विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाइँदै

 पुस २३, २०७६ बुधबार १५:३:२२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाइ राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ ।

अहिले बानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ । कामपाले मंगलबार मात्रै साना–ठूला गरी १९२ अनधिकृतरूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ । कामपाले अहिले मुख्य गरेर विशिष्ट व्यक्तिहरुको ओहोरदोहोर हुने क्षेत्रलाई केन्द्रित गरेर काम अघि बढाएको छ ।

कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न संघ संस्थाले शहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेकाले त्यसै स्थानलाई केन्द्रित गरेर काम गरिरहेको बताउनुभयो । यसरी जहाँतहीँ प्रचार सामग्री राख्नेबाट कामपाले अहिलेसम्ममा दुई लाख रुपैयाँ जरिबाना पनि असुल गरिसकेको छ । 

त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनधिकृत बोर्ड विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सो रूमसम्म ५०, जमलबाट लैनचौरसम्म २५ र टेकु पुलबाट कालिमाटीसम्म ११ गरी जम्मा १०३ ओटा बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो । 

सफा, स्वच्छ र सुन्दर शहर बनाउने योजनाअनुरुप नै विभिन्न ठाउँमा प्रचार सामग्री होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायत हटाउने प्रक्रिया शुरु गरेको सापकोटाको भनाइ छ । कामपाले अहिले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका आठ ठूला होर्डिङबोर्ड हटाइसकेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मौलिकता बचाउनु कामपाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

प्रमुख शाक्यले जथाभावी राखिएको प्रचार सामग्रीका कारण कामपाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया