आगलागीबाट बच्न अस्ट्रेलियाकाे तटीय क्षेत्रका हजाराैँ नागरिक समुद्री किनारमा पुगे

 पुस १५, २०७६ मंगलबार १२:११:१८ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलिया – अस्ट्रेलियाकाे तटीय क्षेत्रका हजारौँ नागरिक आगलागीबाट बच्न समुद्रको किनारमा पुगेका छन् ।

मंगलबार बिहान भिक्टोरियाको शहर मल्लकोटामा रहेको मानवबस्तीतिर आगो फैलन थालेपछि ज्यान जोगाउन भन्दै नागरिक समुद्री किनारमा पुगेकाे अन्तरराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

भिक्टोरियामा खाना, पानी र अरु सामाग्री पुर्‍याउन जलसेनाकाे जहाज बोलाउने तयारी भैरहेको खबरमा उल्लेख छ । यस्तै सिड्नी र मेलबर्न जोड्ने सडक पनि आगलागीका कारण बन्द भएका छन् ।

अहिलेसम्म आगलागीमा परेर १० जनाको ज्यान गएको छ भने ७ जना सम्पर्कविहीन भएका छन् । साेमबार न्यु साउथ वेल्समा आगो निभाउने क्रममा एक जना स्वयंसेवक अग्नी नियन्त्रकको ज्यान गएपछि सेप्टेम्बर यता आगलागीमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको हो ।

अहिले पश्चिमी सिड्नीको ठूलो भूभागसहित देशका सयभन्दा धेरै ठाउँमा लागेको आगोका कारण देशभरि नै तापक्रम बढिरहेको छ । केही महिनादेखि अस्ट्रेलियाकाे जङ्गलमा लागेकाे आगाे लु र तीव्र गतिकाे हावाकाे कारण झन् फैलिएकाे छ । 

अस्ट्रेलियामा जङ्गलमा लागेकाे आगाे समुद्रकाे किनारमा बसेकाे लोकप्रिय पर्यटक शहर मल्लकाेटसम्म पुग्दा त्यहाँ बिदा मनाउन आएका हजाराैँ पर्यटक र स्थानीय फसेका छन् । स्थानीय अधिकारीहरुका अनुसार आगलागीबाट मल्लकाेटमा मात्र चार हजार मानिस फसेका छन् । 

अधिकारीहरुले कैयाैँ दिनदेखि अस्ट्रेलियामा बिदा मनाइरहेका तीस हजार पर्यटकलाई इलाका खाली गर्न चेतावनी दिइरहेका छन् । यतिखेर अस्ट्रेलियाका धेरै इलाका आगलागीकाे चपेटामा परेकाे छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया