गाउँलेको कुटाईबाट दुई झाँक्रीको मृत्यु

 साउन ५, २०७५ आइतबार ५:३६:६ | उज्यालो सहकर्मी

धादिङ - आफूहरुलाई दुःख दिएको भन्दै गाउँलेहरुले कुटपिट गर्दा उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ लताबमा दुईजना झाँक्रीको ज्यान गएको छ । 

शनिबार दिउँसो गाउँलेले कुट्दा ६० वर्षीय साईंला तामाङ र नरुङ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । 

घटना हुनेबित्तिकै गाउँलेहरुले नै लास जलाइसकेको भन्ने सूचना आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर बिकले जानकारी दिनुभयो । 

घटनाको थप जानकारी प्रहरी टोलीले अनुसन्धान गरेपछि मात्र दिन सकिने प्रहरीले जानकारी दिएको छ । 

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्छ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न धेरैबेर लाग्ने भएकोले फूलखर्क प्रहरी चौकी दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक बिकले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया