लमजुङमा अलैँची उत्पादन बढ्दाे : मूल्य घट्दाे

 पुस १७, २०७६ बिहिबार १४:३६:२२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - अलैँची खेती गर्ने किसानको संख्या बढ्नुका साथै अलैँची खेतीको क्षेत्र विस्तारसँगै लमजुङमा अलैँची उत्पादन बढ्दै गएको छ ।

‘अलैँची खेती गर्ने किसानको संख्या बढेको छ । अलैँची खेतीको क्षेत्र विस्तार पनि भएको छ । त्यसैले लमजुङमा अलैँची उत्पादन बढ्दो छ,’ नेपाल अलैँची व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले भन्नुभयो ।

उहाँका अनुसार अघिल्लाे वर्ष जिल्लामा झण्डै ९ सय हेक्टर क्षेत्रफल जमिनबाट ६ सय ५० क्विन्टल अलैँची उत्पादन भएको थियो ।

लमजुङमा यस वर्ष २ हजार क्विन्टल अलैँची उत्पादन भएको छ । ‘यस वर्ष लमजुङमा अहिलेसम्मकै बढी २ हजार क्विन्टल अलैँची उत्पादन भएको छ । जिल्लामा यस वर्ष १ हजार ५० हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको थियो,’ उहाँले भन्नुभयो ।

जिल्लामा उत्पादित अलैँची बिक्रीबाट यसवर्ष १२ करोड रुपैयाँ लमजुङ भित्रिएको उहाँले बताउनुभयो । गएकाे वर्ष लमजुङमा अलैँची बिक्रीबाट ५ करोड रुपैयाँ आम्दानी भएको थियो ।

उत्पादन बढ्दो, मूल्य घट्दो : किसान निराश

लमजुङका प्राय: सबै किसानले यस वर्ष उत्पादित अलैँची बिक्री गरिसकेका छन् । किसानले यस वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँदेखि ६ सय ४० रुपैयाँसम्म अलैँची बिक्री गरेका छन् । जिल्लामा अलैँची उत्पादन बढ्दै गए पनि अलैँचीको मूल्यमा गिरावाट आएसँगै किसान निराश बनेका छन् । गएकाे वर्ष किसानले प्रतिकेजी ६ सयदेखि ७ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए ।

अलैँची बिक्रीका लागि भारतको भर 

नेपालमा उत्पादित अलैँची सोझै तेश्रो मुलुक निर्यात हुन नसक्नु, अलैँची बिक्रिका लागि भारतको भर पर्नुपर्ने लगायतका कारणले पनि अलैँचीको मूल्य बर्सेनि घट्दै गएको छ ।

‘नेपालको अलैँची सिधै तेश्रो मुलुक जाँदैन, भारतको भर पर्नुपर्छ । भारतले अहिले आफ्नो उत्पादन बढाएको छ । आफ्नो अलैँची बिक्री गरेपछि मात्रै भारतले नेपालको अलैँची किन्छ,’ अजयले भन्नुभयो, ‘त्यसैले पनि नेपालमा उत्पादित अलैँचीको बजार मूल्य घट्दै गएको छ ।’

उहाँका अनुसार नेपालमा उत्पादित अलैँची भारत हुँदै बंगलादेश, साउदी, कतार लगायतका खाडी मुलुकमा पुग्छ ।

अन्तिम अपडेट: चैत १७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया