पत्रकारलाई कुटपिट गर्ने जनकपुरधामका मेयरलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

 पुस २३, २०७६ बुधबार १९:३९:४८ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – नेपाल पत्रकार महासंघ धनुषाले समाचार संकलनमा गएका पत्रकारमाथि गुण्डा लगाएर कुटपिट गराउने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहितका दोषीहरुलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

महासंघका अध्यक्ष अनिल मिश्रको नेतृत्वमा सञ्चारकर्मीहरु जिल्ला प्रशासन कार्यालय पुगेर पाँचदिने अल्टिमेटमसहित धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

घाइते पत्रकारहरुको उपचार खर्च र खोसिएका एवं क्षति भएका सञ्चार सामग्रीको क्षतिपूर्ति दिन महासंघले माग गरेको छ । साथै, जानकी मन्दिरको फुलबारी अतिक्रण घटनाको छानबिन गरी दोषीहरुमाथि कारबाहीको माग गरिएको छ । 

त्यस बाहेक प्रत्येक पालिकामा सूचना अधिकारी नियुक्त गरी सहज तरिकाले सूचना पाउनुपर्ने लगायतका ४ सुत्रीय माग समेत महासंघले गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा रहेको सीसीटीभी र पत्रकारहरुसँग सुरक्षित रहेको भिडियोबाट दोषीहरुको पहिचान गरी तत्कालै पक्राउ गरेर पाँच दिनभित्र कारबाही नभए चरणबद्ध आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ ।

मेयर साहले मंगलबार जानकी मन्दिरकाे फुलबारी जग्गाको अतिक्रमणबारे समाचार संकलन गर्न गएका पत्रकाहरुलाई कुटपिट गरेका थिए । घटनामा कान्तिपुर टेलिभिजनका अमरकान्त ठाकुर, उज्यालोकर्मी सुभाष कर्ण, एबीसी टेलिभिजनका सुमित मिश्रा र देशसञ्चार डटकमका राजा झालगायतका पत्रकारहरु कुटपिटबाट घाइते भएका थिए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ  ।

अन्तिम अपडेट: चैत ८, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया