किन हाम फाले एकै परिवारका चार जना सेती नदीमा ?

 साउन ५, २०७५ शनिबार १४:४४:४८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमबहादुर बोहराकी श्रीमतीसहित २ छोरा र १ छोरीले सेती नदीमा हाम फालेका हुन् ।

बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीय छोरी राधिका बोहरा, ८ वर्षीया छोरा सुरेन्द्र बोहरा र ६ वर्षीय छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो । तर उनीहरुले किन सामूहिक रुपमा हाम फाले भन्ने कुरो भने अहिलेसम्म पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । ‘नदीमा हाम फाल्ने धौलीका श्रीमान बमबहादुरलाई हामीले शनिबार जिप्रका बोलायाैं’, डीएसपी धामीले भन्नुभयो, ‘उनीबाट पनि केही कुरा खुलेन्, हामीले अनुसन्धानको अर्को पाटो खोतल्दै छौं, त्यहाँबाट केही रहस्य निस्किन्छ कि ?’

‘कान्छो छोराको कान पाकेकोले उपचार गराउन अस्पताल लैजान्छु भनेर घरबाट श्रीमती हिँडेकी र जंगलमा गाई, बाख्रा चराई रहेकी जेठी छोरी र माइलो छोरोलाई पनि सँगै लगेर सेती नदीमा हाम फालेका रहेछन् । कान्छो छोरो बचेपछि मात्रै हामीले खबर थाहा पायौं’, धौलीका श्रीमान बमबहादुर बोहराले प्रहरी सामू बयान दिनुभएको छ ।

बोहराले आफूलाई श्रीमतीले ‘म बिरामी छु, घर आउनु भनेर भारतबाट १५ दिन अगाडि बोलाएको र घरमा कुनै पनि झै–झगडा नभएको’ हुँदा श्रीमतीले हाम फाल्नुको कारण आफूले पनि बुझ्न नसकेको प्रहरीमा बयान दिएको डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी धामीले बताउनुभयो ।

सेतीमा हाम फालेका मध्ये बमबहादुर बोहराका ६ वर्षीय छोरा सुनिल बोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर बिकले बचाउनुभएको छ भने अन्य तीन जना यो समाचार तयार पार्दासम्म बेपत्ता भएका छन् ।

‘किन परिवारका सदस्यहरुले सेती नदीमा सामूहिक रुपमा हामफाले भन्ने विषयमा गहन रुपमा छानबिन तथा अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो । उहाँले थप भन्नुभयो ‘बम बोहराका माइती पक्ष, बगेको बच्चा छोप्ने माझीसहित अन्य केही व्यक्तिलाई पनि सोधपुछका लागि बोलाएका छौं, घटनाको निक्यौल अवस्य निस्किन्छ ।’

जिल्ला प्रहरी कार्यालय डोटीले बेपत्ताको खोजी कार्य भने जारी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया