हप्तामा चार दिन र दैनिक ६ घण्टामात्र काम

 पुस २१, २०७६ सोमबार २१:१७:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले हप्ताको चार दिन र दैनिक ६ घण्टामात्रै काम गर्ने प्रस्ताव अघि सारेकी छिन् । 

फिनिस (फिनल्याण्डका नागरिक) ले हप्तामा आरामपूर्वक काम गर्न सकून् र परिवारसँग धेरैभन्दा धेरै समय बिताउन सकून् भनेर प्रधानमन्त्री मरिनले यस्तो प्रस्ताव ल्याएकी हुन् । 

‘मलाई विश्वास छ मानिसहरुले आफ्नो परिवार, आफ्नो प्रियजन, खास व्यक्तिसँग र जीवनमा आफूले चाहेको जीवनको अन्य सांस्कृतिक पक्षमा धेरै समय बिताउन पाउनु पर्छ’, पाँच दलको गठबन्धनको सरकारको नेतृत्व गरिरहेकी मरिनले भनिन् । 

आफू आबद्ध दल सोसल डेमोक्रयाटिक पार्टीको १२०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कामकाजी समयको नयाँ तालिकाको व्यवस्था ल्याउन लागेको बताइन् । सन् २०१९ को डिसेम्बर महिनामा उनलाई पार्टीले फिनल्याण्डको प्रधानमन्त्री बनाएको थियो । 

३४ वर्षीया मारिन विश्वकै कान्छी उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । उनको नेतृत्वमा बनेको गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् । त्यसमा चार जना ३५ वर्षभन्दा कम उमेरका छन् । 

‘फिनल्याण्डका नागरिकले कम समय काम गर्नु नकै महत्वपूर्ण छ । यो सरकारको महिलावादी शैली नभइकन मतदातालाई सहयोग र विश्वास हो’, उनले भनिन् । उनी यातायात मन्त्री हुँदा पनि कमदारहरुले कम समय काम गर्न पाउने व्यवस्थाको पक्षमा वकालत गरेकी थिइन् । 

फिनल्याण्डमा अहिले हप्ताको पाँच दिन दैनिक आठ घण्टा काम गर्नु पर्ने प्रावधान छ । सन् १९९६ मा आएको ‘वर्किङ्ग आवर प्याक्ट’ ले फिनिस नागरिकले तीन घण्टाअघि र पछि काम सुरु गर्न र सक्न पाउँछन् । 

फिनल्याण्डको छिमेकी राष्ट्र स्वीडेनमा भने सन् २०१५ देखि नै दैनिक ६ घण्टा काम गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको छ । यो काम गर्ने समय तालिकाले स्वीडेनीहरु खुशी, धनी र वस्तुको उत्पादनमा पनि वृद्धि भएको देखाएको छ । साथै उपभोक्ताहरुले पनि आफूहरु खुशी भएको प्रतिक्रिया दिएका छन् । 

माइक्रोसफ्ट जस्तो कम्पनीले हप्तामा कम समय काम गर्ने व्यवस्थाको अभ्यास गरिसकेका छन् । सन् २०१९ को अगस्टमा माइक्रोसफ्ट कम्पनीले जापानमा २ हजार ३ सय कामदारलाई एक महिनामा हरेक हप्ता छुट्टी दिएको थियो । जसका कारण ४० प्रतिशत उत्पादना वृद्धि भएको थियो । 

केही विज्ञहरु पनि हप्तामा कम समय काम गर्ने व्यवस्था लागू गर्दा वातावरणमा पनि फाइदा पुग्ने बताउँछन् । वर्ल्ड इकोनोमिक्स फोरमका एजेण्डा योगदानकर्ता पनि हप्तामा चार दिन काम गर्ने व्यवस्थाले ग्रहलाई जोगाउन केही हदसम्म सहयोग पुग्ने विश्वास गर्छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया