डा. केसीलाई काठमाडौं लगिएपछिको सुनसान अस्पताल र त्रसित बिरामी

 साउन ५, २०७५ शनिबार १६:२६:३७ | नेत्र शाही
unn.prixa.net

कुर्सी, टेबुल, सिसाका टुक्राहरु यत्रतत्र छरिएका छन् । भुईं पाउडरको जस्तै धुलोले भरिएको छ ।

आपतकालीन अवस्थामा प्रयोग गरिने ग्यास तथा पानीका मोटा पाइपहरु पनि अलपत्रै अवस्थामा छरिएका छन् । माथिल्लो तलामा जाने फलामका गेटहरु भाँचिएका छन् ।

झ्यालका सिसाहरु फुटेका छन् ।   

अनसनमा बसेका डा. गोविन्द केसीलाई बिहीबार काठमाडौं लैजाने बेला भएको झडपपछि  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल अझै पनि सुनसान छ ।

बिरामी र स्वास्थ्यकर्मीहरु त्रसित छन् । 

शुक्रबार अस्पतालको माथिल्लो तलामा पुग्दा अघिल्लो दिन घाइते भएका डा. केसीको उपचारमा खटिएका डा. सिद्धार्थ खाती तल झर्दै हुनुहुन्थ्यो । 

अहिले आफू केही बोल्न सक्ने अवस्थामा नरहेको भन्दै उहाँले कुरा गर्न सक्नुभएन । 

ओपीडी कक्षमा पुग्दा नर्सहरु पनि त्रसित देखिन्थे । बिरामीलाई झन् बढी डर छ । बेडमा सुतिरहेका बिरामी बिष्णुबहादुर भण्डारीकी श्रीमती गीताले अघिल्लो दिनको घटना सम्झनुभयो, ‘त्यस्तो कहालीलाग्दो झडप देखेर हामी पनि दौडेर जान पाए हुन्थ्यो जस्तो लाग्यो, तर बिरामी कसरी छोडेर बाहिर जाने भनेर घोप्टो परेर बेडमै बस्यौं ।’  

भर्ना गरिएका एक बालक गम्भीर

अस्पतालमा भर्ना गरिएका एक १० वर्षीय बालकलाई झडप हुँदा भित्र पसेको धुलोले श्वासप्रश्वासमा समस्या भएपछि रिफर गरिएको छ । 

तातोपानी गाउँपालिका लिताकोटका समन कार्कीलाई धुलोका कारण गम्भीर अवस्था भएपछि जुम्लाबाट बाहिर रिफर गरिएको एक नर्सले बताइन् ।

स्पतालमा झडप हँुदा भित्र पसेको नाइट्रोजन ग्यासले बच्चालाई श्वासप्रश्वासमा समस्या भएको हो । 

उनलाई अर्को बिरामीको अक्सिजनले बचाएको र निकै कठिन भएपछि बच्चालाई रिफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आगलागी तथा आपतकालीन अवस्थामा जोडिएका विभिन्न ग्यासका पाईपहरु प्रयोग गरिएपछि आएको धुलोले उकुसमुकुस भएको हो ।  

  

ठूलो क्षति हुनबाट जोेगियो अस्पताल   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ठूलो क्षति हुनबाट जोगिएको छ । मानवीय क्षति एकातिर बचेको छ । 

७६ करोडको नवनिर्मित भवनमा अक्सिजनका साधन वा कुनैमा केही समस्या भएको भए आगलागी हुन सक्थ्यो ।

उसो त ३ वर्षअघि प्रतिष्ठानको एक भवन जल्दा अहिलेसम्म दोषी पत्ता नलागेकोले प्रतिष्ठानले पीडा भोगिरहेको छ । 

त्यतिबेला त्यो भवनमा एक्सरे सहित करोडौंका उपकरणहरु जलेका थिए । बिहीबारको झडपमा त्यस्तो समस्या भएको भए भर्ना भएका र आपतकालीन बिरामीको अवस्था के हुन्थ्यो होला ? 

अस्पतालका कर्मचारी जय तिमिल्सेनाले भन्नुभयो, ‘मैले बत्ति ननिभाएको भए आगलागी हुने डर हुन्थ्यो, घटना भएपछि बत्ति निभाउन याद आयो ।’ 

मानवअधिकारवादीले जोगाए ज्यान  


दोहोरो झडप भैरहँदा मानवअधिकारकर्मी र पत्रकारहरु निशानामा पर्ने सम्भावना बढेको थियो । तर मानवअधिकारकर्मीले देखाएको साहसले धेरैको ज्यान जोगिएको अस्पतालका कर्मचारीले बताए । 

‘झडपमा एसएसपी ढलिसकेका थिए, माथिबाट विद्यार्थीको हुल आईसकेको थियो, मानवअधिकारवादी धनराज शाहीले सहजीकरण नगरिदिएको भए घटना ठूलो हुन सक्थ्यो’ तिमिल्सेनाले बताए । 

अस्पतालभित्र छिरेको प्रहरीलाई मानवअधिकारवादीकै पहलमा बाहिर पठाइएको थियो ।  

विद्यार्थीलाई ढालको रुपमा प्रयोग गरिएको दावी 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत कर्मचारीहरुको अधिकार र प्रतिष्ठानको हक हितका लागि स्थापना भएको स्वतन्त्र कर्मचारी संगठनले साउन ३ गतेको घटनामा विद्यार्थीलाई मानव ढालको रुपमा प्रयोग गरिएको आरोप लगाएको छ । 

कर्मचारी कल्याण समिति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रामाकान्त उपाध्यायले निकाल्नुभएको विज्ञप्तिमा प्रतिष्ठानका पदाधिकारी र केही व्यक्तिहरुको बालहठको कारण यस प्रतिष्ठानको भविष्यमाथि नै प्रश्न चिन्ह खडा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विद्यार्थी, कर्मचारीलाई मानव ढालको रुपमा प्रयोग गरी यो अवस्था ल्याइएको भन्दै पदाधिकारीले जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा माग गरिएको छ । 

दोषीलाई कारबाहीको माग 

प्रतिष्ठानका कर्मचारीहरुले  स्वास्थ्य संस्थाभित्र प्रहरीको बर्दी लगाएर स्वास्थ्यकर्मी, विद्यार्थी र कर्मचारीमाथि भएको ज्यादतिको छानबिन गरी कारबाही गर्न माग गरेका छन् । 

कर्मचारीहरुले निकालेको विज्ञप्तिमा प्रशासनले छानबिन गरी लिखित माफी नमागे सबै कर्मचारीले राजीनामा दिने चेतावनी समेत दिइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया