‘भुटानी राजाले भुटानबाट लखेटिएका नेपालीहरुसँग माफी माग्नुपर्छ’

भारतले चाहेको भए भुटानी शरणार्थी समस्या हल हुन्थ्यो

 साउन ५, २०७५ शनिबार ११:३३:१७ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

‘एक्सक्युज मि सर, क्यान आई ह्याभ युर अटोग्राफ प्लिज’ भन्दै ल्याण्ड ह्वेर आई फ्ली पुस्तक तेर्स्याएँ । उनले दुई पेज ढाक्ने गरी मेरा लागि अटोग्राफ लेखे – 

डियर उपेन्द्र, 
ग्रेट सिइङ यु 
इन्जोय द बुक
प्रज्ज्वल पराजुली । 

जयपुर साहित्य उत्सवमा भेट्नुभन्दा पहिले काठमाडौंमा उनीसँग सानो भेटघाट भएको थियो । अटोग्राफ लिइसकेपछि मैले उनलाई भने, ‘दाइलाई मैले काठमाडौंमा भेटेको थिए नि, आईएसीईआर कलेजमा ‘गुर्खाज डटर’को लन्चिङ कार्यक्रममा ।’

‘ह्या, अघि नै नेपालीमा किन नबोलेको त ?’ उनले भने । त्यति भनेपछि जयपुर साहित्य उत्सवमा दोस्रो पटक भेट भएका हामी दुईबीच कुराकानीको सिलसिला सुरु भयो । एउटा सेसन त सँगै बसेर विभिन्न महादेशका लेखकका कथा पनि सुनियो । त्यसपछि मैले उनीसँग ‘दाइ छोटो कुराकानी गरौँ है’ भनेर आग्रह गरेँ ।

‘आज अलि भ्याइन्न होला, भोलि है’, भने उनले ।  अर्को दिनका लागि हामी दुई कुरा गर्ने फिक्स गर्यौँ । लेखक र पत्रकारको रुपमा भन्दा पनि दाजुभाइको रुपमा प्रस्तुत भएका थियौँ हामी । विश्वभरका सयौँ लेखकले भरिएको जयपुरमा पुग्दा मन त रमाएको थियो । तर कोही पनि नेपाली नभेटकाले होला मन अलि खल्लो–खल्लो थियो । प्रज्जवल पराजुलीलाई भेटेपछि त्यो खल्लोपन त्यसै हरायो । 

त्यसपछि भुटानको ज्यादति सबैले अलिअलि गर्दै थाहा पाउँछन् । त्यसैले भुटान अलिअिलि गर्दै गल्दैछ । मैले त देखेको सबैभन्दा उत्तम उपाय भनेको भुटानले माफी माग्नुपर्छ । हामीले गल्ती गर्‍याैँ भनेर उनीहरुले स्वीकार गर्नुपर्छ । अहिलेको राजाले मैले गरेको होइन, मेरो बुवाले गल्ती गर्नुभयो भन्नुपर्छ  । पहिलाको राजाले पनि माफी माग्नुपर्छ । 

काम विशेषले लामो केही महिना सिक्किम बसेकाले पनि त्यहाँका मान्छे भन्नेबित्तिकै मनै फुरुङ्ग हुन्छ । त्यसमाथि सिक्किमकै लेखक, त्यो पनि नेपाली मूलका जसले विश्वमै चर्चा कमाइरहेका थिए । पहिलो कृति गुर्खाज डटरबाट नै चर्चा कमाइसको प्रज्जवल दोस्रो कृति ल्याण्ड ह्वेर आई फ्ली डायलन टमस प्राइजका लागि शर्टलिस्टमा परेपछि अझ बढ्यो । 

नेपाल, सिक्किम, भुटान र अमेरिकाको परिवेश भए पनि उनका दुवै पुस्तकमा हाम्रै कथा रहेका छन् । दुवै पुस्तकमा नेपाली र नेपाली डायस्पोराकै कथा समेटिएको छ । यीनै सेरोफेरोमा रहेर जयपुरमा पराजुलीसँग गरिएको कुराकानी :

गुर्खाज डटरलाई पश्चिमा ज्याकेट किन लगाइदिनु भएको ?

ए होइन, होइन, अझै पनि ‘गुर्खाज डटर’ को कुरा अहिलेसम्म पनि चर्चा गर्दा मलाई त लाजै मर्दो भइसक्यो । कहिले निस्केको ‘गुर्खाज डटर’ र ‘ल्याण्ड ह्वेर आई फ्ली’कै अहिलेसम्म नै चर्चा भैरहेको छ ।

कभरको कुरा गर्नुपर्दा भारतमा चाहिँ ‘गुर्खाज डटर’ चाहिँ अर्कै कभरमा प्रकाशित भएको थियो । सानी गोर्खाली बालिकाको भएको फोटो राखेर भारतीय प्रकाशन गृहले छापेको थियो । त्यसैलाई पश्चिमको प्रकाशनले खै किन अर्कै कभरमा छाप्यो । तर प्रकाशन भएको यति समयपछि पनि यीनिहरु रिप्रिन्ट भैरहेका  छन् । खैर रिप्रिन्ट नभए पनि केही छैन । दे आर डेड टु मि । बुझ्नुभो ?

तपाईँको पुस्तक त ‘डायलन टमस’ पुरस्कारका लागि पनि मनोनयन भएको थियो, होइन र ?

हो, मनोनयनमा परेको थियो तर गएको वर्ष म त्यही पुरस्कारको निर्णायक बनेको थिएँ । आफ्नो पुस्तक मनोनयनमा पर्नु र त्यही पुरस्कारको निर्णायक बन्न पाउँदा अर्कै अनुभूति हुँदो रहेछ ।

पुस्तक लेख्ने क्रममा नेपाल, भुटान, अमेरिका, भारतलगायतका परिवेश समेट्नु भएको छ । सबै ठाउँ पुग्नुभएको हो ?

अध्ययनका क्रममा म धेरै ठाउँमा पुगेँ । ठाउँठाउँ पुगे नि । तर एउटा रोचक प्रसंग छ । गुर्खाज डटर लेख्ने क्रममा मैले एउटा गल्ती गरेको छु । पुस्तकको पहिलो कथा छ ‘द क्लेफ्ट’ । त्यसमा एउटा प्रसंग छ नन्द भाउजूको । जहाँ काठमाडौंबाट बिर्तामोड जाँदै गरेका नन्द भाउजूको कथा छ तर त्यहाँ मैले गल्ती गरेको छु । 

मैले त्यहाँ उनीहरु गोदावरी भिलेज रिसोर्ट हुुँदै गए भनेर लेखेको छु तर मलाई थाहा थिएन गोदावरी भिलेज रिसोर्ट त्यो बाटोमा पर्दैन भन्ने । एक दुई जना समीक्षकले मेरो गल्ती औल्याइँदिए । अर्को संस्करणमा सच्याएँ ।

यो चाहिँ ठाउँको बारेमा थाहा नपाएर चिप्लिनु भएको हो ?

लेख्ने मान्छे चिप्लिन्छ । त्यस्तो हुन्छ । यु क्यान्ट राइट अ बुक विदाउट मिस्टेक । इफ यु क्यान, वन्डरफूल । बट आई डिडन्ट ।

प्रसंग बदलौँ । अहिले विश्वसाहित्यमा एसियाली, खासगरी दक्षिण एसियाली  लेखकहरुको दबदबा बढेको हो ?

निश्चय नै बढेको हो । नेपालमा  पनि उत्कृष्ट लेखकहरु छन् । एउटा कुरा के हो भने बाहिरको प्रकाशकहरुले चिन्न नसकेर मात्रै हो कि ? समग्र दक्षिण एसियाको कुरा गर्दा श्रीलंका, पाकिस्तान, भारत, बंगलादेशबाट धेरै पुस्तक आउँदैछ । मलाई लाग्छ, नेपाल र भुटानबाट पनि धेरै आउनु पर्ने हो । किनकी यी दुवै देशमा थुप्रै लेखक रहेका छन् । 

तर प्रज्जवलजी, हाम्रा लेखकहरुलाई एउटा नेटिभ इन्फरमेन्ट्सका रुपमा मात्रै काम गरेको आरोप पनि त लागेको छ नि ?

त्यो म मान्दिनँ । म एउटा लेखक हूँ । म स्टोरीटेलर हूँ । मेरो नेपाली कल्चर राम्रो छ । गज्जबको परम्परा छ । मिठो–मिठो खानाका परिकार छन् भन्ने मेरो काम होइन । त्यो पब्लिक रिलेसन ब्रोसरको काम हो । म पब्लिक रिलेसन ब्रोसर होइन ।

दक्षिण एसिया तथा अफ्रिकाबाट लेखिने साहित्यमा निराशावादी विषयवस्तुले बढी प्राथमिकता पाएको हो ?

त्यसलाई ठ्याक्कै त्यसरी त कसरी भन्ने ? कुनै मान्छेको जीवनमा खुशी नै खुशी हुन्छ भन्ने छैन । कथामा अलिकति नकारात्मकता त हुन्छ नै । जीवन हो, तलमाथि तलमाथि हुन्छ नै । मलाई लाग्छ हामीले माथिभन्दा तलको जीवनलाई बढी प्राथमिकता दिनुपर्छ । तर यसलाई निराशावादी वा आशावादी भन्नु भन्दा पनि लेखकले जे लेख्न मन परायो त्यही लेखेको हो । यो लेकखकीय स्वतन्त्रताको कुरा हो । 

दक्षिण एसियाली देशबाट विश्व साहित्य मञ्चमा पुग्न तपाईँलाई चाहिँ गाह्रो भएन ?

व्यक्तिगत रुपमा मलाई चाहिँ गाह्रो भएन । म एकदमै भाग्यमानी सावित भएँ किनकी एउटा सम्पादकले मरो पुस्तक मन परायो । उसले हामी यति पैसा दिन्छौँ अन्त सर्कुलेट नगर भन्यो । प्रकाशक पाउन मलाई गाह्रो भएन । त्योभन्दा मलाई लेख्न गाह्रो लाग्छ । लेख्ने कुरा एकदमै कठिन छ र मलाई मनै पर्दैन । 

नेपालबाट केही लेखक छन् विश्वसाहित्यमा तर चर्चा कम भएको हो ?

खै मलाई थाहा छैन । मलाई अचम्म लाग्छ । नेपालबाट राम्रा लेखक भएर पनि चर्चा हुन नसकेको हो कि । तर मलाई विश्वास छ चाँडै नै नेपाली लेखकहरुको ग्लोबल स्टेजमा चर्चा हुनेछ । मलाई आमा नेपालको बुवा भारतको भएकाले पनि अलि केही फाइदा भयो । 

नेपाली साहित्य उत्कृष्ट भएर पनि अनुवाद चाहिँ किन हुन नसकेको हो ?

होइन, नेपाली साहित्यका थुप्रै अनूदित कृतिहरु आइरहेका छन् । मञ्जुश्री थापा र प्रविण अधिकारीले इन्द्रबहादुर राईका कृतिको गज्जब अनुवाद गरेका छन् । 

तपाईँलाई अमेरिकामा पढेको एमएफएले पनि केही सहयोग गर्यो कि ?

छ्या गरेन हो । हाउडे गफ । कलेज पढ्दा मज्जा चाहिँ आयो । अरुलाई हेल्प गर्छ होला तर मलाई चाहिँ गरेन । त्यसै ५० हजार डलर खर्च गरेको हो । बुक डिल नपाको भए त्यो ५० हजार डलर धेरै मिस गर्ने थिएँ ।

तपाईँले चाहिँ तेस्रो कृति निकाल्ने सुर छैन ?

आउँदैन । सन् २०५० मा आउँछ अर्को पुस्तक । मैले केही लखेको छैन ।

२०५० मा ? 

हो, टु जिरो फाइभ जिरो । चार पाँच वर्ष भैसक्यो केही लेखेको छैन । म लेख्न इन्जोय नि गर्दिनँ । ट्राई पनि गरेको छैन । आई ह्याभ अ भेरी स्ट्रङ्ग सेन्स अफ् डेस्टिनी । जहिले टाइम आउँछ, तब लेख्ने ?

किन त्यस्तो त ?

आई डु नट बिलिभ इन डुइङ थिंग्स, आई डु नट इन्जोय । 

तपाईँले लेख्नु नै मेरो अन्तिम उद्धेश्य हो भन्नु भएको थियो कुनै अन्तर्वार्तामा ?

अहँ, मैले कहिल्यै त्यसो भनेको छैन । मलाई थाहा छ म राम्रो लेखक हूँ । तर म अचानक लेखन पेशामा आएको हूँ । मैले बरु एउटा अन्तर्वार्तामा मेरो तेस्रो पुस्तक कहिल्यै नआउन पनि सक्छ चाहिँ भनेको छु । 

यत्रो ग्याप राख्छु भनेको चाहिँ के कारणले ?

केही होइन, मलाई अल्छी लाग्यो । अहिले म धेरै यात्रा गरिरहेको छु । त्यसैले ।

लेखनको अलावा के गर्दै हुनुहुन्छ ?

कोही कोही बेला अमेरिकामा युनिभर्सिटीहरुमा पढाउँछु । वर्षमा ५-६ हप्ता पढाउँछु । अरु बेला ट्राभल नै हो । भर्खरै एउटा पुरस्कारको निर्णायक बनेँ । अहिले लेखेको छैन । दुई वर्षको बीचमा मेरो दुई वटा पुस्तक आएकाले पनि होल वर्ल्ड अर्को कहिले आउँछ भनेर सोचेको होला  । मैले होल वर्ल्ड भनेको चाहिँ मेरा पाठक भनेको हो है । मलाई थाहा छ होल वर्ल्डले पढ्दैन मलाई । पढ्यो भने राम्रै हो । 

‘गुर्खाज डटर’ चाहिँ नेपालीमा अनुवाद भयो ‘गोर्खाकी छोरी’को रुपमा ? ‘ल्याण्ड ह्वेर आई फ्ली’ चाहिँ गर्ने विचारमा हुनुहन्छ कि छैन ? 

‘गुर्खाज डटर’ आफै अनुवाद गर्न कस्सिएको थिएँ । एक पेज गरेको पनि हो तर खत्तम भयो अनुवाद ।  घर फोन गर्यो यो भनेको के हो भन्दै सोध्दा हैरान । त्यत्तिकै बुवामुवालाई तपाईँहरु अनुवाद गर्नुहुन्छ भनेँ । उहाँहरु प्रोफेसनल ट्रान्सलेटर त होइन, कुन्नि कहाँबाट रुचि जागेछ मलाई थाहा भएन । उहाँहरुले अनुवाद गर्नुभयो । नेपालय पब्लिेकशनले पुस्तक पनि निकाल्यो । उहाँहरुले एकदमै राम्रो काम गर्नुभयो । 

पुस्तकले राम्रो चर्चा पनि कमायो । १० हजार भन्दा बढी पुस्तक बिक्री भयो ।  इन्डियामा त त्यो उपलब्ध पनि छैन । नेपाली भाषा बोलिने भारतका विभिन्न ठाउँमा पाइने भएको भए त्यो अझै बिक्थ्यो होला । मेघालय, आसाम, मिजोरम, सिक्किम, दार्जीलिङ, हिमाञ्चल, देहरादूनलगायतका ठाउँमा राम्रै जान्थ्यो होला । भुटानमा पनि । यदि भुटानका नेपालीहरु डराएन भने । 

मैले ‘ल्याण्ड ह्वेर आई फ्ली’ अनुवाद गर्ने त भनेर सोधेँ तर बुवाआमाले भो नगर्ने त्यस्तो छाडा उपन्यास भन्नुभयो । ल नगर्ने भनेँ मैले पनि । प्रकाशकले अप्रोच त गरिरहेको छ, हेरौँ के हुन्छ ?

भुटानको प्रसंग निकालिहाल्नु भयो । भुटानी शरणार्थीहरुको जीवनलाई नजिकबाट नियालिरहनुभएको छ । अमेरिकामा आत्महत्याको औसत दरलाई हेर्दा भुटानी शरणार्थीको दर एकदमै माथि छ भन्नुभयो । त्यो चाहिँ किन नि ?

अब मान्छे २० वर्षसम्म शरणार्थी क्याम्पमा बसेपछि पागल हुँदैन ? अनि सबै खुशी भए अमेरिकाले लग्यो, अमेरिकाले लग्यो भन्छन् । त्यस्तो सजिलो कहाँ हुन्छ र ? अमेरिकाले कहाँ कुनामा लगेर राखिदिन्छ । भर्मोन्टको कुन बस्तीमा राखिदिन्छ, मेन वा मोन्टानाको कुन बस्तीमा राखिदिन्छ । ड्राइभिङ सिक्नुपर्छ । युवा पुस्ताले त सिक्ला रे ? ६०-७० वर्ष पुगेको बुढो मान्छेले कहाँबाट सिक्छ ? अनि पछिल्लो २० वर्ष केही नगरी बसेको छ । 

सबैले भुटानी शरणार्थी त क्या भाग्यमानी कति सजिलै अमेरिका पुगे भनेर सोच्छन् । कतिपयले उन्नति गरेका पनि छन्  तर धेरैको लागि चाहिँ यो कहालीलाग्दो छ । यो सबैको भुटानको देन हो । खै भुटानको राजाले यो के गरेको हो ?

यसका बारेमा ग्लोबल स्टेजमा न कसैले कुरा गर्छ, न कसैले लेख्छ । न्युयोर्क टाइम्समा एउटा आर्टिकल आउँछ, त्यो पनि पाँच वर्षमा एक पटक । 

अरु शरणार्थीको चर्चा हुन्छ  । तर भुटानी शरणार्थीको बारेमा चाहिँ सबै किन तैँ चुप मै चुप बसेका  ?

खै कसैलाई इन्ट्रेस्ट नै छैन । न भुटानमा तेल छ । अमेरिकालाई इन्ट्रेस्ट नै छैन । अर्को कुरा भुटान मुस्लिम राष्ट्र होइन ।

भुटानी शरणार्थीका बारेमा चाहिँ भारत किन नबोलेको ? शरण पनि नदिई नेपाल नै लखेट्नु पर्ने चाहिँ किन नि ?

त्यो मलाई थाहा छैन । खै भारतले यसो किन गरेको होला । भारतले आफ्ना छिमेकीलाई धम्क्याउँदै बसिरहेको छ । यो रिजनमा । त्यति बेला भुटानलाई भारतले केही भनेको भए त्यो समाधान पनि हुन सक्थ्यो । 

तर अरुलाई गाली गर्नुभन्दा पनि यो सबै भुटानको गल्ती होे । किन हामी भुटानको गल्तीलाई विश्वसामु ल्याउँदैनौँ । संयुक्त राष्ट्र संघमा किन उभ्याउँदैनौँ । मलाई त लाग्दैन भुटान संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । भुटानको पुराना राजा र सरकारले यसको जिम्मेवारी लिनुपर्छ ।  खै किन कसैले यसका बारेका आवाज नै उठाउँदैन । यो चाहिँ मलाई पनि अचम्म लागिरहेको छ ।

यसलाई अन्तर्राष्ट्रियकरण गरियाे भने भुटानले पुनर्विचार गर्छ कि ?

मलाई लाग्छ, भुटान बिस्तारै डराउँदै छ जस्तो छ । अहिलेका राजारानीले दसैँमा टिका लगाएको फोटो पब्लिसिटीकै लागि भए पनि सार्वजनिक गरेका थिए । अहिले उनीहरुलाई भुटानी शरणार्थीको दोस्रो पुस्ताबाट डर छ । किनकी उनीहरुले अमेरिकालगायतका देशका राम्रा विश्वविद्यालयमा पढिरहेका छन् । उनीहरु चुप लागेर बस्नेवाला छैनन् । उनीहरुले लेख्छन् यसका बारेमा, मान्छेहरुसँग कुरा गर्छन् । किनकी उनीहरुको घाउ ताजै छ ।

त्यसपछि भुटानको ज्यादति सबैले अलिअलि गर्दै थाहा पाउँछन् । त्यसैले भुटान अलिअिलि गर्दै गल्दैछ । मैले त देखेको सबैभन्दा उत्तम उपाय भनेको भुटानले माफी माग्नुपर्छ । हामीले गल्ती गर्‍याैँ भनेर उनीहरुले स्वीकार गर्नुपर्छ । अहिलेको राजाले मैले गरेको होइन, मेरो बुवाले गल्ती गर्नुभयो भन्नुपर्छ  । पहिलाको राजाले पनि माफी माग्नुपर्छ । 

यदि भुटानी शरणार्थी फर्कन चाहन्छन् भने उनीहरुलाई भुटान फर्किन दिनुपर्छ । मलाई लाग्छ धेरै त फर्कँदैनन् । 

भुटानै फर्किने वातावरण बन्यो भने त आफ्नो मातृभूमि त किन नफर्केलान् र ?

फर्कन्नन् होला हो । त्यस्तो ज्यादति र अत्याचार गरेको देशमा फर्कन गाह्रो छ । तर मैले कसैको पक्षमा बोलेको होइन नि ।

तर अहिले पनि भुटानमा नेपालीहरु छन् । सरकारी कार्यालयदेखि मन्त्रीहरु पनि छन नि होइन भुटानमा ?

छन्, तर सबै डराएर बसेका छन् । अलिकति वाइन वा बियर ख्वाइदिने भने सबै भन्छन् । तर सबै डराएर बसेका छन् । 

याे पनि हेर्नुहाेस् :

अन्तिम अपडेट: कात्तिक ९, २०७५

उपेन्द्रराज पाण्डेय

कला, साहित्य र संस्कृतिमा कलम चलाउने उपेन्द्रराज पाण्डेयलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

2 Comments

  • G B THAPA

    July 22, 2018, 6:36 a.m.

    खालि राजनीतिक असर हो , सबै नेता मिलेर इन्जोय , जनता मात्र मारमा , के गर्नु ?

  • babu krishna maharjan

    July 22, 2018, 6:28 a.m.

    फरक तर अति नै महत्वपूर्ण विषय र रोचक अन्तर्वार्ता /

तपाईको प्रतिक्रिया