विश्वविद्यालयमा भएको आक्रमणको विरोधमा दिल्ली र मुम्बईमा रातभर प्रदर्शन

 पुस २१, २०७६ सोमबार ६:२४:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा होस्टेल फीको मुद्दालाई लिएर आइतबार साँझ भएकाे विवाद हिंसात्मक झडपमा बदलियो । 

यस क्रममा ठूलो सङ्ख्यामा नकाबधारी समूहले हातमा लाठी लिएर विश्वविद्यालय हाताभित्र घुसेर विद्यार्थी कुटे र वाहनमा पनि क्षति पुर्‍याए । साबरमती होस्टेल लगायत अन्य भवनमा पनि तोडफोड भयो । 

आक्रमणकारीहरुले शिक्षकलाई पनि छोडेनन् । कुटपिटमा छात्र सङ्घकी अध्यक्ष आइशी घोष गम्भीर घाइते हुँदा अन्य ३० जना विद्यार्थी पनि घाइते भए । उनीहरुलाई एम्स अस्पतालमा भर्ना गरिएको छ । 

आइतबार साँझ भएको घटनालाई लिएर रातभर जेएनयू, एम्स, दिल्ली प्रहरी मुख्यालयको बाहिर प्रदर्शन भयो । मुम्बईमा पनि ठूलो सङ्ख्यमा मानिसहरुले जेएनमयूमा भएको हिंसाविरुद्ध रातभर प्रदर्शन गरे । 

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा आइशी घोषको शिरबाट रगत बगिरहेको देख्न सकिन्छ । भिडियोमा उनले भनेको सुनिन्छ, ‘मास्क लगाएर आएका मानिसहरुले मलाई नराम्री पिटे । म कुरा गर्न सक्नेसम्मको अवस्थामा पनि छैन ।’ 

जेएनयूले पनि आक्रमणकारीहरुले ढुङ्गा प्रहार गरेको, छात्रवासमा छिरेर छात्रहरुको साथै कैयौँ शिक्षकमाथि पनि कुटपिट गरेको बताएको छ । 

विश्वविद्यालय हाताभित्र भएको हिंसात्मक झडपलाई लिएर देशका शीर्षस्त नेताले प्रतिक्रिया दिएका छन् । काङ्ग्रेस नेता राहुल गान्धीले आइतबार साँझ भएको हिंसालाई लिएर निराशा व्यक्त गर्दै भनेका छन्, ‘नकाबधारी समूहले जेएनयूका छात्र र शिक्षकमाथि कुटपिट गरेको घटना ‘हाम्रो देशलाई नियन्त्रित गरिरहेको फासीवादी शक्तिको डर लाग्छ ।’

त्यस्तै, काङ्ग्रेस नेतृ प्रियङ्का गान्धीले मोदी–शाहको गुण्डाहरुले विश्वविद्यालयमा उपद्रो मच्चाएको आरोप लगाएकी छिन् । उनले ट्वीट गर्दै भनिन्, ‘विद्यार्थीमा भय फैलाउने काम भइरहेको छ । भविष्यको तयारीमा लाग्नुपर्ने विद्यार्थी हिंसा झेलिरहेका छन् ।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो आक्रमणको निन्दा गरेका छन् । जेएनयूमा भएको हिंसाको खबर सुनेर आफू हैरान भएको उनले प्रतिक्रिया दिए । ‘छात्रमाथि निर्मम तरिकाले आक्रमण गरिएको छ । विश्वविद्यालय नै सुरक्षित छैन भने देश कसरी अघि बढ्छ ?’, उनले ट्वीटमा भने । 

घटनालाई लिएर गृह मन्त्री अमित शाहले जाँच गर्न निर्देशन दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया