दोलखाको रोल्वालिङ उपत्यकामा हिउँ चितुवासहित ७ प्रजातिका संरक्षित वन्यजन्तु रहेको प्रमाणित

 पुस २०, २०७६ आइतबार २०:५१:२४ | उषा तामाङ
unn.prixa.net

दोलखा - दोलखाको उत्तरी रोल्वालिङ उपत्यकामा ७ वटा प्रजातिका संरक्षित वन्यजन्तु रहेको प्रमाणित भएको छ । गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नम्बर-९ मा रोल्वालिङ उपत्यकामा सञ्चालित क्यामेरा ट्रयापिङबाट उक्त तथ्य फेला परेको हो । 

दोलखा सदरमुकाम चरिकोटमा आइतबार पत्रकार सम्मेलन गरी विश्वमै दुर्लभ मानिने हिउँ चितुवासँगै ब्वाँसो, कस्तुरीमृग, रेडपाण्डा, डाँफे, मुनाल र आसामी रातो बाँदर गरी जम्मा ७ प्रजातिका संरक्षित जनावर रोल्वालिङ क्षेत्रमा रहेको देखिएका हुन् ।

रोल्वालिङ उपत्यकाका विभिन्न १२ स्थानमा बुसनल ट्रोफि क्याम नामक इन्फ्रारेड क्यामरा (फोटो, भिडियो) खिच्ने क्यामरा राखेर गरिएको अनुसन्धानका क्रममा त्यस क्षेत्रमा ब्वाँसो तथा रेडपाण्डाको तस्वीर पहिलो पटक खिचिएको आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

आयोजनाको उक्त क्षेत्रमा संरक्षित वन्यजन्तु ब्वाँसो पहिलो पटक यलुङ भन्ज्याङ, च्छारोल्पा हिमताल, दूधकुण्ड आसपासका क्षेत्रमा देखिएको हो । यसैगरी ना गाउँ क्षेत्रमा कस्तुरीमृग र बेदिङ–गो टाकुरा क्षेत्रमा रेडपाण्डा फेला परेको छ । संरक्षित पंक्षीमध्ये राष्ट्रिय पंक्षी डाँफे गौरीशंकर बेसक्याम्प र बेदिङ–गो क्षेत्रमा फेला परेको छ ।

विश्वमै दुर्लभ मानिने हिउँ चितुवा फेला

यसैबिच रोल्वालिङ उपत्यकामा पनि हिउँ चितुवाको उपस्थिति आधिकारिक रुपमा प्रमाणित भएको छ । विश्वमै दुर्लभ मानिने हिउँ चितुवा रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमताल क्षेत्रमा रहेको प्रमाण फेला परेको हो । स्वचालित रुपमा चल्ने क्यामेराले रोल्वालिङ क्षेत्रमा २०७६ असार १५, भाद्र २२ गते र भाद्र २६ गते गरि ३ पटक वयस्क हिउँ चितुवाको तस्बिर खिचेको छ । यस अघि दोलखाको लप्चि उपत्यकामा पनि हिउँचितुवाको उपस्थिति रहेको पाइएको थियो । 

हिउँ चितुवामध्ये एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई अन्तर्राष्ट्रिय संरक्षण संघले समेत दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरेको छ । हिउँ चितुवा विश्वमा १० हजारभन्दा कम संख्यामा जीवित रहेको अनुमान छ भने नेपालमा ३ सय देखि ५ सय रहेको अनुमान गरिएको छ । 

नेपालको कञ्जनजंघा, मकालु वरुण, सगरमाथा लाङटाङ, मनासलु, अन्नपूर्ण, शे फोक्शुण्डो, ढोरपाटन, अपिनाम्पा क्षेत्र लगायतका हिमाली क्षेत्रहरुमा हिउँ चितुवाको उपस्थितिको रेकर्ड गरिएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत “जैविक विविधता अध्ययन अनुसन्धान” शीर्षक अन्तर्गतको यो कार्यक्रमबाट रातो फ्याउरो, झारल, घोरल, थार, मलसाप्रो, पितोदर मलसाप्रो लगायत गरी १५ विभिन्न प्रजातिका स्तनधारी जनावर, चिलिमे, हिउँ कुखुरा, हाडफोर लगाएत गरी १२ प्रजातिका चरा फेला परेका छन् ।

रोल्वालिङ उपत्यकामा २०७६ जेठदेखि २०७६ कार्तिक महिनासम्म स्वचालित क्यामरा जडान गरिएको थियो ।

यो उपलब्धि सँगै अब दोलखा जिल्लालाई हिमचितुवा, रेपाण्डा र कस्तुरी मृगको जिल्लाको रुपमा परिचित गराउन सकिने गौरिशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो । 

दोलखाको प्रमुख पर्यटकीस्थल रोल्वालिङ उपत्यका वन्यजन्तु, प्राकृतिक झरना, हिमनदी, हिमताल तथा पर्वतारोहणको अभ्यासका लागि प्रसिद्ध छ । बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले उक्त उपत्यकामा मांशजन्य उत्पादन शिकार तथा बली विक्री वितरण तथा उपभोग पुर्णरुपमा बन्देज रहेको छ । 

तस्बिर सौजन्य : गौरिशंकर संरक्षण क्षेत्र आयोजना

अन्तिम अपडेट: चैत ११, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया