मन्त्रालयले बाँडेकाे एम्बुलेन्स नचलाउँदै थन्किए, चालक भन्छन्: ज्यानै जाेखिममा पारेर यस्ताे एम्बुलेन्स के चलाउनु ?

 पुस २४, २०७६ बिहिबार ११:१६:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेकाे १६ वटा एम्बुलेन्समध्ये अधिकांश एम्बुलेन्स सञ्चालनमा नआउँदै थन्किएका छन् ।

सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकहरुले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेकाे ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसके ।

सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्सभन्दा पुरानै विभिन्न सङ्घ संस्थाले दिएका एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको एम्बुलेन्स चालक भीम विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, 'एम्बुलेन्स पुराना छन्, रङ्गाएर मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डर लाग्छ ।' अहिले उहाँले मात्रै मन्त्रालयले बाँडेकाे एम्बुलेन्स चलाउँदै आइरहनु भएकाे छ । 

त्यस्तै डोटी जिल्ला अस्पतालका एम्बुलेन्स चालक रतन धामीले पनि सामाजिक विकास मन्त्रालयको दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेकाे बताउनु भयो ।

प्रदेशकाे सामाजिक विकास मन्त्रालयले गएकाे कात्तिक २० गते सुदूरपश्चिममा १६ वटा एम्बुलेन्स वितरण गरेको थियो । मन्त्रालयले बाँडेका एम्बुलेन्स धामाधम बिग्रिन थालेको चालकहरु बताउँछन् ।

डोटी अस्पतालका एम्बुलेन्स चालक धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, उकालाेमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति दौडाए पल्टिन खाेज्ने लगायतका समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठिक, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ।' 

उहाँले ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा चलाउन अत्यन्त कठिनाइ भएकाे गुनासाे गर्नुभयाे । निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको एम्बुलेन्स पाएका यहाँका जिल्ला अस्पतालहरुले जनाएका छन् । कतिपय एम्बुलेन्सको ईसीजी मनिटर पनि खसिसकेको चालकहरु बताउँछन् । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्य चौकी र अस्पतालका कर्मचारीहरुले गुनासो गरेका छन् ।

उता प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्सहरुमा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गर्नुभयो । गुनासो आएका एम्बुलेन्स मर्मतका लागि सिप्रदीमा पठाएको खड्काले दाबी गर्नुभयो ।

डाक्टर, नर्स र आईसीयू सहितकाे सुविधा हुने भनिए पनि एम्बुलेन्समा ईसीजी सेवामात्र रहेको चालकहरु बताउँछन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया