पहिरोमा चार जनाको ज्यान गयो

 साउन ५, २०७५ शनिबार १८:६:४० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ बयानामा पहिरोमा परि एकै परिवारका तीनजनासहित चार जनाको घटनास्थलमा नै  ज्यान गएको छ ।

घटनामा २ जना घाइते भएका छन् । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ बयानाकी ४५ वर्षीय उजलीदेवी थापा, उहाँकी ३२ वर्षकी बुहारी महेश्वरी थापा र महेश्वरीका ६ वर्षीय छोरा कृष्ण थापाको घटनास्थमा नै ज्यान गएको उद्धारका लागि घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले बताउनुभयो । 

त्यसै गाउँका २० वर्षीया मंगल थापाको पनि त्यही पहिरोमा ज्यान गएको वडा सदस्य प्रेमबहादुर थापाले बताउनुभयो । घटनामा परि त्यसै गाउँका ५ वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । गाउँ नजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसी रहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

घरबाट घाँस लिएर चौपाया भएको ठाउँमा जाँदै गर्दा शनिबार दिउँसो बीचमा पहिरोमा परि उनीहरुको घटनास्थलमा नै ज्यान गएको वडा सदस्य प्रेम थापाले बताउनुभयो । घाइतेहरुको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया