नेपाली भूमिबाट भारतीय सेना हट्नुपर्छ : वरिष्ठ नेता नेपाल

 पुस १५, २०७६ मंगलबार १७:५७:० | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भूमिबाट भारतीय सेना हटाउन आग्रह गर्नुभएको छ ।

नेकपा हेटौँडा उपमहानगरपालिका भित्रका वडा कमिटीहरुको संयुक्त सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले कालापानी नेपालको रहेको भन्दै नेपाली भूमिमा रहेका भारतीय सेना हटाउनका लागि आग्रह गर्नुभयो ।

नेपाल भारत सीमाका ७० प्रतिशत पिल्लर मात्र बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘नाकाका अरु सबै पिल्लरहरु हटाइसकिएको छ । सीमा समस्या छ । तर, वार्ताबाटनै यसको निकास खोज्नुपर्छ ।’

राष्ट्रियताको पक्षमा प्रतिपक्षसँग मिलेर जान सकिने उहाँले बताउनुभयाे। पहिले देखिनै नेकपाको वर्चस्व रहेको स्थानमा उपचुनावमा हार बेहोरेकाले अब सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको नेता नेपालले प्रस्ट पार्नुभयाे। आफूहरु कसैको विरुद्धमा पनि गठबन्धन बनाएर नजाने बताउँदै उहाँले भन्नुभयो,‘हामी कसैका विरुद्धमा पनि गठबन्धनमा लाग्दैनौँ । राष्ट्रियताको पक्षमा सबैसँग मिलेर जान्छौ ।’

नेता नेपालले पार्टी विधिमा नचलेको आरोप लगाउँदै भन्नुभयो, ‘पार्टीलाई कसरी विधिमा राख्ने मेरो दिमागमा घुमिरहेको छ । पार्टीलाई देशकै ठूलो बनाउन विधिमा ल्याउन जरुरी छ ।’

पूर्व एमाले र माओवादी एकतालाई मिलाउन केन्द्र र जिल्ला कमिटीको संख्या ठूलो भएको उनले स्पष्ट पार्दै नेता नेपालले अब पार्टीमा प्रतिस्पर्धा गरेर कमिटीमा स्थान बनाउनु पर्ने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया