जेएनयूमा नकाबधारी समूहले विद्यार्थी कुटे, कैयौँ घाइते

 पुस २०, २०७६ आइतबार २३:३६:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – दिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा आइतबार साँझ जेएनयू छात्र सङ्घकी अध्यक्षमाथि आक्रमण भएको छ । 

यो आक्रमण जेएनयू क्याम्पस हाताभित्र भएको हो । सञ्चारमाध्यमका अनुसार नकाब लगाएका आक्रमणकारीहरुले होस्टलसम्म पुगेर आक्रमण गरेका थिए । 

प्रत्यक्षदर्शीले जेएनयू हाताभित्र ५० भन्दा बढी मानिस जबरजस्ती छिरेको बताए । उनीहरुको हातमा लाठी र धेरैले आफ्नो अनुहारमा नकाब लगाएका थिए । क्याम्पसभित्र छिर्ने बित्तिकै उनीहरुले विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ । 

यो आक्रमणमा कैयौँ विद्यार्थी घाइते भएका छन् । दिल्ली सरकारले जेएनयू क्याम्पसमा घाइते भएका विद्यार्थीलाई सात वटा एम्बुलेन्समा अस्पताल पठाइएको बताएको छ । 

दिल्ली प्रहरीले जेएनयूको मुख्य प्रवेशद्वारमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । उता छात्रहरुका केही समूह आईटीओमा रहेको दिल्ली प्रहरी मुख्यालय घेराउ गर्न पुगेका छन् । 

यो घटनालाई लिएर गृह मन्त्री अमित शाहले दिल्ली प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया