गाडीमा किन प्रयोग गर्ने कम्पनीकै पार्टपुर्जा ?

 पुस २१, २०७६ सोमबार १५:१८:५५ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ – गाडीको सबैभन्दा महत्वपूर्ण भाग नै यसको पार्टपुर्जा हो । पार्टपुर्जाले गाडीको मूल्य, सुरक्षा र लुक्सलाई निर्धारण गर्छ । त्यसैले, समयानुकूल गाडीको पार्टपुर्जाको सुरक्षाका लागि मर्मतसंभार गरिराख्नु पर्छ । कतिपय समयमा भने पार्टपुर्जा नै परिवर्तन गर्नुपर्ने हुन्छ । 

तर, प्राय सवारी धनीहरुले आधिकारिक कम्पनीको पार्टपुर्जा भन्दा पनि लोकल पार्टपुर्जाको प्रयोग गर्ने गर्छन् । यसले दुर्घटना निम्तिने संभावनालाई बढाउँछ । मूल्यका हिसाबले केही महङ्गो हुने भएता पनि आधिकारिक कम्पनीको पार्टपुर्जा लोकल पार्टपुर्जाको तुलनामा टिकाउयोग्य हुनेगर्छ । 

गुणस्तरीय हुने भएकाले यस्ता पार्टपुर्जाको प्रयोग गर्दा चारपाँग्रे/दुइपाँग्रे सवारी साधन सुरक्षित र भरपर्दाे बन्नेगर्छ । साथै, सवारीको आयुसमेत लम्बिने गर्छ । गाडीको उचित सदुपयोग र चाहेको परिणाम पाउनको लागि सवारी धनीले आफ्नो गाडी वा मोटरसाइकलको समयानुकूल परीक्षण र मर्मत सम्भार गर्नुपर्छ । 

परीक्षणको क्रममा कुनै पार्टपुर्जामा समस्या आएको भए तुरुन्त परिवर्तन गर्नुपर्छ । पार्टपुर्जाकाे छनौट गर्दा गाडीको अवस्थालाई विशेष ध्यान दिनुपर्छ । सवारी धनीसँग जुन ब्राण्डको गाडी हुन्छ, त्यही ब्राण्डको पार्टपुर्जा मात्रै छनौट गर्नुपर्छ । कम्पनीले ब्रान्ड अनुरुप फिट हुने गरी गुणस्तरीय पार्टपुर्जाको उत्पादन गरेको हुन्छ ।

परीक्षणबाट प्रमाणित यस्ता पार्टपुर्जामा कुनै समस्या आइहाले सम्बन्धित कम्पनीसँग सम्पर्क गर्न सहज हुन्छ । यस्ता पार्टपुर्जामा वारेन्टी वा ग्यारेन्टीको सुविधा दिइएको हुन्छ । जसको कारण समय अवागै समस्या आए कम्पनीले मर्मत गरिदिने वा फेरिदिने गर्छ ।

तर, लोकल पार्टपुर्जाको हकमा यस्तो सुविधा उपलब्ध हुदैन । पार्टपुर्जामा अपेक्षा अनुरुप काम गर्ने ग्यारेन्टी वा वारेन्टी समेत दिइँदैन् । साथै, कति समयसम्म टिक्छ भन्ने निश्चितता हुदैन । टिकाउको ग्यारेन्टी नहुने हुँदा ग्राहकले एउटै सामानको लागि बारम्बार पैसा खर्च गर्नुपर्ने हुनसक्छ । 

लोकल पार्टपुर्जाहरुको परीक्षण भए, नभएको र त्यसले आधिकारिकता पाए, नपाएको प्रष्ट नहुने हुँदा विश्वसनीय मान्न सकिँदैन् । तर, कम्पनीले नै दिएकाे  पार्टपुर्जामा आधिकारिकता दिइएको हुन्छ ।

आधिकारिक पार्टपुर्जा निश्चित मापदण्डमा निर्माण भएको हुन्छ । यस्ता पार्टपुर्जाले विशेष क्षमता र गुण बोकेको हुन्छ । तर, त्यस्तो क्षमता लोकलमा नहुने हुनाले यस्ता पार्टपुर्जाले गाडीका अन्य पार्टपुर्जालाई समेत असर गर्न सक्छ । जसले गर्दा गाडी र यात्रा दुबै असुरक्षित बन्न सक्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया