जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल

 साउन ५, २०७५ शनिबार १२:९:५ | रासस

मोरङ – उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले जुम्लामा डा. गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जुम्लामा डा. केसीलाई पक्राउ नगरी उहाँको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौं ल्याएको प्रष्ट पार्नुभयो । 

रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताउनुभयो । 

उहाँले पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तेस्तै ल्याउनुपर्ने माग अनुचित भएको बताउँदै संसद्मा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद हो भन्नुभयो । 

उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य विधेयक संसद्मा छलफल भई यसमा भएका समस्या समाधान हुनुपर्नेमा जोड दिँदै जननिर्वाचित संसद्मा विधेयकका बुँदामा आवश्यक संशोधन प्रस्ताव राखी छलफल प्रकियाबाट विधेयकमा रहेका विवाद टुंग्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

रक्षामन्त्री पोखरेलले स्वास्थ्य विधेयक सम्बन्धमा वार्ता गर्न वर्तमान सरकार खुल्ला रहेको बताउँदै यसलाई विधि र प्रकियाबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

एक प्रश्नको जवाफमा उहाँले डा केसीको अनशन जनताको हितका लागि गरिएको माग हो, भन्ने तर सरकारसँग उनीलाई छलफल गर्न नदिनु अधिनायकवाद सोचबाट ग्रस्त भएको मानसिकताको उपज हो भन्नुभयो । 

उहाँले डा केसीको अनसनलाई राजनीतिक स्वार्थबाट बचाउनुपर्नेमा जोड दिँदै विधेयकमा भएको त्रुटिलाई लोकतान्त्रिक ढंगबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया