनोरञ्जनको साधन मात्र हो भन्ने मानसिकताले पनि ग्रसित छ ।  यसले गर्दा राम्रा कलाकार छायाँमा परिरहेका छन । 

एउटा प्याट्रन बजारमा हिट हुनेबित्तिकै त्यही प्याट्रनका गीतहरु गाउन लगाउनेको लर्को लाग्छ । निशा ‘तिम्रो मेरो सम्वन्धको चर्चा चल्छ चल्न देउ’ र ‘जमाना खराब छ ’ जस्ता गजलबाट अगाडि आइन् । फेरि हाम्रो म्यूजिक इण्डस्ट्रि क्याटगोराइज्ड पद्धतिमा विश्वास गर्छ । त्यसैको मारमा परिन् उनी । गजलको  ट्याग भिराईयो । तर गजल गायिकाको उपमा पाउनु चानचुने कुरा होइन । 

सन्तोष श्रेष्ठ  

शास्त्रीय संगीतकोे ज्ञान र गीतको मर्मलाई राम्रोसँग बुझ्ने गायिका हुन् उनी । गीत गाउनु अगाडि त्यो गीतमा आफ्नो आवाज  सुहाउँछ सुहाउँदैन, त्यो गीतलाई मेरो स्वरले कत्तिको न्याय गर्छ, यो कुरा बुझ्छिन उनी । गीत गाईसकेपछि पनि त्यो गीत सुनेर कमी कमजोरी औंल्याउने, कम्पोजर र लिरिसिष्टसँग गीतबारे कुरा गर्ने बानी छ उनको । 

दीर्घकालीन गायनको पक्षमा छिन् उनी । एउटा गुणी कलाकारको लक्षण हो यो । कुरा रह्यो, गजलमा मात्र सीमित किन ? हाम्रो म्यूजिक इण्डस्ट्रिको एउटा नराम्रो पक्ष के छ भने  जुन विधाको गीत गायर हिट भयो त्यसैको ट्याग भिराउने । त्यही मारमा परेकी हुन् उनी । गजलबाहेक थुप्रै हिट गीतहरु छन् । सबै विधामा जम्न सक्ने क्षमता छ, उनको । उनको गलाको टेक्स्चर एकदमै राम्रो छ । एउटा छुट्टै पहिचान छ, उनको आवाजमा ।

सायमी हरि 

कब्बाली प्याट्रनको हिट नंबर ‘तिमी कुन जमानामा’ लागायत नेपाल भाषाका गीतहरु छन् निशासँग मेरो । शास्त्रीय संगीत सिकेर आएको, संगीतलाई बुझ्ने गायिका हुन् उनी ।

गायनका सबै विधामा स्वर चलाउन माहिर छिन् उनी । ‘गजलमा मात्र सीमित किन ?’ भन्ने कुरामा चाहिँ के लाग्छ भने हाम्रोमा गजल कुन, गीत कुन भनेर बुझ्नेहरुकै कमी छ अझै । फेरि जुन गीत हिट भयो त्यही प्याट्रनको मात्र अफर आउँछ । त्यही भएको हो उनको मामलामा पनि ।

जुगल डंगोल  

निशा भर्सटायल सिङ्गर हो । भ्वाइस टेक्स्चर एकदम राम्रो छ उसको । संगीत सिकेर आएको कलाकार हो उ । ‘गजलमा मात्र सीमित किन ?’ भन्दा, नेपालमा जे चल्यो त्यही फलो गर्ने चलन छ । त्यसैको शिकार भएकी हुन् उनी ।

एफएमले जुराएको निशाको प्रेम, विवाह र गायन 

न्हाकँद टोल, चापागाउँ ३, ललितपुरमा साधारण किसान परिवारमा जन्मे पनि निशा देसारले   सांगीतिक वातावरणमा हुर्कने अवसर पाइन् । काका प्रेमबहादुर देसार रेडियो नेपालमा भजन, लोक र आधुनिक गीत रेकर्ड गराइसकेका गायक । बाजे रामलाल टोलभरीमै कहलिएका उस्ताद । 

तर बिडम्बना काका प्रेमबहादुर युवा अवस्थामै परलोक भए । स्कुलका विभित्र सांगीतिक कार्यक्रममा सँगै लिएर हिँड्ने काका प्रेमबहादुरको असामयिक निधनले निशाको परिवार बाहिरको सांगीतिक सिलसिलामा पूर्णविराम लाग्यो र  सांगीतिक यात्रा केही घुमाउरो हुन पुग्यो । 

त्यसपछि निशाका लागि आफ्नो कला प्रस्तुत गर्ने एउटै मात्र माध्यम थियो एफएमका सांगीतिक कार्यक्रम ।  २०५७, ०५८ सालतिर थोरै एफ.एम थिए । सांगीतिक कार्यक्रममा फोन लागाएर गीत गाउन पाउनु पनि ठूलो कुरा हुन्थ्यो । 

पहिले भोकलको कम्पिटिशनमा सेलेक्ट भएपछि ट्र्याकमा फोनबाटै गीत गाउने र यसमा पनि छानिएपछि गीत रेकर्डिङकै मौका पाउने केही एफएम पनि थिए । एउटा कार्यक्रमको बिभिन्न राउण्ड पार गर्दै नेपाल भाषाको उपत्यकाव्यापी गायन प्रतियोगितामा भाग लिन पाउने अवसर निशाले पाइन् ।  यो प्रतियोगिताले अशोक राज आँसुका शब्द र दिलीप संगमको संगीतमा ‘तोता वम्हं यज्जु यात’ बोलको पहिलो (नेपाल भाषा) गीत रेकर्ड गर्ने मौका मिल्यो उनलाई ।

यता युमाश शेर्पा पनि एफएम कार्यक्रमका फ्यान थिए । उनी रुपा विमलको ‘जिन्दगीका पानाहरुमा’ कथा पठाउँथे । उनले निशाका क्रियाकलापलार्य नजिकबाट नियाली रहेका थिए । निशा भने अनभिज्ञ थिइन् ।

जयप्रकाश रिजालको कार्यक्रम ‘हार्दिक सुभेक्षा’मा निशाको लागि सन्देश पठाए युमाशले । निशाका सर्कलका साथीहरुले यो कुरा निशालाई बताए । कसले सन्देश पठायो भन्ने कौतुहलता छायो उनमा । जयप्रकाश रिजालसँग सोधेपछि युमाशले पठाएको पत्ता लाग्यो । उनले युमाशको फोन नम्बर मागिन् । 

युमाशले रुपा विमलसँग निशाको नम्बर मागेर उनलाई फोन गरे । एकअर्कामा परिचय भयो । युमाशले आफ्नो उमेर ४५ वर्षको बताए । फोनमा कुराकानीको सिलसिला चलिरहन्थ्यो । निशा युमाशलाई दाइ भन्थिन् । तर प्रत्यक्ष भेटघाटको अवसर भने जुरेको थिएन ।

०५८ सालमा निशा संगीत सिक्न डोरेमी संगीत पाठसाला पुगिन् । युमाश, गुरुदेव कामत र ईश्वर अमात्यको अन्तवार्ता लिने क्रममा त्यहीँ पुगेका थिए । निशा क्लास सकाएर फर्कने क्रममा थिइन् । ईश्वरले अन्तर्वार्ता अवधिभर निशालाई पर्खन अनुरोध गरे र युमाशसँग परिचय गराए । आवाजले युमाशले निशालाई चिनिहाले । 

फर्कने क्रममा युमाशले निशालाई आफ्नो परिचय दिए, ‘म युमाश’ । 

‘हो र ? म त अचम्म परें ! फोनमा ४५ वर्ष भन्नुहुन्थ्यो । उहाँसँगै एक जना फोटोग्राफर पनि हुनुहुन्थ्यो, सायद किरण शाक्य । उहाँ पनि हाँसिरहनुभयो कुरा सुनेर । त्यो दिन त्यत्तिकै भयो ।’ निशाले त्यो क्षण सम्झिन् ।

यसपछि यो जोडीको भेटघाट बाक्लिन थाल्यो । विभिन्न सांगीतिक कार्यक्रममा दुबै सँगै जान थाले । युमाश कला साहित्यतर्फका पत्रकारको नाताले उनको परिचय संगीतकर्मीमाझ राम्रै थियो । उनी  निशालाई सदैव सांगीतिक कार्यक्रममा सहभागी हुन प्रोत्साहित गर्थे । 

आज यहाँसम्म आइपुग्नुको श्रेय युमाशलाई दिन्छिन् निशा ।  एकवर्षको यो रमाईलो क्षण कसरी प्रेममा बदलियो दुबैलाई पत्तो भएन । अन्ततः युमाशले बिवाहको प्रस्ताव राखे । तर निशाको परिवार राजी थिएन । युमाश भाग्ने कुरा गर्थे, तर निशालाई मञ्जुर थिएन । 

युमाश आफै निशाको हात माग्न पुगे । लामो सम्झाई बुझाई पछि निशाको परिवार राजी भयो । २०५९ सालमा निशा र युमाशको लगनगाँठो कस्सियो । 

तीन सयभन्दा धेरै गीतहरुमा स्वर भरिसकेकी निशाले लोकार्पण (गीत र गजल ), शराब (गजल ), निशा (नेपाल भाषा ) र निशा आनन्द जस्ता ‘सोलो एल्बम’ नेपाली संगीतलाई पस्किसकेकी छन् । उत्कृष्ट गायनतर्फ तीन पटक इमेज अवार्ड, ०७० सालमा नेपाल भाषाको ‘दान्यहिरा’ पुरस्कार । ०७३ सालमा नारायण गोपाल युवा पुरस्कार र ०७३ सालमै फत्तेमान राष्ट्रिय युवा पुरस्कारद्वारा सम्मानित निशा अहिलेको संगीत बजारमा चलेको तडकभडक र अटो ट्यूनरको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्छिन् ।

‘मलाई त आजकल मेरो ब्ल्यान्क भोकल जस्तो छ त्यही सुन्न मन लाग्छ । इफेक्ट पनि चाहिंदैन बरु । अझ यो अटो ट्यूनर त सुरमा गाउन सक्नेको भोकलमा पनि हालेर गीत नै बिगार्दिन्छन्’ उनी भन्छिन् ।

भक्तराज आचार्य, फत्तेमान, नारायण गोपाल, मेहेन्दी हसन, गुलाम अली र चित्रा सिंह जस्ता कलाकारलाई सुन्न रुचाउने निशा युवा गायक गायिकामा अन्जु पन्त र मनोजराजको गायकी मन पराउँछिन् ।   
    


 

अन्तिम अपडेट: भदौ २०, २०७५

दिलिप कुमार ज्याेति

कला मनाेरञ्जनमा कलम चलाउने ज्याेतिलाई फेसबुकमा भेट्न सकिन्छ। 

 

तपाईको प्रतिक्रिया