पोलिथिनका कारण बच्याे गौराकाे ज्यान

 साउन ५, २०७५ शनिबार १७:२९:३५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बीच बाटोमा सुत्केरी हुन लागेकी १८ वर्षीया गौरा धामीको ज्यान देउपाल जप्रेलले बचाउनुभएको छ ।

छविसपाथीभेरा गाउँपालिका–७, कि धामी शुक्रबार बाटोमा नै सुत्केरी हुनु भएको हो । सुत्केरी ब्याथाले च्यापेपछि जिल्ला अस्पताल आउँदै गर्दा दुर्गाथली गाउँपालिका वडा नम्बर ७ को बगरखोलामा बेलुका बच्चा उहाँले बच्चा जन्माउनुभयो ।

सुत्केरी ब्याथा लागेर धामी छविसपाथीभेरा ७  मा रहेको मजखोरी बर्थिङ सेन्टरमा पुग्नुभएको थियो । अनमी चन्द्रकुमारी राईले बच्चा उल्टो र पेटमा २ वटा बच्चा रहेकोले उपचार हुन नसक्ने बताएपछि उहाँलाई जिल्ला अस्पताल रिफर गरेको धामीका आफन्तले बताउनुभयो ।

जीपबाट जिल्ला अस्पताल ल्याउने क्रममा रक्तश्राब बढी भएपछि गौरा पटक–पटक बेहोस हुनुभएको थियो । खोलामा जीप फसेपछि उहाँलाई झन समस्या भएको थियो । बर्खाको समय भएका कारण बाहिर पानी परेको र गाडी पनि फसेपछि सबै त्रसित भएको स्थानीय लोकराज दौल्यालले बताउनुभयो । 

त्यसै जीपमा लेकगाउँ स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट देउपाल जप्रेल हुनुहुन्थ्यो । दौल्यालले भन्नुभयो, ‘उहाँले गौराको विजोग देखेपछि आमालाई मात्रै भए पनि बचाउन सकिन्छ कि भनेर आमा बचाउन लाग्नुभयो’, ‘सुत्केरी गराउने औजार केही पनि थिएन । नजिकै खुद्रा व्यापारी करन दौल्याललको पसल थियो । त्यही पसलबाट प्लाष्टिक (पोलिथिन) ल्याइयो । त्यही प्लाष्टिक हातमा लगाई गौराको पेटबाट बच्चा निकाल्ने प्रयास भयो र अन्तमा गौरालाई बचाउन सकियो ।’ 

देउपाल जप्रेलका अनुसार एउटा बच्चाको पेटमा नै निधन भैसकेको अवस्थामा बाहिर निकाल्न सफल भएको र एउटा बच्चा भने जीवितै जन्मिएको थियो । ‘समयमा नै स्वास्थ्य संस्थामा नजाँदा र कलिलै उमेरमा विवाह गरी बच्चा जन्माएका कारण धामीको ज्यान समेत खतरामा रहेको थियो’, जप्रेलले भन्नुभयो, ‘धन्न भगवानले गौरालाई रक्षा गरेर केही नभएको र आमा सुरक्षित भएकी हुन् । मलाई समेत डर लागेको थियो । उमेर परिपक्क थिएन । पेटमा २ वटा बच्चा रहेछन । एउटा बच्चाको त झन पेटमा नै मृत्यु भैसकेको अवस्था रहेछ । जटिल ‘केस’ थियो । ब्लड जम्मै बगिसकेको थियो । केही पनि भन्न सकिने अवस्था थिएन । त्यसैले जीपमा नै सुत्केरी गराउने प्रयास गरियो । बेलुका ७ः३० बजेको समय थियो । सालनाल काट्ने औजार पनि थिएन । नजिकै पसल भएका कारण प्लाष्टिक र बिलेट ल्याएर बच्चाको नाल काटियो । आमा बेहोस थिइँन । त्यहाँबाट उनका आफन्तहरुलाई मेडिकलबाट सलाई पानी मगाएर ल्याउन लगाइयो र त्यही जीपमा नै सलाई पानी चढाएर गौराको ज्यान बचाइयो । गौराले नयाँ जीवन पाइन ।’

आफू त्यस जीपमा नभएको भए गौराको ज्यान र बच्चाको ज्यानका बारेमा केही भन्न नसकिने जप्रेलको भनाई छ । एउटा बच्चा मृत आए पनि एउटा बच्चा भने जीवित जन्मिएको छ । 

जिल्ला अस्पातलबाट भिडियो एक्स–रे नगरी फिर्ता गरेकोमा दुखेसो

जिल्ला अस्पतालमा एक हप्ता अघि मात्रै गौरा धामी भिडियो एक्स–रे गर्न पुग्नु भएको थियो । सदरमुकाम चैनपसरमा विद्युत नभएका कारण भिडियो एक्सरे नभएपछि आफूले भिडियो एक्सरे नै नगरी घर फिर्ता हुनु परेको गौराले गुनासो गर्नुभयो । तर करिब एक हत्ता अधिदेखि सुर्मादेवी विद्युत प्रालीको नहर भत्किँदा विद्युत सेवा अबरुद्ध भएको भन्दै एक्सरे नभएको अस्पतालले जनाएको छ ।

सामान्य उपचार पाउनै गाह्रो

नेपालको संविधानले प्रत्येक नागरिकलाई सुलभ स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा  सुनिश्चित गरेको भए पनि बझाङको हिमाली क्षेत्रमा पर्ने दुर्गाथली गाउँपालिको चुवावन र छविस पाथिभेरा गाउ“पालिकाको बुडखोरीका बासिन्दाहरु सामान्य उपचारको लागि ५ घण्टासम्म पैदल हिँड्नु पर्ने बाध्यतामा छ । गाउ“मा स्वास्थ्य सेवाका कुनै ईकाई नभएका कारण उनीहरु सिटामोलकै लागि घण्टौ पैदल हिँड्न बाध्य हुनु परेको हो । 

गाउँमा प्रसुति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको बुडखोरीका स्थानीयबासिन्दा जनक बोहराले बताउनुभयो । ‘कुनै महिलालाई सुत्केरी ब्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर बिसौना दौडाउनु पर्छ । भनेको बेला बोक्ने मान्छे पनि हुँदैनन’, स्थानीयबासिन्दा बोहोराले भन्नुभयो, ‘कतिपय बाटैमा बच्चा जन्माउँछन । कतिपयले बाटैमा ज्यान गुमाउँछन ।’

उहाँले नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउन–लैजान पनि सुत्केरी महिलाले धेरै लामो यात्रा गर्न बाध्य हुनुपरेको बताउनुभयो । खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण यहा“का कतिपय नागरिकले बच्चाहरुलाई खोप नै नलगाउने गरेको चुवावनकी शान्ती महतको भनाई छ ।

‘आउँदा–जाँदा दिनभरि लाग्छ’, महतले भन्नुभयो, ‘खोपको महत्व बुझेकाहरु त हिँडेरै गएर पनि लगाउछन । धेरै जसो अशिक्षित र नबुझेकाहरु अहिलेसम्म लगाइएन, अब लाएर के नै पो हुन्छ भनेर खोपै लगाउँदैनन ।’ उहाँले गाउँमै खोप केन्द्र भैदिएको भए कोही पनि बालबालिका खोप लिनबाट बञ्चित हुन नपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया