ठेकेदारको एउटै स्वर– सरकारकै कारण काममा अप्ठ्यारो

 जेठ १०, २०७५ बिहिबार १०:४५:५४ | किरण लोहनी
unn.prixa.net

समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने तयारी गरिरहँदा निर्माण व्यवसायीहरुले भने तोकिएको समयमा काम गर्न नसक्नुको दोष सरकारलाई नै दिएका छन् । सरकारकै कारण समयमै काम नसकिएको दावी गर्दै उनीहरुले कारबाहीको धम्की दिएर सरकारले आफूहरुलाई आतंकित पारेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा गोरखाका निर्माण व्यवसायी र जिल्लामा काम गरिरहेका अन्य व्यवसायीले नदीजन्य पदार्थको अभावका कारण काम गर्न अप्ठ्यारो परेको बताएका हुन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत आरुघाट निवेल खण्डको काम गरिरहेका व्यवसायी सूर्यबहादुर खड्काले अन्य जिल्लाको तुलनामा गोरखामा नदीजन्य पदार्थ संकलनमा कडाई गरिएको भन्दै त्यसलाई खुकुलो बनाउन आग्रह गर्नुभयो ।

सहज रुपमा नदिजन्य पदार्थ नपाए ठेक्का छोडेर भाग्ने बाहेक अन्य उपाय नरहेको खड्काको भनाई छ । ‘तपाईहरुकै जिल्लाको विकास हुने हो, नदीजन्य पदार्थ झिक्न सजिलो बनाइदिनुस्, हामी बाँकी काम समयमै पूरा गर्छौं’ खड्काको दावी छ ।

यस्तै, निर्माण उद्योग परिषदका केन्द्रीय अध्यक्ष समेत रहेका खोपनिधी लोहनीले भूकम्प, नाकावन्दी र चुनावका कारण निर्माणको काम समयमै सम्पन्न गर्न नसकिएको दावी गर्नुभयो । उहाँको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्शले ११ किलो वारपाक सडक अन्तर्गत ८ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको छ । तर सम्झौता अवधी सकिसक्दा सो कम्पनीले जम्मा ३० प्रतिशतमात्रै काम सकेको छ ।

“नदीजन्य पदार्थ कसैको पेवा होइन, देशका सबै नागरिकको साझा सम्पत्ति हो” प्रजिअ समक्ष उहाँले भन्नुभयो, “अन्त कहीँ नभएको नियम यहाँ चाहिँ किन चाहियो ?” चाहे अनुसार ढुंगा र वालुवा संकलन गर्न पाउनु पर्ने लोहनीले बताउनुभयो ।

दलहरुलाई चन्दा दिँदादिदै निर्माण व्यवसायीहरु हैरान भएको भन्दै लोहनीले अहिले आएर कारबाहीको धम्की दिनु नाजायज भएको बताउनुभयो । काम गर्ने उपाय पनि नभएको र भाग्ने ठाउँपनि नभएकाले व्यवसायीहरुलाई आत्महत्या गर्ने अवस्था आउन नदिन उहाँले आग्रह गर्नुभयो । “काम गर्ने उपाय छैन, भागेर जाउँ भने सरकारले समातिहाल्छ, उसो भए के हामीले आत्महत्या गर्नुपर्ने हो ?” लोहनीले प्रश्न गर्नुभयो ।

निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठले समयमै निर्माणको काम गर्न नसकिनुको कारण पत्ता लगाएर समाधानको उपाय खोज्न आग्रह गर्नुभयो । संघका उपाध्यक्ष उत्तम भट्टले समयमै निर्माणको काम सकेर सरकारलाई हस्तान्तरण गर्ने चाहना हुँदाहुँदै विभिन्न कारणले नसकिएको बताउनुभयो । छलफलमा सहभागी धेरैजसो व्यवसायीले नदीजन्य पदार्थको सहज उपलब्धता नहुँदा निर्माणको काममा अप्ठ्यारो परेको बताए पनि स्थानीय समन्वय अधिकारी नारायण आचार्यले भने त्यसलाई मात्रै दोष देखाएर उम्कने अवस्था नरहेको बताउनुभयो ।

जिल्लामा मागको तुलनामा नदीजन्य पदार्थ उपलब्धता कम भएपनि सहजै उपलब्ध गराइएका व्यवसायीले पनि समयमै काम नसकेको उहाँको भनाई छ । 

छलफलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ढुंगा, गिट्टीकै कारण निर्माण कार्य प्रभावित भएको व्यवसायीको तर्कमा दम नभएको बताउनुभयो । नियमसंगत रुपमा नदीजन्य पदार्थ संकलनको काम गर्नका लागि प्रशासनले कतैपनि रोक नलगाएको भन्दै उहाँले नियम विपरीत गर्नेलाई कारबाही गरिएको स्पष्ट पार्नुभयो ।

आउँदो वर्षदेखि नदीजन्य पदार्थको माग र आपूर्तिको विश्लेषण गरेर मात्रै ठेक्का लगाउन पहल गरिने भन्दै उहाँले यसअघिका काममा ढिलाई गर्नेलाई भने कारबाही गरिने स्पष्ट पार्नुभयो । ‘ठेक्का सम्झौताभर वेपत्ता हुने अनि अन्तिम समयमा आएर अनेक बहाना बनाउन पाईँदैन’ उहाँले भन्नुभयो, ‘सरकार विकासका काममा व्यवसायीलाई सहजीकरण नै गर्छ ,तर लापरवाही गर्नेलाई छोडिन्न ।’ 

 

अन्तिम अपडेट: चैत ३, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया