भारतले महली सागर बाँध बन्द गरेपछि नेपालीको ३ सय हेक्टर धानखेत डुब्यो

 साउन ५, २०७५ शनिबार १६:२८:२८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको महली सागर बाँधका कारण कपिलवस्तु जिल्लाको सीमावर्ती क्षेत्रका करिब ३ सय हेक्टर धान खेत डुबानमा परेको छ ।

सीमावर्ती क्षेत्रको महली सागर बाँधका १५ वटा सबै ढोकाहरु बन्द गरिएका कारण नेपालपट्टीको खेतीयोग्य जमिन डुबानमा परेको हो । यशोेधरा गाउँपालिकाको लोहरौली गाउँदेखि भारतीय सीमा क्षेत्रसम्म र सोही गाउँपालिकाको भगवानपुर गाउँदेखि पूर्व रंगपुर गाउँसम्मको खेतीयोग्य क्षेत्र डुबानबाट प्रभावित बनेको छ ।

 

डुबानका कारण कृषकहरुले समयमै धान खेती लगाउन नपाउने भएका छन् भने लगाएको धानबाली डुबानका कारण गलेर पूर्ण नष्ट भएको छ । भारतीय बाँधका कारण यशोधरा गाउँपालिकाको भगवानपुर, लोहरौली, मुडिला, भैसहिया, रंगपुर गाउँ र परसोहिया गाउँको करिब ३ सय खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ ।

वर्षभरि खेती गरेर परिवार पाल्ने धान खेत तालमा परिणत भएपछि सीमावर्ती क्षेत्रका नागरिक निकै चिन्तित बनेकोे स्थानीय कृषक टुंगनाथ बढईले बताउनुभयो । 

मसैया नालाबाट आएको पानीलाई भारतीय पक्षले सीमा क्षेत्रमा महलीसागर बाँधको निर्माण गरेर पानी रोक्न थालेपछि वर्षौदेखि कृषकहरुले डुबानको समस्या भोग्दै आएका हुन् । कृषकहरुलाई डुबानका कारण खेती गर्न पाउने नपाउने चिन्ता त छ नै, अझ बढी चिन्ता त रोपेको धान डुबानका कारण गलेर पूर्ण नष्ट हुँदाको छ ।

सीमा क्षेत्रमा देखिएको यस्तो समस्या समाधानका लागि आफूले आफूभन्दा माथिल्लो स्तरमा कुरा राख्ने र समाधानका लागि निरन्तर आवाज उठाउने यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेशकुमार पाण्डेयले बताउनुभयो । भारतीय पक्षबाट हरेक वर्ष जस्तै यस वर्ष पनि बाँध मर्मतका नाममा महली सागर बाँधको ड्यामको उचाई थपिँदै गएको छ । हरेक वर्ष भारतीय पक्षबाट यसरी बाँध मर्मत गर्दै जाने र उचाईं बढाउंदै जाँदा सीमावर्ती क्षेत्रका नेपाली कृषकको डुबान समस्या झन् बढेर गएको छ ।

यसका साथै जिल्लाको मायादेवी गाउँपालिका ८ स्थित बरकुल, बिजुवा, जमुनी, र हरिवंशापुर गाउँका कृषकहरुले पनि डुबानको प्रत्यक्ष मारमा पर्दै आएका छन् ।
जिल्लाको डुबान समस्याका बारेमा बुझ्न सांसद बृजेशकुमार गुप्ता, प्रदेशसभा सदस्य धरमबहादुर लाल श्रीवास्तवसहितको टोली डुबान स्थल पुगी डुबानको अवस्था अनुगमन गरेका छन् । सांसद गुप्ताले यो समस्या समाधानका लागि केन्द्र सरकार मार्फत प्रयास गर्ने बताएका छन् ।

यसै गरी प्रदेशसभामा कृषकहरुको डुबान समस्यालाई उठान गरी डुबान पीडित कृषकहरुलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याउन आफूले कृषकहरुका तर्फबाट खबरदारी गर्ने प्रदेशसभा सदस्य श्रीवास्तवले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया