चिनियाँ भाषाका लेबलिङ नहुँदा खाद्य सामग्री निर्यात ठप्प

 पुस १६, २०७६ बुधबार १६:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट खाद्य सामग्री निर्यात ठप्प भएको छ ।

नेपाली खाद्य सामग्रीको लेबलिङ चिनियाँ भाषामा हुनुपर्ने शर्त राख्दै चिनियाँ पक्षले निर्यातमा रोक लगाएको हो ।

चिनियाँ भाषामा मात्र लेबलिङ गरिएको खाद्य सामग्री नेपाली पक्षले फिर्ता गर्न थालेपछि चिनियाँ पक्षले पनि त्यही शर्त राखेको हो । नेपाली खाद्य सामग्रीको निर्यात गएको साउनदेखि रोकिएको छ । सामग्री निर्यात रोकिएको भए पनि नेपाली पक्षले उचित पहल गरेको छैन । 

चिनियाँ भाषामा मात्र लेखिएको सामग्री आएमा फिर्ता गर्ने गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । 

नेपाली खाद्य सामग्रीको विकल्पमा भारतबाट सामग्री जान थालेको व्यापारीले बताएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घिउको माग उच्च छ ।

साउनदेखि सामग्री निर्यात रोकिएका कारण भारतको सिक्किमबाट दाल र घिउ जाने क्रम बढेको व्यापारी मुकुन्द पौडेलले बताउनुभयो । साउन अघिसम्म दाल, घिउ, चाउचाउ, बिस्कुट, चिउरालगायतका सामग्री निर्यात भइरहेको थियो ।

रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आउनु अघिदेखि नै खाद्य सामग्री निर्यात हुने गरेको थियो । सडक निर्माण नभएको समयमा पनि मैदा, चिउरा, चिनी लगायतका सामग्री निर्यात भइरहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया